प्रमुख समाचार

कर्णालीका बादी महिलाको गुनासो

‘अन्य जातीका महिलाले धन्दा गर्छन्, नाम हाम्रो पोलिन्छ’

लक्ष्मी भण्डारी |
चैत १५, २०७७ आइतबार ११:१६ बजे

सुर्खेत : दैलेखकी पार्वती बादी मजदुरी गरेर जिविका चलाउँछिन् । गिट्टी कुट्दै जिविका चलाउँदै आएकी उनलाई समाजको आफूप्रतिको हेराइ देख्दा मन कुडिन्छ । उनले पसिना बगाएर गुजरा चलाउँदै आएता पनि बादी महिलालाई यौन व्यवसाय नै अपनाएको जस्तो नजरले हेर्दा गाउँमा बस्न मन नलाग्‍ने बताउँछिन् । 

‘हामी पसिना बगाएर गुजरा चलाउँछौ तर, हाम्रा छोरीचेलीलाई नराम्रो धन्दा गरेको आरोप लाग्छ’ उनी भन्छिन्, ‘अन्य जातीका महिलाले यस्तो धन्दा गरे पनि हाम्रै जातीका महिलालाई नराम्रो नजरले हेरिन्छ ।’ समाजमा विभेदको महसुस हुँदा बादी समुदाय गाउँमा बस्न मन नगरेको उनले बताइन् । 


सुर्खेतको गुर्भाकोट नगरपालिकाकी कविता बादी दिल्ली जान थालेको पाँच वर्ष भयो । अधिकांश समय उनले भारतको दिल्लीमा बिताउँछिन् भने केही दिनमात्र घरमा आएर बस्छिन् । कारण हो, समुदायमा आफुहरूमाथि विभेद हुनु । 

६ वर्ष अघि माथिल्लो जातीसँग विवाह भएका कारण श्रीमानबाट चरम यातना खेप्दै आएकी थिइन् । श्रीमानबाट पाएको यातना सहन नसकेपछि उनको वैवाहिक सम्बन्ध अन्तत : डिभोर्समा परिणत भयो । अहिले उनी पनि छोराको साथमा दिल्लीमा बस्दै आएकी छन् । ‘गाउँमा आएपछि बाहिर निस्केर ढुक्कसँग हिड्न सक्दिन’ कविता भन्छिन्, ‘छिमेकी र समाजले हाम्रो जात भन्‍ने वित्तिकै फरक नजरले हेर्दछन्’ समाजमा अन्य जातीका व्यक्तिहरू आफुहरूसँग घुलमिल हुन नचाहने गरेको उनले दुखेसो पोखिन् । ‘समाजले अझै पनि हामीप्रति राम्रो नजरले हेर्दैन । त्यसैले हाम्रा धेरै साथीहरू गाउँमा बस्‍न रूचाउँदैनन्’ उनले भनिन्, ‘धेरै साथीहरू दिल्लीमा बस्‍ने गर्दछन् ।’

सोही बस्तीकी पुतली बादी दाउरा बेचेर गुजरा चलाउँछिन् ,। भन्छिन् ‘साँझ बिहान दुःख गरेर काम गर्छौ तर, हामीलाई फरक पेशा गर्ने दृष्टिकोणले हेर्दछन् ।’ बादी समुदायमा पुर्ख्यौली पेशा व्यापार व्यवसाय गरेर दैनिकी चलाउने गरिएता पनि अझैसम्म पनि आफुहरूमाथिको समाजको हेराइ फरक नभएको उनी बताउँछिन् । ‘हाम्रो जातमा पहिले केही व्यक्तिले यो पेशा गरे होलान् तर, अहिले हामी सबैले व्यवसाय गरेर आम्दानी गर्ने गरेका छौ’ उनले भनिन्, ‘अन्य जातकाले यौन पेशा गरे पनि उनीहरू ढुक्क सँग हिड्न सक्छन्, तर हामीलाई पेशा नगरे पनि आरोप लगाइएको छ ।’

बादी बस्तीका ५७ वर्षिया बकुला बादी पनि कहिले दाउरा बेचेर त कहिले गिट्टी कुटेर जिविका चलाउँदै आएकी छन् । तर समाजले आफुहरूमाथि गरेको विभेद देख्दा उनको मन कुडिन्छ ।  ‘दिनभरी काम गरेर साँझ बिहानको छाक जोहो गर्दै आएकी छु’ उनी भन्छिन्, ‘तर, हाम्रा छोरी चेलीहरूमाथि अरु जातीले गर्ने व्यवहार फरक हुन्छ ।’ यही नजरले हेर्ने कारणले आफ्ना छोरी नातीनीहरू भारत जाने रूची गरेको उनी बताउँछिन् ।

बादी महिलामाथि भएको विभेदको कारण उनीहरू समस्यामा परेका यी प्रतिनिधि घटना मात्र हुन् । कर्णाली प्रदेशमा बसोबास गदै आएका बादी समुदायका महिलाले भोगेको साझा समस्या हो यो । 
विगतका दिनहरूमा बादी समुदायका पुरुषहरू मादल बनाउने र माछा मार्ने तथा छोरीहरू यौन पेशालाई अपनाउने  तर, अहिले परिस्थिति बेग्लै भएको छ । उनीहरूले पुर्ख्यौली पेशालाई छाडेर कृषि र व्यवसाय गर्दै आएका छन् । अहिलेको अवस्थामा पनि बादी जातीको महिला भन्‍ने वित्तिकै यौनधन्दा गर्दछन् भन्‍ने आफुहरूमाथि आरोप लागेको झुप्रा खोलामा बस्दै आएकी गीता बादी बताउँछिन् । 

‘आजभोली पेशाका रूपमा यौनधन्दालाई अर्कै जातीले गदर्छन्’ उनले भनिन्, ‘तर, गिट्टी वालुवा बोकेर साँझ बिहान गुजरा गरिरहने, यौन पेशा भन्ने वित्तिकै हाम्रै नाम पोलिन्छ’ पहिलेको तुलनामा आफूहरूमाथि गर्ने विभेदमा केही कमी आए पनि हेर्ने दृष्टिकोण उस्तै रहेको पार्वती बादी बताउँछिन् । 

बादी महिलाको पुर्ख्यौली पेशा अहिले परिवर्तन भएतापनि पुरानै छाप अझै नहट्नु दुःखद रहेको महिला अधिकारकर्मी किमशरा खत्री बताउँछिन् । ‘पहिलेको भन्दा अहिले अन्य जाती पनि उनीहरूसँग घुलमिल हुँदै आउन थालेका छन्’ उनी भन्छिन्, ‘विस्तारै यसमा पनि परिवर्तन हुँदै जान्छ ।’

बादी महिलाले यस्ता खालका हिंसा भोग्‍नु भनेको पहुँच भएका वर्गबाट उनीहरूलाई हेप्‍नु हो भन्छिन् शिक्षक सरुणी वली । ‘यस्ता खालका व्यवहारले उनीहरूमाथि भएको विभेद झल्काउँछ’ उनी भन्छिन्, ‘जसले गर्दा उनीहरूको मनोविज्ञानमा चोट पुर्‍याउँछ ।’
 
बादी अगुवा एंव सिम्ता गाउँपालिका-६ का वडा सदस्य सुक्रि बादीले बादी जातीलाई  अझै पनि हेप्‍ने प्रवृति रहेको बताइन् । ‘जति राम्रो काम गरे पनि हाम्रो जातीलाई गलत नजरले हेर्छन्’ उनले भनिन्, ‘यसका अन्त्यकोे लागि हामी महिला एकजुट भएर अघि बढ्नुपर्छ ।’

संविधानको मौलिक हक अन्तर्गतको धारा १६ मा सम्मानपूर्वक बाँच्‍न पाउने अधिकारबारे व्यवस्था गरिएको छ । तर बादी महिलाहरूमाथि हुने यस्ता खालका विभेदले उनीहरूको आत्मसम्मानका साथ बाँच्ने अधिकारको हनन गरेको छ । बादी महिलामाथि  भएका यस्ता खालका विभेदले उनीहरूको सम्मानपूर्वक बाच्‍न पाउने अधिकारबाट वञ्‍चित गरिएको र उनीहरूमाथि जातीय विभेद भएको  देखिएको अधिवक्ता दुर्गाप्रसाद सापकोटा बताउँछन् ।  
 


Author

थप समाचार
x