प्रमुख समाचार

थ्री-नेसन्स कप

अग्रपंक्ति फितलो हुँदा नेपालको गोलरहित बराबरी

इकागज |
चैत १२, २०७७ बिहीबार २१:१९ बजे

काठमाडौँ : काठमाडौँमा जारी थ्री-नेसन्स कपको आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानको युवा टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा भएको खेलमा गोलका लागि प्रशस्त मौका पाए पनि नेपाल अग्रपंक्तिमा फिक्का रहँदा तीन अंकबाट विमुख भयो । 

पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित किर्गिस्तान अण्डर-२३ नेपालसँग भिड्दा दोस्रो हाफको अधिकांश समय १० जनामा सिमित भयो । खेलको ६७ औँ मिनेटमा किर्गिज कप्तान तथा मुख्य रक्षक तासिएभ कामोलिदिनले दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडे । तर युवा खेलाडी सम्मिलत नेपाली अग्रपंक्तिले गोल गर्न सकेन ।


खेलमा बल अधिकांश समय नेपालको कब्जामा रह्यो । नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनको भनाइ मान्‍ने हो भने नेपालको पक्षमा ७० प्रतिशत बल पोसेसन रह्यो । बनलगोपालकै भनाइ फेरि सापटी लिने हो भने, नेपाल ‘फाइनल थर्ड’ मा चुक्यो । अर्थात किर्गिज बक्सको वरिपरि नेपाली खेलाडी बलियो सावित भएनन् । 

‘समग्रमा खेलाडीहरूको प्रदर्शनले म सन्तुष्ट नै छु । तर यती भन्दा भन्दै पनि हामी गोल गर्नबाट चुकेकै हो । विशेष गरी फाइनल थर्डमा हामी कमजोर दखियौँ । फरवार्डहरूले पाएको मौका सदुपयोग गर्न सकेनन् । उनीहरू धैर्य देखिएनन्,’ मुख्य प्रशिक्षक बालगोपालले खेलपछि भने ।
 
नेपालले किर्गिस्तानलाई सुरुबाटै दबाबमा राख्यो । करिब एक दर्जन पटक मध्य एसियाली टोलीको पोस्टमा आक्रमण गर्‍यो । तर गोल हुन सकेन । नेपाली अग्रपंक्ति सम्हालेका युवा फरवार्ड अभिषेक रिजाल फितलो देखिए भने अन्जन विष्टले धेरै पटक मौका खेर फाले । सन्जोग राई, त्रिदेब गुरुङ, तेज तामाङजस्ता युवा खेलाडीलाई मिडफिल्डमा मौका दिइएको खेलमा नेपाल ‘बिल्डअप’ मा पनि सन्तोषजनक देखिएन । नेपालले पाएको अधिकांश मौका फ्रिकिक र कर्नरबाट आएका थिए ।
 
उता बालगोपाल भने आफ्ना युवा खेलाडीहरूको प्रदर्शनबाट सन्तृष्ट देखिए । तीन महिनादेखि निरन्तर अभ्यास गरिरहेका युवा खेलाडीहरूलाई मौका दिन बीचमा कुनै पनि मैत्रीपूर्ण खेल नभएकाले किर्गिस्तानसँगकै खेलमा सिधा मौका दिइएको बालगोपालको भनाइ थियो । ‘बीचमा कुनै मैत्रीपूर्ण खेल भएन । सबैलाई आज नै टेस्ट गर्नुपर्‍यो । आज भएका गल्तीलाई अर्को खेलमा दाहोर्‍याउने छैनौँ,’ बालगोपालले भने । 

नेपालले अब राउण्ड रोबिनमा भइरहेको प्रतियोगिताको अन्तिम खेलमा शनिबार बंगलादेशको समना गर्नेछ । किर्गिस्तानलाई हराउँदै उपाधि भिडन्तमा स्थान पक्का गरेको बंगलादेशविरुद्धको खेलमा नेपालले कम्तीमा एक अंक बटुल्नुपर्नेछ । बिहीबारको खेलपछि र किर्गिस्तानको समान एक अंक रहेकाले आयोजक मुलुक र बंगलदेशबीचको खेल महत्वपूर्ण हुने देखिएको छ । 
 
नेपालसँगको बराबरीपछि किर्गिस्तानका मुख्य प्रशिक्षक झोल्दोशोभ नुरबेकले आयोजक टिमको तारिफ गरे । बंगलादेशको भन्दा नेपालको खेल उच्च स्तरको रहेको उनको भनाइ थियो । ‘नेपालका खेलाडी तिब्र गतिमा खेल्छन् । नेपालसँगको खेल त्यसै पनि गाह्रो हुनेवाला थियो । झन १० जनामा सिमित भएपछि त हामीलाई खेलमा रहन अफठ्यारो भयो । आशा छ नेपाल र बंगलादेशबीचको खेल प्रतिस्पर्धात्मक हुनेछ,’ किर्गिज प्रशिक्षक नुरबेकले भने । 
 
खेलमा म्यान अफ दि म्याच किर्गिज मिडफिल्डर अबिलोभ अर्नाज घोषित भए । उनले दुई सय पचास अमेरिकी डलर प्राप्त गरे । 


 


Author

थप समाचार
x