संसद्

प्रदिप ज्ञवालीको प्रश्न – ८ प्रतिशत आर्थिक वृद्धि गर्न नयाँ एडम स्मिथ खोज्‍नपर्ने हो ?

इकागज |
जेठ १९, २०७९ बिहीबार ११:४७ बजे

काठमाडौं–एमाले सांसद प्रदिप ज्ञवालीले संसद्मा जारी बजेट छलफलमा अर्थमन्त्री शर्मालाई कटाक्ष गर्दै ८ प्रतिशत आर्थिक वृद्धि गर्न नयाँ एडम स्मिथ खोज्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । ‘पूँजीगत खर्च घटाउनु भएको छ,’ उनले भने, ‘२१ प्रतिशत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि ? यसको लागि त नयाँ एडम स्मित खोज्नु पर्ने हो कि नयाँ मार्क्स खोज्नुपर्ने हो कि नयाँ पिकेटी खोज्नुपर्ने हो ? हाम्रो सोझो अर्थतन्त्रको हिसाबले त यस्तो कुरा कहीँ पनि हुन्छ जस्तो मलाइ  लाग्दैन ।’

सांसद ज्ञवालीले यो बजेट कार्यान्वयनमा नजाने समेत बताए ।  ‘बजेटको कन्टेन्टमा जाँदाखेरी यो कार्यान्वयन हुँदैन,’ उनले भने, ‘यसका यावत् कारणहरू छन् । यो चुनावी वर्ष हो ।  तपाईंहरू छलफल गरिरहनुभएको छ । मंसिरमा चुनाव हुने नहुनेबारे । मंसिर सम्म तपाईँहरूले पूँजीगत खर्च गर्न सक्ने कुरै भएन । त्यसपछि कुन सरकार आउँछ ।’



बजेटमा विरोधाभाषी विषयहरू समेत रहेको उनको भनाइ थियो । ‘बजेटमा  कति कुरामा विरोधाभाष छ,’ उनले भने, ‘एकातिर आयात घटाउँदै छु भन्नु हुन्छ । अर्को तिर राजश्व बढाउँछु भन्नुहुन्छ । जबकि हाम्रो राजश्वको अत्याधिक ठूलो हिस्सा आयातमाथि निर्भर छ ।’ उनले यो बजेट निश्चित घरानालाई फाइदा हुनेगरि ल्याइएको समेत टिप्पणी गरेका थिए । 


Author

थप समाचार
x