प्रमुख समाचार

भक्तपुर नगरपालिकामा निर्वाचनकाे मुख्य एजेन्डा एमसीसी

इकागज |
बैशाख २७, २०७९ मंगलबार १४:४० बजे

भक्तपुर- स्थानीय तहको निर्वाचनसँंगै देशैभरि विकास निर्माणको ठूल्ठूला मुद्दा उम्मेदवारहरूले उठाइरहेका बेला भक्तपुरमा भने फरक अमेरिकी सहयाेग परियाेजना एमसीसीले प्राथमिकता पाएकाे छ ।

एमसीसी पास गर्ने दलहरूलाई होइन, विरोधीलाई अमूल्य मत दिनुपर्छ भन्दै मत माग्ने गरिएकाे छ । विशेष गरेर नेमकिपाबाट भक्तपुर नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएका सुनिल प्रजापतिले एमसीसीलाई मुख्य एजेन्डा बनाएका छन् । 


स्थानीय विकास निर्माणका साथसाथै देशको सार्वभौमिकतालाई जोगाउनु प्रमुख भएको भन्दै उनले आफ्नो पार्टीको नीतिअनुसार एमसीसीलाई चुनावी एजेन्डा बनाएर मत मागिरहेका छन् । 

नेमकिपाकाे घोषणापत्रमा एमसीसीलाई नै मुख्य मुद्दा बनाइएको छ । घोषणापत्रको पहिलो नम्बरमा लेखिएको छ, 
‘अमेरिकी साम्राज्यवादको दबाबमा संसदबाट एमसीसी पारित गरिएपछि देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउने संघर्षमा जनता दुई खेमामा विभाजित छन्- एमसीसीका समर्थक प्रतिगामी दलहरू र एमसीसी विरोधी देशभक्त एव‌म् प्रगतिशील पक्षहरू ।’

स्वतन्त्रबाट सोही नगरपालिकामा मेयर पदका प्रत्यासी अधिवक्ता सत्यराम त्वायनाको मुख्य एजेन्डा भने खानेपानी रहेको छ । भक्तपुर नगरपालिकाभित्र खानेपानीको समस्या रहेको भन्दै उनले आफूलाई जनताले पत्याएर निर्वाचित गराए दुई महिनाभित्र खानेपानीको समस्या समाधान गरिदिने प्रतिबद्धता जनाएका छन् । 

नेपाली कांग्रेससहितको गठबन्धनले मुख्य एजेन्डा नगरपालिकाभित्रको सर्वसत्तावादी गर्दै आएको निषेध तोड्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउँंदै आएका छन् । नेमकिपाको बहुमत रहेको कारण विपक्षी राजनीतिक दलहरूलाई नेमकिपाले निषेधको राजनीति गर्दै आएको उनको भनाइ छ । एमालेबाट मेयर पदमा प्रत्यासी रवीन्द्र लाछिमस्यू फासीवाद सोचविरुद्ध आफ्नो उम्मेदवारी भएको बताउँदै मत मागिरहेका छन् । 

नगरपालिका क्षेत्रमा मुख्य प्रतिस्पर्धीकै रूपमा नेमकिपा, गठबन्धन र एमाले गरी यी तीनवटा मुख्य हुन् । २०७४ को स्थानीय चुनावमा झन्डै २० हजार मतान्तरले नेमकिपाका प्रजापति नै मेयरमा विजयी भएका थिए । यसपटक पनि उक्त पार्टीबाट मेयरको उम्मेदवारमा प्रजापति र उपमेयरमा रजनी जोशी दोहोरिएरका छन् । 

नेमकिपाको गढ मानिने भक्तपुर मेयरमा सानाठूला दल र स्वतन्त्र गरी १४ जना मेयरका प्रत्यासी छन् । उपमेयरतर्फ नाै जना उम्मेदवार छन् । 

लामो समयदेखि भक्तपुर नगरपालिकाको नेतृत्व लिँदै आएको नेमकिपाले यसपटक पनि आफूलाई बलियो साबित गर्न नेपाली कांग्रेससहितको गठबन्धन, एमालेलगायत अन्य आठ दल र पाँच स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छ । 

एक लाख ८४ हजार तीन सय ७१ जना मतदाता संख्या रहेको भक्तपुरमा दलहरू आ–आफ्नै तवरले मतदाता रिझाउन लागिपरेका छन् । पार्टीको प्रतिष्ठा जोगाउन र नेमकिपाको गढ तोड्न सत्तारुढ गठबन्धनसहितका अन्य दलहरू चुनावी दौडमा छन् । तर लामो समयदेखि एकछत्र जित्दै आएको नेमकिपालाई हराउन अन्य पार्टीको सानोतिनो कसरत नपुग्ने निश्चित छ । 

यसअघि नेमकिपासँग भिडेको कांग्रेसका रामप्रसाद कासुलाले नै ६ हजार मत ल्याएका थिए । उनी अहिले पनि कांग्रेससहितको गठबन्धनबाट उम्मेदवार बनेका छन् । त्यसलाई हेर्दा पनि भक्तपुरमा नेमकिपाको गढ तोड्न अन्य पार्टीलाई सहज छैन । 

 


Author

थप समाचार
x