संसद्

विश्वविद्यालयका अनुसन्धानसँग जोडिएका निकायलाई बजेट पर्याप्त दिनुपर्छ ः विन्दा पाण्डे

इकागज |
जेठ २६, २०७९ बिहीबार १४:३२ बजे

काठमाडौं–एमाले सांसद विन्दा पाण्डेले विश्वविद्यालयका अनुसन्धानसँग जोडिएका निकायलाई पर्याप्त बजेट दिनुपर्ने बताएकी छिन् । संसद्को मन्त्रालयगत छलफलमा भाग लिँदै उनले विश्वविद्यालय अनुदान आयोग,सिनास लगायतका निकायलाई पर्याप्त बजेट दिन माग गरेकी हुन् । 

‘विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सी बनाउनको लागि विश्वविद्यालय अनुदान आयोग, सिनास लगायतका अनुसन्धानसँग जोडिएका निकायलाई पर्याप्त विनियोजन गर्नुपर्छ,’ उनले भनिन् । 


उनले त्रिभुवन विश्वविद्यालयमा महिनौदेखि ताल लागेकाले यसको पनि समस्या समाधान गर्नु पर्ने बताइन् । ‘महिनौदेखि त्रिभुवन विश्वविद्यालयमा ताला लागेको छ,’ उनले भनिन्, ‘शिक्षालयमा तालाचाबीको अन्त्य गर्दै समस्या सुन्ने सुनाउने र वार्ताबाट समाधान गर्ने संस्कारको विकास गर्दै सम्झौतामा भएको कुरालाई कार्यान्वयन गर्न वातावरण बनाउन आवश्यक छ ।’

विश्वविद्यालयमा थुप्रै समस्या भएको भन्दै उनले एकीकृत योजना बनाएर बजेट छुट्याउन आवश्यक भएको बताइन् ।  ‘उच्च शिक्षाको जग त्रिचन्द्र कलेजको बेहाल छ,’ उनले भनिन्, ‘विश्वविद्यालयको पूर्वाधार समग्रतामा एकीकृत  योजना सहित आवश्यक बजेट छुट्याउन आवश्यक  छ ।’
 


Author

थप समाचार
x