कागजपत्र

मानार्थ सैन्य पदवीको इतिहास

सन्तोष खडेरी |
कात्तिक १३, २०७७ बिहीबार १९:५३ बजे

अबुधावी : भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालका तर्फबाट राष्ट्रपतिले प्रदान गर्ने नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न कात्तिक १९ मा काठमाडौँ ओर्लंदैछन् । उनी सेनाध्यक्ष नियुक्त भएपछि गत फेब्रुअरीमा नै नेपाली सेनाले उनलाई नेपाल आमन्त्रण गर्न सरकारबाट स्वीकृति लिइसकेको थियो । त्यससँगै गत वैशाखमा भ्रमण गराउने तयारी समेत थियो । तर विश्‍वव्यापी कोभिड-१९ को प्रभाव र त्यस लगत्तै दुवै मुलुक बन्दाबन्दीमा रहेकाले उनको नेपाल भ्रमण हुन सकेन ।

विगत लामो समयदेखि नेपाल-भारत दुवै मुलुकका सेना प्रमुख एक अर्का मुलुकका सेनाका मानार्थ सेना प्रमुखसमेत रहने परम्परा कायमै छ । नेपाल-भारत सम्बन्धमा उतारचढाव आउँदा समेत दुवै मुलुकका सेनाबीचको सम्बन्ध सधैँ स्थिर रहँदै आएको इतिहास छ । विगतमा कुनै समय सैन्य कूटनीतिमार्फत सम्बन्ध सामान्यीकरण गर्न मद्दत पुगेको अवस्था समेत पाइन्छ ।


सेनाका तर्फबाट यसअघि सम्बन्ध उतारचढाव हुँदाका बखतमा राजनीतिक अभिव्यक्ति दिएको घटना छैन । तर यसपालि सीमा प्रकरणमा भारतीय सेना प्रमुखको आपत्तिजनक अभिव्यक्तिसँगै उनी विवादमा तानिए । गत अप्रिल महिनामा उनले चीनको उक्साहटमा नेपालले लिम्पियाधुरासम्मको नक्सा जारी गरेको अभिव्यक्ति दिएका थिए । तर उनले मे महिनामा देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा आयोजित कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै नेपालसँग भारतको सधैँ मजबुत सम्बन्ध रहेको र भविष्यमा पनि सम्बन्ध सुदृढ रहने जवाफ दिँदै आफ्नो भनाइ सच्याएका थिए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटी नेपालले नयाँ नक्सा जारी गरेपछि भने नेपाल-भारत सम्बन्ध चिसिएको छ । नेपालले परराष्ट्र सचिवस्तरको वार्ताका लागि पटक-पटक प्रयास गरे पनि भारतले कोरोना-कहर अघि सारी वार्ता टार्दै आएको स्थिति छ । नेपाल-भारतबीच कूटनीतिक र उच्च राजनीतिक स्तरमा औपचारिक संवाद नभइरहेको स्थितिमा भारतीय सेनाध्यक्षको नेपाल भ्रमणलाई महत्वसाथ हेरिएको छ ।

सीमा मामिलामा दिल्लीको साउथ ब्लकको हरेक निर्णयमा अनिवार्य रूपमा सर्वे अफ इन्डियाका साथ सहभागी हुने सैनिक मुख्यालयको भूमिका नेपालसँगको सीमा विवादमा समेत महत्वपूर्ण रहन्छ । इतिहासको कुनै कालखण्डमा नेपालको उत्तरी सीमामा तैनाथ भारतीय सेनाको चेकपोस्ट हटाउने काममा तत्कालीन भारतीय सैनिक नेतृत्वको उल्लेखनीय भूमिका रहेझैँ यसपालि कालापानीबाट भारतीय सैनिक हटाउनसमेत भारतीय सेनाको उल्लेखनीय भूमिका रहन सक्छ ।
 
यतिबेला सेना प्रमुख नरवणेबाट सैनिक मुख्यालयको धारणा मात्र नभई सीमा मामिलामा समग्र भारत सरकारको धारणासमेत बुझ्‍न नेपाललाई मद्दत पुग्‍ने नभई यस मामिलामा केही संकेत प्रस्ट हुन जान्छ । भारतका सेनाध्यक्षलाई नेपालले मानार्थ जनरलको पदवी दिन थालेको इतिहास एक शताब्दीभन्दा पनि लामो छ । ब्रिटिस भारत कालमा नेपालस्थित ब्रिटिस रेजिडेन्टले नेपालको स्वतन्त्रतामाथि आँखा गाडेका थिए । त्यस बखत त्यहाँका सेना प्रमुखले रेजिडेन्टको योजनासँग असहमत भई नेपालको स्वतन्त्रता कायम राख्‍न भूमिका निर्वाह गरेबाट नेपालले तिनै सेना प्रमुखलाई मानार्थ पदवी दिएको थियो ।

राणा शासनमा नेपाली सेनाको प्रमुख रहने राणा शासकलाई ब्रिटिस सरकारले समेत ब्रिटिस सेनाको मानार्थ जनरल र गोर्खा रेजिमेन्टको मानार्थ कर्नेलको पदवी प्रदान गर्ने गर्थ्यो । यही प्रचलन भारत स्वतन्त्र भएपछि पनि सुरुवात भयो र नेपाल-भारतको हकमा त अझैसम्म पनि कायमै छ । ब्रिटिस भारतदेखि स्वतन्त्र भारत र एकल ब्रिटिसबाट पनि एक अर्कालाई प्रदान गरेका सेनाको मानार्थ पदवीको इतिहासलाई विगतदेखि वर्तमानसम्म यहाँ प्रस्तुत गरिएको छ ।

मानार्थ पदवीको शृंखला
सन् १८८५ मा आफ्नै ठूलाबा तत्कालीन प्रधानमन्त्री महाराज रणोद्दीप सिंह कुँवरको हत्या गरेर शमशेर खलकका वीर शमशेरले सत्ता हत्याए । त्यसलगत्तै शमशेर खलकले रक्तपातपूर्ण तरिकाले जङ्ग खलकको सफाया गरे । रणोद्दीप सिंहको हत्याको अर्को दिन महाराजाधिराज पृथ्वीबाट वीर शमशेरले प्रधानमन्त्री महाराजको पद सम्हालेको भए पनि उनलाई ब्रिटिस सरकारले भने तत्काल मान्यता दिएन । हत्या गरिएका रणोद्दीप सिंह त्यस्तै सन् १८५७ को सिपाही विद्रोहमा ब्रिटिसलाई सघाउने जंगबहादुर राणासँग ब्रिटिसको सम्बन्ध ज्यादै सुमधुर थियो । ती र तिनैका सन्तानको सफाया भएकामा त्यस बखतका ब्रिटिस रेजिडेन्ट गल्र्डस्टोन शमशेर खलकसँग ज्यादै क्रुध्द भएका थिए ।

कउनले वीर शमशेरको सत्तालाई मान्यता दिनुको साटो नेपालको अलग सार्वभौमसत्ता र स्वतन्त्रतालाई निमिट्यान्‍न पारी नेपाललाई ब्रिटिस साम्राज्यमा गाभ्ने प्रपञ्‍च रचे । त्यही प्रपञ्‍चअनुसार नेपालस्थित ब्रिटिस रेजिडेन्ट गल्र्डस्टोनले कलकत्ता मुख्यालयमा भारतका गभर्नर जनरल लर्ड डफरिनलाई नेपालको स्थितिको गलत वर्णन गरी मनाउने कोसिस गरे । त्यसैअनुसार काउन्सिल अफ ब्रिटिस इन्डियामा नेपाललाई गाभ्ने प्रस्तावमा छलफल समेत गराए । तर त्यतिबेलाका त्यहाँका विदेश सचिव डुरान्ड र सेनापति रबर्ट (कार्यकाल सन् १८८५–१८९३) भने त्यससँग सहमत हुन सकेनन् ।

ब्रिटिस भारतदेखि स्वतन्त्र भारत र एकल ब्रिटिसबाट पनि एक अर्कालाई प्रदान गरेका सेनाको मानार्थ पदवीको इतिहास : 

रसियाले भारतमाथि आक्रमण गर्ने सक्ने स्थितिमाझ ती दुईले नेपालका गोर्खाली सेनाको बहादुरीलाई ब्रिटिसका हितमा प्रयोग गरी नेपाललाई यथाअवस्थामा नै छाड्न तर्क राख्दा अन्ततः गभर्नर जनरल डफरिनसमेत सहमत भए । त्यसरी नेपालको स्वतन्त्रता मेटिनबाट जोगियो । आफूलाई मान्यता दिलाउन र नेपाललाई स्वतन्त्र राखिराख्‍नमा त्यहाँ विदेश सचिव डुरान्ड र सेनापति रबर्टको भूमिका रहेको प्रधानमन्त्री महाराज वीर शमशेरले थाह पाएका थिए ।

रेजिडेन्ट गल्र्डस्टोनको काठमाडौँबाट बहिर्गमन भयो । नयाँ रेजिडेन्टमा मेजर जि.एल. डुरान्ड आए । त्यसलगत्तै सन् १८८८ मा सेनापति रबर्टलाई उनले काठमाडौँ निम्त्याए । त्यतिबेला विदेश सचिव डुरान्डको भने भारतबाट अन्यत्र सरुवा भइसकेको थियो । यसरी सेनापति रबर्ट दम्पतीलाई काठमाडौँ नै निम्त्याएर आतिथ्य प्रदान गरी महाराजले टुँडिखेलमा उनको सम्मानमा १८ हजार सैनिकको परेडसमेत देखाए । त्यही समारोहमा नेपालका तर्फबाट महँगा-महँगा अनेकन् उपहारसहित पहिलोपटक ब्रिटिस भारतका प्रधानसेनापति लर्ड रबर्टलाई नेपाली सेनाको मानार्थ जनरलको पदवी समेत प्रदान गरे । (श्री ३ हरूको तथ्य वृत्तान्त भाग १, पुरुषोत्तम शमशेर जबरा)

राणाको सैन्य कूटनीति
नेपालका तत्कालीन प्रधानमन्त्री महाराज वीर शमशेरको निमन्त्रणामा काठमाडौँ भ्रमण गरेको भनी लर्ड रबर्टले आफ्नो संस्मरण ‘भारतमा ४१ वर्ष’ भन्‍ने पुस्तकमा समेत नेपाल भ्रमणको उल्लेख गरेका छन् । उनले महिलाका लागि अत्यन्तै कठिन रहेको काठमाडौँसम्मको यात्राका लागि नेपालले अत्यन्तै राम्रो बन्दोबस्त गरेकाले मात्र सफल भएको उल्लेख गरेका छन् । उनले काठमाडौँको विशाल मैदान (टुँडिखेल) मा १८ हजार सेनाको परेड देखाइएको ती सेनाले असाध्यै अनुशासित र होसियारीपूर्वक कुशलतापूर्ण ढंगले परेड सम्पन्न गरेको समेत उल्लेख गरेका छन् ।
 
सत्तारूढ राणा परिवारका सदस्य रोलवाला राणा भाइहरू असाध्यै राम्रो अंग्रेजी बोल्ने साथै आफूले नेपालमा असामान्य खालको ज्यादै राम्रो सत्कार पाएको समेत उल्लेख गरेका छन् । रबर्टले तत्कालीन कमान्डिङ जनरल चन्द्रशमशेर गर्मजोशवाला सैनिक भएको समेत उल्लेख गरेका छन् । उनको पत्‍नीसँग चन्द्र शमशेरले सोधे, ‘श्रीमती रबर्ट रसियनहरू कहिले आउँदैछन् ? म चाहन्छु उनीहरू शीघ्र आऊन् । यहाँ नेपालमा हामीसँग युध्दका लागि ४० हजार सेना तयार छन् । तर लड्नका लागि भने कोही छैनन् ।’

यसरी चन्द्र शमशेरले अत्यन्तै कुटिलतापूर्वक ब्रिटिस सेनापतिसमक्ष नेपालले आफ्नो तर्फबाट सेना पहिल्यै तयार रहेको भनी जानकारी गराएर मित्रताका लागि कसिलो प्रस्ताव अघि सारे । ब्रिटिस साम्राज्यबाट मुलुक र आफ्नो शासन सत्ता जोगाउन नेपाली सेना नै नेपालको सबैभन्दा ठूलो पुँजी हो भन्ने बुझेका चन्द्र शमशेरले श्रीमती रबर्टसमक्ष सेना तयार छन् भनी उनले तत्काल दुईवटा सन्देश सेनापतिलाई प्रवाह गरे । पहिलो त, ब्रिटिस साम्राज्यमाथि आइलाग्‍ने खतरामाथि नेपाली सेना आवश्यक पर्न सक्छ भन्‍ने र दोस्रो ब्रिटिस साम्राज्यको सहायताका लागि नेपाल सैन्य सहयोग गर्न सधैँ तत्पर छ भन्‍ने ।

रबर्टले आफ्नो संस्मरणमा अक्टरलोनीले नेपालबारे गरेको मूल्यांकनसँग जोड्दै आफ्नो बुझाइ प्रस्तुत गरेका छन् । जसमा उनी लेख्छन्, ‘नेपालीहरूको हामी ब्रिटिसप्रति सम्मान छ । तर उनीहरूको स्वतन्त्रता कसैले कतै हरण गर्छ कि भन्‍ने चिन्ता उनीहरूलाई सधैँ रहिआएको छ । यसका लागि उनीहरूले अपनाएको बाटो भनेको आफ्नो मुलुकमा कुनै पनि विदेशीलाई प्रवेश नदिनु हो । उनीहरूले आफूले चुनेर निम्त्याएका केहीलाई मात्र प्रवेश दिन्छन् । कठिन यात्रा पार गरेर त्यहाँ पुग्‍ने जो कोहीले आनन्द भने लिन सक्छन् । हामी नेपालबाट कहिल्यै पनि रक्षात्मक हुनुपर्ने छैन । बहादुर सिपाहीहरू लगायतका सबै सहयोग हामीले त्यहाँबाट पाइरहेका छौँ । नेपालसँगको हाम्रो साझेदारीमा हामी उनीहरूका अघि ढुक्क भएर प्रस्तुत हुनुपर्छ । त्यस्तै हामीले नेपालको स्वतन्त्रताको अर्को विकल्प सोचेका छैनौँ भनी उनीहरूलाई भरोसा दिलाउनुपर्छ । साथै उनले नेपाली सेना ब्रिटिस साम्राज्यका लागि तयार रहेको र युद्धका क्रममा आवश्यक पर्दा बारम्बार हामीलाई सहयोग गर्ने आश्‍वासन पाएको छ ।’

उनले पुस्तकमा नेपाली सेनाबाट मानार्थ जनरलको पदवी पाएको भनी नलेखेको भए पनि महाराज वीर शमशेरबाट ‘गोल्ड माउन्टेड खुकुरी’ उपहार पाएको उल्लेख गरेका छन् । नेपाली सेनाले मानार्थ पदवी प्रदान गर्दा खुकुरी प्रदान गर्ने परम्परा लामो समययता कायमै छ ।

लडाकु योध्दा नेपालको पुँजी
नेपालको सबैभन्दा ठूलो पुँजी लडाकु योध्दा नै हुन् । यसैलाई नेपालको स्वतन्त्रता र आफ्नो शासनसत्तासँग भजाउनुपर्छ भन्‍नेमा राणा शासक दृढ थिए । सत्तामा जङ्ग बहादुर राणाको उदयदेखि मोहन शमशेरको बर्हिगमन नहुन्जेलसम्मका सबै राणा शासकले ब्रिटिसलाई रिझाएर मात्रै अघि बढ्ने नीति लिए । त्यही नीतिले नेपालको ढोका ब्रिटेनबाहेकका अन्य मुलुकका लागि शताब्दीसम्म बन्द भयो । त्यसको परिणाम राणा शासन व्यवस्था र मुलुकको अलग स्वतन्त्र सार्वभौमसत्ता कायम रह्यो । 
सेनापति लर्डलाई मानार्थ जनरलको पदवी प्रदान गर्नु पनि वीर शमशेरको यही चाल थियो । जङ्गबहादुर राणा र उनका उत्तराधिकारी रणोद्दीप सिंहले समेत बेलायती सेनामा गोर्खा भर्ती खुला गरेका थिएनन् । तर वीर शमशेर सत्तामा आएको अर्को वर्ष नै गोर्खा भर्ती खुला गरिदिए जसबाट नेपाली युवाहरू बेलायती सेनामा भर्ती हुन थाले । त्यसलाई पहिलो विश्व युध्दको समयमा चन्द्र शमशेरले झनै बढाएर दुई लाखसम्म पुर्‍याइदिए ।

ब्रिटिस सरकारले नेपालमा राणा शासनको अन्त्य भएपछि भने त्यसअघि राणा शासकलाई दिँदै आएको ब्रिटिस सेनाको मानार्थ जनरलको पदवी राजालाई दिन थाल्यो ।

ब्रिटिस सरकारले समेत नेपालका राणा शासकलाई ब्रिटिस सेनाको तर्फबाट मानार्थ पदवी दिने गर्‍यो । ब्रिटिस सेनाको मानार्थ जनरल हुने पहिलो अवसर भने गोर्खा भर्ती खुला गर्ने वीर शमशेरले नपाई प्रथम विश्वयुध्दमा धनबल र जनबलको सहयोग गर्ने चन्द्र शमशेरले पाए । नेपालका तत्कालीन प्रधानमन्त्री महाराज चन्द्र शमशेरलाई पहिलोपटक ब्रिटिस सेनाको चौथो गोर्खा रेजिमेन्टको मानार्थ कर्नेल पद १९०६ अक्टोबर ३ मा ब्रिटिस सम्राट्ले प्रदान गरे । चन्द्र शमशेरको बेलायत भ्रमणको अवसर पारेर १९०८ को ०९ जुलाईमा ब्रिटिस सम्राट् एडवार्ड सातौँले ‘नाइट्स ग्रायन्ड क्रस बाथ’ प्रदान गरे । त्यस्तै पहिलो विश्वयुध्दका दौरानमा चन्द्र शमशेरलाई २२ डिसेम्बर १९१९ मा पहिलोपटक ब्रिटिस सम्राट्ले ब्रिटिस सेनाको मानार्थ जर्नेलको पदवी प्रदान गरे । (दी लन्डन गजेट)
 
चन्द्र शमशेरको निधनपछि सत्तामा आएका महराज भीम शमशेरलाई १ जुलाई १९२९ मा ब्रिटिस सेनाको मानार्थ जनरलको पदवी दिए । त्यस्तै ९ जनवरी १९३० मा ब्रिटिस सेनाको चौथो गोर्खा रेजिमेन्टको मानार्थ कर्नेलको पदवी प्रदान गरे । ३० अक्टोबर १९३१ मा जनरलबाट पदोन्‍नति गरी ब्रिटिस सम्राट्ले ब्रिटिस सेनाको मानार्थ लेफ्टिनेन्ट जनरलको पदवी प्रदान गरे । (दी लन्डन गजेट)

भीम शमशेरको निधनपछि सत्ता सम्हालेका श्री ३ महाराज जुध्द शमशेरलाई ४ अप्रिल १९३० मा ब्रिटिस सम्राट्ले ब्रिटिस सेनाको मानार्थ लेफ्टिनेन्ट जनरलको पदवी प्रदान गरे । त्यस्तै ९ मार्च १९३४ मा ब्रिटिस सम्राट्ले ब्रिटिस सेनाको सम्पूर्ण गोर्खा रेजिमेन्टको मानार्थ कर्नेलको पदवी प्रदान गरे । (दी लन्डन गजेट)

दोस्रो विश्वयुध्दको अन्त्यलगत्तै जुध्द शमशेर जबराको कार्यकालको अन्तिम महिनामा १९४५ को अक्टोबर २४ मा ३ दिने भ्रमणका लागि ब्रिटिस भारतका अन्तिम प्रधानसेनापति एवं फिल्ड मार्सल सर क्लेड आकेनलेकलाई नेपालले काठमाडौँमा निम्त्याइयो । उनको नेपाल भ्रमणको क्रममा काठमाडौँमा २५ अक्टोबरका दिन उनलाई नेपालले ‘नेपाल तारा प्रथम’बाट सम्मान गरेको थियो । उनलाई नेपालका तत्कालीन महाराजाधिराज त्रिभुवनले नेपाल तारा प्रथमको तक्मा प्रदान गरेका थिए । त्यस्तै सोही समारोहमा उनलाई नेपालले नेपाली सेनाको मानार्थ जनरलको पदवीसमेत प्रदान गरेको थियो । उनको सम्मानमा काठमाडौँको टुँडिखेलमा नेपाली सेनाका २५ हजार सेनाको परेडको दृश्यसमेत उनलाई देखाइएको थियो । (दी इन्डियन एक्स्प्रेस, २९ अक्टोबर १९४५)

भारतको स्वतन्त्रतापछि...
प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने जनरल म्याक डोनाल्ड लोकहर्टलाई २४ जनवरी १९४६ का दिन नेपाल सरकारले ‘नेपाल तारा प्रथम’ पदकबाट सम्मानित गरेको थियो । (दी लन्डन गजेट)
 
उनलाई त्यो सम्मान उनले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुभन्दा पहिले दिइएको थियो । तर उनको कार्यकालमा मानार्थ जनरलको पदवी दिएको विवरण भने फेला पर्दैन । महाराज जुद्धशमशेरले गेरु फेटा बाँधेर राजर्षि महाराजका रूपमा राजकाज छाडेर रिडी प्रस्थान गरेपछि महाराज पद्‍म शमशेरले सत्ता सम्हाले । उनै पद्म शमशेरलाई १० मे १९४६ मा त्यसअघि जस्तो फरक-फरक दिन नभई एकै दिनमा ब्रिटिस सम्राट्ले ब्रिटिस सेनाको मानार्थ लेफ्टिनेन्ट जनरल र गोर्खा रेजिमेन्टको मानार्थ कर्नेलको पदवी प्रदान गरेका थिए । (दी लन्डन गजेट)

पद्म शमशेरको कार्यकालमा भारत स्वतन्त्र भयो । ब्रिटिस भारतमा रहेका गोर्खा रेजिमेन्टसमेत भारत र ब्रिटेनमा विभाजित हुन पुगे । भारत सरकारले समेत नेपालका प्रधानमन्त्री महाराजलाई ब्रिटिस सरकारले झैँ भारतीय सेना र भारतीय सेनाको गोर्खा रेजिमेन्टका अलग-अलग पदवी दिने निर्णय गर्‍यो । पद्म शमशेर राजकाज छाडेर भारतका लागि प्रस्थान गर्नु अघिल्लो दिन मात्र १९ फेब्रुअरी १९४८ मा उनलाई भारत सरकारले भारतीय सेनाको मानार्थ लेफ्टिनेन्ट जनरल र गोर्खा रेजिमेन्टको मानार्थ कर्नेलको पदवी प्रदान गर्ने घोषणा गर्‍यो । (इन्डिया इन्फर्मेसन भोलुम २२ १९४८)

महाराज पद्म शमशेर आफ्नो छोटो कार्यकालमा राजीनामा गरी भारत खेदिन बाध्य भएपछि मोहन शमशेरले सत्ता सम्हाले । महाराज मोहन शमशेरलाई उनले सत्ता सम्हालेको दिनदेखि लागू हुने गरी पहिले ११ मे १९४८ मा ब्रिटिस सम्राटले ब्रिटिस सेनाको मानार्थ लेफ्टिनेन्ट जनरल र गोर्खा रेजिमेन्टको मानार्थ कर्नेलको पदवी प्रदान गरेका थिए । (दी लन्डन गजेट)
 
मोहन शमशेरलाई १५ जुलाई १९४८ मा उनले सत्ता सम्हालेको दिनबाट नै लागू हुने गरी भारत सरकारका तर्फबाट त्यहाँका गभर्नर जनरल सी. राजागोपालाचारीले भारतीय सेनाको मानार्थ लेफ्टिनेन्ट जनरल र गोर्खा रेजिमेन्टको मानार्थ कर्नेलको पदवी प्रदान गरे । (इन्डियन इन्फर्मेसन भोलुम, १९४८)

२३ नोभेम्बर–१९४९ का दिन काठमाडौँस्थित बेलायती राजदूतले नेपालका प्रधानमन्त्री महाराज मोहन शमशेरलाई बेलायती सेनाको लेफ्टिनेन्ट जनरलको तरबार प्रदान गरे । मोहन शमशेरलाई भारत सरकारले औपचारिक रूपमा समारोह नै आयोजना गरेर भने उनको भारत भ्रमणको क्रममा सन् १९५० को २० फेबु्रअरीमा भारतका रक्षा मन्त्री बलदेव सिंहले परेड समेत देखाई तरबार प्रदान गरे ।

स्वतन्त्र भारतका दोस्रो एवं अन्तिम ब्रिटिस प्रधानसेनापति जनरल रोय बकरलाई समेत नेपालले सम्मान गरेको थियो । सन् १९४८-४९ मा भारतले हैदरावादमा सैन्य आक्रमण गर्दा आन्तरिक सुरक्षाका लागि दस बटालियन नेपाली सेनाको सहयोग मागेको थियो । प्रधानमन्त्री पुत्र शारदा शमशेर कन्टिन्जेन्ट प्रमुख भई भारतमा खटिएका थिए । त्यही कन्टिन्जेन्ट कार्यालयमा सन् १९४८ डिसेम्बरमा नै जनरल रोय बकरलाई शारदा शमशेरले प्रधानमन्त्री महाराज मोहन शमशेरका तर्फबाट ‘नेपाल तारा प्रथम’बाट सम्मानित गरेका थिए । उनलाई पनि नेपाल ताराबाट सम्मानित गरेको भए पनि मानार्थ जनरलको पदवी प्रदान गरेको विवरण भने पाइँदैन ।

स्वतन्त्र भारतका प्रथम भारतीय प्रधानसेनापति जनरल के.एम. करिअप्पालाई सन् १९५० मा काठमाडौँ निम्त्याएर नेपाल सरकारले नेपाली सेनाको ‘मानार्थ सेनापति’ पदवी प्रदान गरेको थियो । ब्रिगेडियर चन्द्रबहादुर खन्दुरीले ‘फिल्ड मार्सल करिअप्पा : जीवनी र समय’ पुस्तकमा सो कुराको उल्लेख गरेका छन् ।

अहिले पनि नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाका प्रधानसेनापति एक अर्का मुलुकका मानार्थ सेनापति रहने प्रचलनको सुरुवात सन् १९५० मा जनरल करिअप्पाको नेपाल भ्रमणको समयदेखि सुरुवात भएको भनी उल्लेख गर्ने गरेको पाइन्छ । तर सन् १९५० को वर्षभरिका केही भारतीय राष्ट्रिय दैनिकका अंकहरू हेर्दा भने त्यो खबर कतै पनि छापिएको भने पाइँदैन । जनरल करिअप्पा पछिका दुई सेनापतिले नेपाल भ्रमण गरेको देखिँदैन ।

ब्रिटिस सरकारले नेपालमा राणा शासनको अन्त्य भएपछि भने त्यसअघि राणा शासकलाई दिँदै आएको ब्रिटिस सेनाको मानार्थ जनरलको पदवी राजालाई दिन थाल्यो । त्यसै क्रममा राजा त्रिभुवनलाई १ जुलाई १९५२ मा ब्रिटिस सरकारले ब्रिटिस सेनाको मानार्थ जनरलको पदवी प्रदान गर्‍यो । (दी लन्डन गजेट)

राणा शासनको अन्त्यपछि नेपालका शासकलाई प्रदान गर्ने भारतीय सेना र भारतीय सेनाको गोर्खा रेजिमेन्टको मानार्थ पदवी भारत सरकारले समेत नेपालका महाराजधिराजलाई प्रदान गर्न थाल्यो । राजा त्रिभुवनलाई भारत सरकारले दिएको दस्तावेज प्राप्त हुन नसके पनि राजा महेन्द्रको हकमा भने दिइएको देखिन्छ । (नेपालको राजपत्र, २२ जुलाई १९५५ अर्थात् वि.सं. २०१२ अषाढ ८)
 


Author

सन्तोष खडेरी

इकागजका अबुधाबीस्थित टिप्पणीकार खडेरी नेपालसम्बन्धी दुर्लभ दस्तावेज संकलन र विश्लेषणका लागि परिचित छन् ।


थप समाचार
x