प्रमुख समाचार

डढेलोले वन्यजन्तुको बासस्थान सर्‍यो, धुवाँले आँखा पोल्ने समस्या

इकागज |
चैत १३, २०७७ शुक्रबार ६:३८ बजे

हेटौँडा : बागमती प्रदेशको वन मन्त्रालयसँगै रहेको जंगलमा डढेलो लाग्दा नियन्त्रणको केही प्रयास हुन सकेन । जंगल नजिकै डिभिजन वन कार्यालय मकवानपुर भए पनि आगो निभाएर नियन्त्रणमा लिने प्रयास हुन सकेन । हेटौंडा-२, वनस्खण्डी नजिकैको जंगलमा डढेलो लागेको ३ दिनसम्म पनि नियन्त्रण गर्न नसकिएको हो ।

जंगलमा लागेको डढेलो बस्ती नजिकै आउन थालेपछि स्थानीयहरु नै आगो निभाउन खटेको स्थानीय अनिता शाह बताउँछिन् । घर नजिकै डढेलो आयो, राति १२ बजेसम्म सुत्‍नै सकिएन । बाल्टीमा पानि भरेर तयारी अवस्थामा बस्यौँ' उनले भनिन् ।  डिभिजन वन कार्यालय मकवानपुरका वन डिभिजन अधिकृत इमनाथ पौडेलले आगो निभाउने प्रविधि नहुँदा जंगलमा सल्केको डढेलो नियन्त्रणमा ल्याउन कठिनाई भएको बताए । ‘हामीले वनमा आगो लगाउनेलाई पक्रन सकेका छैनौँ, कति हेक्टर क्षेत्रफलमा आगो लागेको छ त्यो पनि भन्‍न सक्दैनौँ’ उनले भने । वनजंगलमा डढेलो लाग्‍ने समय भएको भन्दै उनले नियन्त्रण गर्न वन समिति तथा मातहतका कार्यालयहरुलाई निर्देशन दिएको बताए । ‘जंगलमा ठूलो आगो लागेमा निभाउन सक्ने अवस्था छैन्’ उनले भने । 


मकवानपुरको जंगलमा विशेष गरी मयूर, कालिज, वन कुखुरा, न्याउली, कालो चिल, काग, सेतो परेवा, जुल्फे जुरेली, घर भँगेरो, चिवे, रानीचरा, कोइली, लाटो कोसेरो, फिष्टो जस्ता प्रमुख चराहरु पाइन्छ । यस्तै स्याल, फ्याउरो, मलसाप्रो, दुम्सी, रातो बाँदर, लंगुर बाँदर, बँदेल, सालक, बाघ, गैडा र चितुवा स्तनधारी जनावरहरु भेटिन्छन् । 

जंगलमा डढेलो लाग्दा गएको तीन दिनदेखि हेटौँडाको वातावरणमा प्रतिकुल असर परेको छ । धुवाँले गर्दा आँखा पोल्ने, श्वास फेर्न समस्या भएको छ । प्रदुषण बढेको छ । धुवाले आँखा पोल्दा समस्या भएको बताउँछिन् हेटौंडा–२ की अन्जु रिजाल । जंगल नजिकै घर छ, जंगलबाट निस्केको धुवाँले आँखा पिरो हुने तथा श्वास फेर्न असहज भएको उनले बताइन् ।   

डढेलोको धुवाँले आँखामा प्रत्यक्ष असर गर्ने बागमती प्रदेशको वन मन्त्रालयका वन तथा वातावरण विज्ञ संजिव सुवेदीले बताए । डढेलोले वातारणमा असर गर्नुका साथै वन्यजन्तुको बासस्थानमा खराब गरेको उनले तर्क राखे । वन्यजन्तुहरु आफ्नो बासस्थानबाट अन्यन्त्र सर्दा गाउँबस्तीमा निस्कने खतरा बढेको उनले बताए ।

मकवानपुरमा २ सय ११ सामुदायिक वन छन् । प्रायः सबै वनजंगलमा डढेलो लाग्न सुरु भइसकेको सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलगाईले बताए । उनका अनुसार सामुदायिक वनले काठ दाउरा बेच्‍न नसक्दा वनजंगल संरक्षणप्रति नागरिकको अपनत्व घट्दै गएको छ । चालू वर्षमा वन डढेलो सम्बन्धी सचेतनाको कार्यक्रम समयमै हुन नसक्दा पनि समस्या भएको उनको भनाई छ । 
 


Author

थप समाचार
x