कागजपत्र

लुम्बिनीको गुरुयोजना

मायादेवीको मन्दिर निर्माण गराउने गौचनको स्मरण

सञ्जय पन्थी |
मंसिर १, २०७७ ८:२५ बजे

लुम्बिनी विकास कोषमा ०४७ साल यता पाँच वर्षे कार्यकाल पूरा गर्ने उपाध्यक्ष ओमकारप्रसाद गौचन मात्र रहे । पञ्चायतकालमा पटक-पटक मन्त्री बनेका गौचन बहुदल आएपछि निर्वाचित सासंद र एक कार्यकाल लुम्बिनी विकास कोषको उपाध्यक्ष बने । उनलाई सार्वजनिक जीवनमा सबैभन्दा सन्तुष्टीको क्षण बन्यो आफ्नो कार्यकालमा लुम्बिनीको मायादेवीको मन्दिर बनाउँदा । उनले एकवर्ष अघि मात्र यो स्तम्भकारले भेट्दा ‘पञ्चायतपछि लुम्बिनी विकास कोषमा पाँच वर्षे कार्यकाल पूरा गर्ने सायद म मात्र हुँ ।’ भनेका थिए । उनै ८५ वर्षिय गौचनको गएको बुधबार निधन भयो ।

यतिवेला उनका योगदान स्मरण गर्नु पक्कै सान्र्दर्भिक हुनेछ । जापानी योजनाबिद् काञ्जे टाँगेले सन् १९७० को दशकमा तयार गरेको लुम्बिनीको गुरुयोजना अनुसार लुम्बिनीको बिकास र निर्माण अहिलेसम्म जारी छ । निर्माण कार्य अहिलेसम्म सम्मपन्न भैसक्नु पर्ने भएपनि भएको छैन् । कारण लक्ष्यअनुसार काम हुन नसक्नु, कोष पहुँचका आधारमा राजनैतिक नियुक्तिको अखडा बन्दै आएको छ ।

लुम्बिनी जति पवित्र छ, कार्यशैली त्यति बदनियतपूर्ण छ ।

कोषमा ठेक्कापट्टा कमिसनको ठूलै चलखेल हुने गरेको जानकारहरु बताउँछन् । कोषको कार्यशैली अहिले पनि कछुवा गतिको छ । प्रत्येक पर्यटन मन्त्रीले कोषलाई आफ्ना कार्यकर्ता भर्ती केन्द्र बनाउदै आएका छन् । गौचनले कोषमा मन्त्रीका मानिसहरुको दबदबा हुने गरेको बताउने गर्थे । त्यस्तो पवित्र स्थानमा पनि पवित्र मनले काम गरिँदैन भने अन्यत्र झन् के होला भनेर उनी प्रश्न गर्थे । लुम्बिनीमा त्यस्तो संरचनामा बसेर उनले जति गर्न सके, त्यसमा पनि गौचन अपवाद बन्न पुगे । उनले आफ्नो कार्यकालमा त्यहाँ जागिरका लागि सिफारिस गरेनन् र भनसुन पनि टेरेनन् । गौचन भन्थे, ‘त्यहाँको कार्यशैली लुम्बिनी जति पवित्र छ, कार्यशैली त्यति बदनियतपूर्ण छ’ ।

   
गौचन ०४८ सालमा बाग्लुङबाट सांसद निर्वाचित भए । पछि उनी चुनाव लडेनन् । किन भनेर सोध्दा ‘नयाँलाई अवसर दिनुपर्छ’ भन्थे । त्यसअघि पनि पटक–पटक निर्वाचित भएर मन्त्रीसम्म भएका थिए । गिरिजा प्रसाद कोइरालाले पुनः ०५१ सालको निर्वाचन लड्न आग्रह गर्दा लड्दिन नै भनेछन् । गिरिजा प्रसाद कोईरालाले ‘त्यसो भए लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्नुस् ।’ भनेका रहेछन् । प्रधानमन्त्रीले गरेको अफर र आफूलाई पनि केही गरेर देखाउने इच्छाशक्ति भएपछि कोषको उपाध्यक्ष बन्न कोईरालाले गरेको प्रस्ताव गौचनले स्वीकार गरेका थिए । 

सरकारले प्राविधिकको सुझावमा लुम्बिनीमा मायादेवीको मन्दिर निर्माण गर्न करिब ८ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर,उनले ६ करोड मै बनाइदिएँछन् । सरकारी कोषको दुई करोड जोगाइदिए ।  उनले कुनै ढिलासुस्ती र कमिसनको खेल हुनै दिएनन् । मन्दिर निर्माण नहुञ्जेल लुम्बिनी मै डेरा जमाएर बसेका रहेछन् । 

उनले ५ वर्ष मैले निकै कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका थिए । गौचनलाई समाजिक जीवनमा सबैभन्दा सन्तुष्टिको क्षण बन्यो कोषको कार्यकाल । उनी भन्ने गर्थे, ‘आफैंलाई गर्व लाग्छ लाग्छ, अहिले लाखौं पर्यटक लोभ्याउने मायादेवी मन्दिर छ नि, त्यो मेरै पालामा बनेको हो । मैले नै बनाएको हुँ ।’ 

गौचनका अनुसार बिना कमिसन र बिना ढिलासुस्ती कसरी पूरा हुनसक्छन् परियोजना, त्यसको दृष्टान्त हो त्यो मायादेबी मन्दिर । सरकारले प्राविधिकको सुझावमा लुम्बिनीमा मायादेवीको मन्दिर निर्माण गर्न करिब ८ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर,उनले ६ करोड मै बनाइदिएँछन् । सरकारी कोषको दुई करोड जोगाइदिए ।  उनले कुनै ढिलासुस्ती र कमिसनको खेल हुनै दिएनन् । मन्दिर निर्माण नहुञ्जेल लुम्बिनी मै डेरा जमाएर बसेका रहेछन्, गौचन । मन्दिर निर्माण नसकिएसम्म आफैं रेखदेखमा खटे । एउटा पनि इँटा खेर जान नदिएको र आफैं ज्यामी बनेर खटिएँको अनुभव उनले सुनाएका थिए । 

२००७ सालमा जनसरकारको प्रधानमन्त्री ओमकार पिता 
तत्कालीन समयमा पश्चिममा पाल्पा आफैमा समृद्ध केन्द्र थियो । त्यसपछि पर्थ्यो, बागलुङ । जनसंख्या पनि अरू जिल्लामा भन्दा धेरै नै थियो  भन्ने त्यसबेलाका लेखनमा पढ्न पाइन्छ । त्यतिबेला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ एउटै जिल्ला थिए । जिल्लाको नाम पर्वत, भनिन्थ्यो र ! गौचन परिवार मुस्ताङबाट बि.स. १९६२ सालमा बागलुङ झरेको रहेछ । त्यतिबेलै बागलुङ बजार पनि भएकाले उनका पिताले कपडाको व्यापार सुरु गरेका थिए । ओमकार गौचनमा पनि त्यी स्मरण थिए । त्यो व्यवसाय पछिसम्म पनि थियो । त्यसले गर्दा गौचन परिवारलाई के खाऊँ, के लाऊँ भन्ने कहिल्यै समस्या परेन ।

बाग्लुङमा बसाई सरेर आएपनि ओमकारका बुबा त्यो समाजमा राम्रोसँग घुलमिल भएका रहेछन् । त्यहाँको रहन–सहन र संस्कृति संरक्षणमा ओम प्रसादले अग्रसर भएर योगदान पनि गरेका रहेछन् । पितामा भारतका स्वतन्त्रता आन्दोलनका प्रणेता महात्मा गान्धीको ठूलो प्रभाव रहेको ओमकार सुनाउने गर्थे ।
 
त्यही प्रभावले राणाकाल मैं ओमकारका बुबा नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए, सायद । ओमकार पिताको नेपाली कांग्रेसका संस्थापक नेता विपी कोईरालासंग नियमित भेटघाट र चिठी आदान प्रदान हुन्थ्यो । पार्टीको आन्दोलन र कार्यक्रममा सहभागी हुन बीपीले ओमकारका पितालाई लेखेको चिठी गौचन परिवारले अझ सुरक्षित राखेको छ । ०१४ सालको सत्याग्रहका क्रममा प्रजातन्त्र अप्ठ्यारोमा पर्‍यो । बीपीले ओमकारका पितालाई तपाईंले सुझाव दिनुपर्‍यो भनेर लेखेको पत्र गौचन परिवारले जतनसाथ संग्रह गरेको छ । त्यही चेतनाले होला, कांग्रेसको पक्षमा लागेर ओमकार पिता तत्कालिन बागलुङ जनसरकारको प्रधानमन्त्री बनेका थिए । २००७ साल फागुनमा प्रजातन्त्र आएपछि अन्यत्रका सरकार विघटन गरिए पनि बागलुङको सरकार भने जेठसम्मै कायम थियो ।

गौचन परिवारको कांग्रेसमा लगाव
गौचन आफैमा थकाली समुदायको जाती हो । थकाली परिवारको थगातथलो मुस्ताङको थाकखोला हो । पछि बसाइँ सरेर अन्यत्र फैलिएको ओमकारले बताए । कांग्रेस राजनीतिमा सक्रिय रहेका योगेन्द्रमान शेरचनको गौचन परिवारसँग आत्मीय सम्बन्ध थियो । योगेन्द्रमान कवि भुपी शेरचनका दाजु हुन् । शेरचन परिवारको कांग्रेसका संस्थापक नेताहरूसँग सम्बन्ध सुमधुर थियो । त्यसो त बिपी बागलुङ आउँदा गौचन कहाँ बस्नुहुन्थ्यो । त्यसको प्रभाव गौचन परिवारमा पर्‍यो । त्यसैले गौचन परिवार शुरुदेखि नै कांग्रेस समर्थक बन्न पुगेको स्मरण ओमकारले हामीलाई सुनाउँथे । 

बिपीले ओमकारका पितालाई कांग्रेसबाट ०१५ सालको निर्वाचनमा टिकट दिएका थिए, उनले स्वीकार गरेनछन् । तत्कालीन पर्वत जिल्लाअन्तर्गत ३ निर्वाचन क्षेत्र थिए । तीमध्ये एक प्रजापरिषद्ले र दुई स्थान कांग्रेसले जितेको थियो । कांग्रेसका तर्फबाट योगेन्द्रमान शेरचन र गल्कोटे राजाले चुनाव जितेका थिए । त्यसपछि पनि बिपीले ओमकार पितालाई मनोनीत गर्न खोज्दा उनले मानेनन् ।
 
ओमकार पिता साच्चै कर्मयोगी थिए । उहाँलाई पद र प्रतिष्ठाको कुनै लोभ थिएन । सादा जीवनमा विश्वास गर्नुहुन्थ्यो । कर्मपरायण हुनुहुन्थ्यो । विद्या मन्दिरबाट प्रारम्भिक शिक्षा लिएपछि ओमकारलाई उच्च शिक्षाका बनारस जान मन लागेछ । त्यताका केही मानिसहरू बनारस मै थिए । तर पिताले आफ्नै स्थानको विकास गर्नुपर्छ भनेर जान अनुमति दिएनछन् । उनी अनैतिक कर्म गरेर धनसम्पत्ति जोड्नुहुन्न भन्ने मान्यतामा पनि दृढ थिए । पिताको त्यो प्रभाव ओमकारमा पनि थियो । पिताकै आदर्शको छाप परेका ओमकार जीवनमा ६ पटकसम्म निर्वाचित माननीय भए । पञ्चायतकालमै शिक्षा सहायक र वनमन्त्री बन्न पुगे । 

वन मन्त्रालयमा योजनाको प्रारम्भ उनकै कार्यकालबाट भएको हो । त्यति बेला वन फँडानी गरेर बस्ती बसाल्न आर्थिक प्रलोभनसहितका कैयौं प्रस्ताव आए । तर कहिल्यै त्यस्तो अनैतिक कर्म गरेर धन आर्जन गर्नतर्फ उनी लागेनन् । बागलुङको राजनीतिक वृत्तमा अहिले पनि गौचन परिवारलाई नचिन्ने कमै होलान् । पछिल्लोपटक भने ०४८ सालमा गिरिजाबाबुले आफैं बोलाएर निर्वाचन लड्न आग्रह गरेका थिए । सोही आग्रह अनुसार ओमकार निर्वाचन लडेछन् र जितेछन् पनि । त्यसपछि भने उनले नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने मनसाय राखे । बीपीसँगको सान्निध्यकै कारण गिरिजाबाबुले पनि असाध्यै मान–सम्मान गर्ने गरेको उनी सुनाउँथे । गिरिजा प्रसाद कोईरालाका घरका ढोका ओमकारलाई जति बेला पनि खुल्थ्यो,  जति बेला पनि भेट दिन्थे । 

बाग्लुङमा गौचनको पारिवारिक पृष्ठभूमि
उनको जन्म १९९२ सालमा बागलुङमा भएको हो । उनका पिता ओमप्रसाद राजनीतिज्ञ ,व्यापारी एवं समाजसेवी थिए । गौचनका पिताले बि.स. १९९७ सालमा बागलुङमै पहिलोचोटि विद्यालय स्थापना गरेका थिए । जुन हो–घरेलु उद्योग विद्यामन्दिर । त्यहीँबाट उनको शिक्षारम्भ भएको रहेछ । विद्यालय स्थापना गरे पनि विद्यार्थी नहुँदा खोजेर ल्याउनुपरेको स्मरण उनी सुनाउँथे ।  तिनैमध्येको एक थिए गौचन पनि । उक्त विद्यालय गान्धीको नई (शिक्षा) तालिममा आधारित रहेछ । पढाईको साथै पुस्तक, संगीत र घरेलु् सीपको ज्ञान पनि । साथै अनिवार्य आवासीय ।

त्यसो त उनका पितामा गान्धीको ठूलो प्रभाव थियो । गौचनका पितालाई विद्यालय स्थापना गर्न मेघकुमार वैद्य नाम गरेका एक मित्रले साथ दिएका रहेछन । विद्यालयको नामै घरेलु उद्योग विद्यामन्दिर राखिएको थियो । बुबाले एक जना विद्यार्थी कसरी सक्षम, योग्य र देशभक्त हुन्छ भनेर परिकल्पना गरिएको रहेछ । विद्यालयमा पढाईको साथै पुस्तकालय, संगीतालय र घरेलु सीप सिकाइदो रहेछ ।

विद्यार्थीलाई पाठ्यक्रममा भएको पढाईको अलवा बाहिर विश्वको ज्ञान र विवेक पनि दिनु पर्छ भनेर पुस्तकालय र संगीतालय पनि स्थापना गरिएको थियो । त्यसको साथै सबै खालको सीप विद्यार्थीले सिकेमा त्यो सीप र ज्ञान उसलाई आफ्नो घर र कार्य थलोमा काम लाग्छ भन्ने विश्वासले त्यो शिक्षा पद्धती अपनाएको उनले सुनाएका थिए । विद्यार्थीहरु आर्य आर्जनमा जोडिएर आफुलाई आर्थिक रुपमा अगाडि बढ्न मद्दत पुग्छ भन्ने विद्यालयका संस्थापकहरुको बुझाई थियो । राणाकाल यस किसिमको नवीन सोच लाग्नु धेरै जोखिमको विषय थियो । तर पनि गौचन पिताले जोखिम मोलेर उक्त विद्यालय संचालनमा ल्याएका थिए । 

पहिलोपटक छात्राहरूलाई पढ्ने अनुमति
विद्यालयमा पहिलो पटक करिब १० विध्यार्थी भर्ना भएका थिए । तीमध्ये केहीले छाडे, तर गौचन पिताले स्थापना गरेको विद्यालयमा नियमित विध्यार्थी बने । स्थापनाको दुई वर्षपछि विसं १९९९ मा छात्रालाई पनि पढाउन सुरु गरिएछ । त्यो पनि गौचन पिताको जोडबलमा । पितालाई स्कुल पढाएर अब गौचनले छोरी-चेली बिगार्ने भए भन्ने, आरोप पनि लागेको रहेछ । विध्यालयमा छात्रा पढाउनुको कारण विध्यालय विध्यार्थीसंख्या न्यून भएकाले हुनपर्छ भन्ने गौचनको भनाई थियो । त्यसबेला राणाशासनको कठि समयमा पनि उनका पिताले आफ्नै निर्णयमा विध्‍यालय खोलेका थिए ।

शिक्षकको वेतनदेखि सम्पूर्ण खर्च सबै गौचन परिवारले बेहारेको रहेछ । पहिलो शिक्षक कलप्रसाद कौ थिए, उनलाई गौचनका पिताले पाल्पाबाट ल्याएका थिए । उनी केही समय अध्यापन गराएपछि गएछन् । त्यसपछि कहिले काठमाडौंबाट त कहिले बुटवल, पाल्पाबाट शिक्षक ल्याएर विद्यालयलाई निरन्तरता दिइएछ । पहिलोपटक बनाइएको विध्यालय भवन ७० हात लामो थियो । आवासीय सुविधा पनि ।

पहिलो पटक मैं प्लेन चढेर काठमाडौं
ओमकार पहिलोपटक ०८ सालमा काठमाडौं आएका रहेछन् । त्यो स्मरण उनले यसरी सुनाएका थिए, ‘म पोखराको पहिलो फ्लाइटको प्लेन चढेर । महावीरशमशेरको हिमालयन एयरवेज सञ्चालनमा आएको थियो । पोखरादेखि काठमाडौंको भाडा २८ रुपैयाँ थियो । यहाँ आएर बिपीलाई भेट गरेँ । त्यसले पनि मलाई कांग्रेस राजनीतिमा झुकाव राख्न मद्दत गर्‍यो । उहाँको सादा जीवन र सरलपनबाट आकर्षित नहुने मानिस कमै हुन्थे । उहाँ साँच्चै निष्ठावान् नेता हुनुहुन्थ्यो ।’

१७ सालमा प्रजातन्त्र ‘कू’ भएपछि राजा महेन्द्र हाबी भए । उनको परिवार बागलुङमै भएकाले तत्कालीन परिवेशमा राजाको कदमको समर्थन र विरोध दुवै गरेन । मौन रह्यो । कारण, तत्काल राजालाई चुनौती दिन सक्ने वातावरण थिएन । नेताहरू जेलमा थिए । योगेन्द्रमान शेरचन पनि बिपीसँगै जेल हालिएका थिए । त्यही बेला योगेन्द्रमानका  पिता स्वर्गे भए । क्रियाकर्म गर्नुपर्ने भएकाले ओमकार नै जमानी बसेर उनलाई रिहा गराएका रहेछन् । 

निष्ठावान जनप्रतिनिधी 
संस्कृति जगेर्नाका क्षेत्रमा पनि बागलुङमा पिता र ओमकारलाई सम्झिनेहरू अहिले पनि छन् । त्यहाँको नेवार समुदायले करिब ३ सय वर्षदेखि गर्दै आएको ‘हनुमान–नाच’ बन्द भएको थियो । ओमकार कै  अग्रसरतामा करिब २० को दशकमा उक्त नाचलाई निरन्तरता दिलाइएको रहेछ । लागत जुटाउनेदेखि आवश्यक प्रबन्ध उनकै पहलमा भएको थियो । त्यसबखत उनी त्यहाँको जनप्रतिनिधि पनि रहेछन् । प्रत्येक ३ वर्षमा हुने उक्त नाच देशभरमा बागलुङमा मात्र मनाइने गरेको स्थानीय पत्रकार मुकेश राजभण्डारी बताउँछन् । पत्रकार राजभण्डारीले नाचको निरन्तरताको श्रेय गौचनलाई दिए । उनले भने ‘थकाली भएर पनि नेवारको संस्कृतिको जर्गेना गर्न वहाँले देखाएको तत्परता आफैमा उच्च विवेक हो, उक्त नाच बागलुङमा मात्र सिमित र निरन्तर छ ।’


ओमकार जनप्रतिनिधि हुँदा बागलुङ जिल्लामा एक सयभन्दा धेरै झोलुंगे पुल बनाएँको पत्रकार राजभण्डारी बताउँछन् । करिब ६१ गाउँ पञ्चायतमा एक-एक विध्यालय पनि उनैले खालेका रहेछन् । प्रत्येक पञ्चायतमा अतिरिक्त हुलाक पुर्‍याउने काम पनि गौचन कै कार्यकालमा भयो । राजनीतिक रूपमा बागलुङमा कम्युनिस्टहरूको वर्चस्व रहेपनि विभेद नगरी काम गरेका गौचनलाई कहिल्यै दुव्र्यवहार वा अपमान सहनुपरेन । बागलुङबाट राजनीति गर्ने निष्ठावान जनप्रतिनिधीको नाम लिँदा गौचन र जनमोर्चाका नेता चित्रबहादुर केसीलाई राजभण्डारीले स्मरण गरे । 
(तस्बीर स्रोतः मुकेशराज भण्डारी )
 



Author

थप समाचार