संसद्

अर्थतन्त्र ग्याष्ट्रिक, अल्सर होइन, क्यान्सर हुने अवस्थामा पुगेको छ : महेश बस्नेत

इकागज |
जेठ २६, २०७९ बिहीबार १६:१ बजे

काठमाडौं–नेकपा एमाले सांसद महेश बस्नेतले देशको वर्तमान अर्थतन्त्र क्यान्सर हुने अवस्थामा पुगिसकेको बताएका छन् । संसद्मा जारी मन्त्रालयगत विनियोजन बजेटको छलफलमा भाग लिँदै उनले अर्थतन्त्रलाई क्यान्सर हुने अवस्थामा पुगेको बताएका हुन् । 

‘उद्योगी व्यावसायी र व्यापारीहरू आज निराश छन्,’ उनले भने, ‘अर्थतन्त्र ग्याष्ट्रिक अल्सर होइन क्यान्सर हुने अवस्थामा पुगिसकेको  छ । बैंकहरू पैसा नभएर टाट पल्टिएको अवस्थामा छन् ।’ उनले विद्यार्थी, किसान र आम मानिसहरू समस्यामा हुँदा पनि सरकार बेखबर रहेको बताए ।


‘विद्यालयहरू पाठ्य सामग्री नभएर बन्द हुने अवस्थामा पुगेका छन् । किसानहरू मलको अभावमा आउँदो यो वर्षमा खेतीबाली गर्ने कि नगर्ने भनेर छलफल गरिरहेका छन्,’ उनले भने, ‘डिग्री हाँसिल गरेका विद्यार्थीहरू म्यादी प्रहरीमा जागिर खान बाध्य छन् । अछाम बर्दिया जस्ता ठाउँमा जनताहरूले आफ्नो अधिकारको लागि आन्दोलन गरिरहेका छन् । सरकारले गोली प्रहार गरिरहेको छ । महिला हिंसा दिन प्रतिदिन बढिरहेको  छ । बलात्कारका घटना बढिरहेको छ । गृहमन्त्रालय बेखबर  छ।’

सांसद बस्नेतले पेट्रोलिय पदार्थको मूल्य १५ पटक भन्दा बढी पटक बढेको भन्दै सरकारको आलोचना गरे  । उनले विनियोजन विद्येयकमा छलफल हुँदा सरकारका मन्त्रीहरू संसद्मा उपस्थित नभएको भन्दै मन्त्रीहरूलाई समेत व्यंग्य गरे ।  


‘विनियोजन विद्येयकमा छलफल भइरहँदा  सरकारका मन्त्रीहरू व्यस्त हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरूको व्यस्तता सरकार टिकाउने कुरामा छ । उहाँहरूको व्यस्तता गठबन्धन जोगाउने कुरामा  छ । उहाँहरूको व्यस्तता प्रमुख प्रतिपक्षी दललाई कमजोर बनाउने कुरामा छ । मन्त्रीहरू अहिले सायद नेताको घरतिर हुनुहुन्छ होला । प्रधानमन्त्रीको घरतिर हुनुहोला । किनभने भइरहेका मन्त्रीहरूलाई पद जोगाउनु परेको छ ।’


उनले सरकारले अर्थतन्त्र टाट पल्टि रहेको बेला यसलाई सुधार गर्ने समन्वय गर्ने योजना नबनाएकोमा समेत गुनासो गरे । प्रधानमन्त्रीले भन्दा अरु कसैले सरकार चलाइरहेको जस्तो आभास हुन थालेको उनको भनाइ थियो ।  सरकारले स्यानिटरी प्याडमा स्वदेशी उत्पादकलाई भन्दा बाह्य उत्पादकलाई बलियो बनाउने गरि भूमिका खेलेको समेत उनले आरोप लगाए । 

 


Author

थप समाचार
x