‘चन्द्रागिरिलाई प्रविधिमैत्री नगर बनाउँछु’
काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिकामा नेपाली कांग्रेसले घनश्याम गिरीलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा उनैले चन्द्रागिरिको प्रमुख पद जितेका थिए । आफ्नो कार्यकालमा राम्रो काम गरेर प्रसंशा पाएका गिरी यसपालि चन्द्र्रागिरिलाई प्रविधिमैत्री नगर बनाउने प्रतिबद्धतासहित चुनावमा उत्रिएका छन् ।
उनले नगरलाई आउने कार्यकालमा देशकै नमूना प्रविधिमैत्री नगरपालिका बनाउने योजना रहेको सुनाए । ‘अबको कार्यकालमा चन्द्रागिरिलाई म देशकै प्रविधिमैत्री नगर बनाउँछु,’ उनले भने, ‘उत्पादन रोजगार र बजारीकरण ः प्रविधि युक्त सुशासन’ को नारा लिएर यसपालिको चुनावमा आएको छु ।’
उनले आफूले जितेर स्थानीय सरकारका सबै निकायहरुबाट छिटो, छरितो, चुस्त दुरुस्त र पारदर्शी ढंगबाट प्रविधि युक्त गुणस्तरीय सेवाहरु प्रदान गर्ने व्यवस्था मिलाउने बताए । अनलाईनमार्फत घरमै बसेर वडा तथा नगरपालिकाको सेवा लिन सक्ने व्यवस्था मिलाइने, ५ वर्षभित्र नगरपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटल प्रणालीमा रुपान्तरण गरी नगरलाई डिजिटल सिटी बनाउने गिरीको योजना रहेको छ । उनले नगरमा उत्पादन र उत्पादन भएका वस्तुको बजारीकरणमा पनि जोड दिने बताए ।
यस्तै शिक्षा क्षेत्रको विकासका लागि प्राविधिक शिक्षालाई जोड दिने उनको भनाइ छ । ‘प्राविधिक शिक्षाको लागि विकासका लागि आइसीटी ल्याब स्थापना गर्नेछौँ,’ उनी भन्छन्, ‘‘रट्ने र घोक्ने’ खालको सिकाई परम्परालाई निरुत्साहित गर्दै बालबिकासदेखि माध्यामिक तहसम्मै ‘सोच्ने, सोध्ने र सिक्ने’ शिक्षण परम्परा र अभ्यासलाई प्रोत्साहन गर्दै लाने नीति अवलम्बन गरिने छ ।’
स्वास्थ्य क्षेत्रमा विपन्न र स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित समुदायलाई आधारभूत स्वास्थ्य सेवाहरुमा पहुँच सुनिश्चित गर्ने योजना रहेको गिरीले सुनाए । अहिले सञ्चालित नगर अस्पताललाई विस्तार गरि नगरवासीलाई न्यूनतम शुल्कमा सेवा दिने उनले बताए ।
अघिल्लो कार्यकालमा अगाडि बढाएका योजनालाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ । यस्तै नगरलाई हरियाली बनाउनको लागि पार्क, बाल उद्यानहरूको निर्माण गर्ने उनले आफ्नो घोषणा पत्रमा सार्वजनिक गरेका छन् ।
उनले अघिल्लो कार्यकालमा आम मानिसले महशुस गर्ने गरिका काम गरेकाले यसपालि जनताले विश्वास गरेर मत दिने बताए । उनले आफ्नो कार्यकालमा काठमाडौँको कलात्मक मौलिक संस्कृति झल्कने गरि नगरपालिकाको भवन निर्माण गरि सेवा सुचारु गरेका थिए ।
यस्तै वडा ३ र ४ को वडा कार्यालय भवन निर्माण सम्पन्न भईसकेको र वडा ११ को भवन शिलान्यास भई कार्यान्वयनमा गएको साथै वडा ७ र ५ को भवन निर्माण प्रक्रिया सुरु गरिसकेका छन् ।
चन्द्रागिरि नगरपालिकाभित्र रहेको २४ वटा सामुदायिक विद्यालयमध्ये २२ वटा सामुदायिक विद्यालयहरुमा भूकम्प प्रतिरोधि आधुनिक भवन निर्माण सम्पन्न गरेको उनको भनाइ छ ।
स्वास्थ्य क्षेत्रको विकासको लागि सबै वडामा स्वास्थ्य चौकीको स्थापना गरेको उनी बताउँछन् । ‘नगरपालिका भित्रका सबै वडाहरुमा स्वास्थ्य चौकी स्थापना गरी प्रयोगशालासहित सञ्चालनमा ल्याएको छु,’ उनले भने, ‘स्वास्थ्य चौकीमा आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन सहित नगरवासीलाई घर आँगनमा नै स्वास्थ्य सेवा दिएको छौँ । अबको कार्यकालमा यसलाई प्राथमिकतामा राखेर काम गर्छौँ ।’
यस्तै खानेपानीको पुराना मुहान, ढुङ्गेधारालगायत श्रोतहरुको संरक्षण गर्ने कार्यक्रम सञ्चालन गरेकाले आउन कार्यकालमा पनि यसलाई अघि बढाउने उनको भनाइ छ। उज्यालो चन्द्रागिरि अभियानअन्तर्गत अधिकांश सडकहरुमा आवश्यक सडक बत्तीहरु राखिएको उनले बताए ।
अघिल्लो कार्यकालमा कलंकी–नागढुङ्गा राजमार्गमा सीसीटिभी क्यामेरा, सडकबत्ती जडान गरी सुरक्षित यातायातको लागि पूर्वाधार तयार गरिसकिएकोले यसलाई निरन्तरता दिने उनको प्रतिबद्धता रहेको बताए । यसपालिको निर्वाचनमा उनले गरेका यिनै कामले विजयी गराउने उनको विश्वास रहेको बताउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया