प्रमुख समाचार

नेताहरूको धम्कीपूर्ण अभिव्यक्तिप्रति ट्रान्सपरेन्सीको आपत्ति

इकागज |
बैशाख २५, २०७९ आइतबार १८:३९ बजे

काठमाडौंँ- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले चुनाव प्रचार प्रसार तथा भोट माग्न आमसभामा राजनीतिक दलका केही नेताले धम्कीपूर्ण शैली प्रयोग गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

ट्रान्सपरेन्सी इन्टनेशनलले केही नेतृत्व वर्ग र उम्मेदवारहरूले धम्कीपूर्ण शैलीमा मतदातालाई तर्साउने, थर्काउने, लोभलालचमा र दवाबमा पार्न कोशिस गर्ने, अन्य उम्मेदवारलाई हदैसम्म निच देखाउन तुच्छता प्रदर्शन गर्ने गरेका भन्ने समाचारहरू सञ्चारमाध्यममा प्रेषित भएका भन्दै यसप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल आपत्ति जनाएको हो ।


निर्वाचन शान्त र भय–त्रासमुक्त वातावरणमा सम्पन्न हुन जरुरी छ भन्ने सर्वमान्य सिद्धान्तमा विश्वास गर्ने र मतदाताले कुनै डर, लोभ वा गलत सूचनाबाट प्रभावित नभई स्वतन्त्ररुपमा आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनु पर्ने भन्दै ट्रान्सपरेन्सी इन्टनेशनलले एक विज्ञप्ति जारी गरेको छ।

जिम्मेवार व्यक्तिहरूबाट निर्वाचनको प्रत्येक चरणमा सही र निष्पक्ष सूचना नागरिक समक्ष प्रवाह गरिनु पर्दछ । निर्वाचनको माध्यमबाट लोकतन्त्र सुदृढ गर्नका साथै राजनीतिक व्यवस्था र दलहरू प्रतिको आस्था कायम राख्न प्रत्येक मतदाताले स्वतन्त्ररुपमा आफ्नो स्थानीय सरकार प्रतिनिधि चुन्न पाउनु पर्दछ । 

तसर्थ, आफूलाई उपयुक्त लाग्ने, सक्षम र योग्य व्यक्तिलाई मात्र आफ्नो अमूल्य भोट दिई आफू र आफ्नो क्षेत्रको विकास सुनिश्चित गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सम्पूर्ण मतदातालाई आग्रह समेत गरेको छ । 


Author

थप समाचार
x