प्रमुख समाचार

उम्मेदवारको मृत्यु भएका ठाउँमा आयोगले बनायो नयाँ निर्वाचन तालिका

इकागज |
बैशाख २९, २०७९ बिहीबार १२:३४ बजे

काठमाडौँ- निर्वाचन आयोगले विभिन्न पालिकाका उम्मेदवारको मृत्यु भएका ठाउँमा निर्वाचनको नयाँ मिति तोकेको छ । आयोगले कतिपय स्थानमा संसोधन गरेको छ भने कतिपयमा नयाँ मिति तोकेको हो । आयोगले दुईवटा पालिकामा  निर्वाचनको नयाँ कार्यक्रम तय गरेको छ भने बाँकी ७ ठाउँमा निर्वाचनको कार्यक्रम संसोधन गरेको छ ।

कपिलवस्तुको महाराजगंज नगरपालिकाको उपप्रमुखको  र दाङको तुलसीपुर वडा नम्बर १७ को निर्वाचन जेठ ३ लाई सरेको छ ।  महाराजगंज नगरपालिकाको कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार शुभावती कर्मीको मंगलबार मृत्यु भएको थियो । यस्तै तुलसीपुर नगरपालिकाको वडा नम्बर १७ एमालेका वडा अध्यक्षमा उम्मेदवारी दिएका लभरु चौधरीको मंगलबार मृत्यु भएको थियो । उनीहरूको मृत्यु भएपछि निर्वाचनको नयाँ कार्यक्रम बनाएको हो । 



वैशाख २७ अघि मृत्यु भएको पालिकाको निर्वाचन भने शुक्रबार नै हुने गरी निर्वाचन कार्यक्रम संशोधन गरिसकेको छ । आयोगका अनुसार सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ को कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी मडुवादेवी चमारको वैशाख १४ मा मृत्यु भएको थियो । रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टीबाट महिला सदस्यमा उम्मेदवारी दिएकी मिना देवीको पनि वैशाख १६ मा मृत्यु भएकी थिइन । मोरङको केरावारी गाउपालिका २ मा कांग्रेसका वडा सदस्य उम्मेदवार नवीन लिम्बूको वैशाख १६ मा मृत्यु भएको हो ।


यस्तै कपिलवस्तुको बुद्धभूमि नगरपालिका नम्बर ८ मा एमालेका तर्फबाट वडा अध्यक्ष उम्मेदवार ओमप्रकाश तिवारीको पनि वैशाख १६ मृत्यु भएको थियो । रुपन्देहीको मर्चवारी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवारी दिएका वडा नम्बर ३ की दलित महिला सदस्य कसुमी पासिनको मृत्यु भएको थियो ।कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका वडा सदस्य राजेन्द्र चौधरी थारु वैशाख २३ मृत्यु भएको थियो । सिराहा नगरपालिकामा एमालेको तर्फबाट वडा नम्बर ५ मा वडा सदस्य दिएकी मुना सेखको पनि वैशाख २३ मा मृत्यु भएको थियो ।


Author

थप समाचार
x