ऊर्जा मन्त्रालय धाउँदा-धाउँदै जुत्ता फाटिसक्यो : सांसद सिंह
काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले ऊर्जा मन्त्रालय धाउँदा-धाउँदा जुत्ता फाटेको भन्दै व्यंग्य गरेका छन् । सांसद सिंहले शुक्रबार संसद्को मन्त्रालयगत बजेट छलफलमा बोल्दै नदी कटान, सव स्टेसनलगायतका समस्या लिएर मन्त्रालय जाँदा–जाँदै धेरै जुत्ता फाटिसकेको टिप्पणी गरे ।
‘मेरो क्षेत्र बाग्मती नदीको क्षेत्र हो । बागमती नदीको कटानले हरेक साल सयकडौँ बिघा कटान हुन्छ,’ उनले भने, ‘ऊर्जा मन्त्रालय जाँदा-जाँदा मेरो जुत्ता कति फाटिसक्यो । तर आजसम्म तटबन्ध हुनसक्या छैन । त्यसको लागि या त पार्टीको अध्यक्ष हुनुपर्यो । या प्रधानमन्त्री/ मन्त्री हुनुपर्ने । हामी त मन्त्री हुन पाउँदैनौ । किनभने हामी त्यो तहमा पनि छैन ।’
उनले आफ्नो क्षेत्रमा निर्माण हुन लागेको गरैया सव स्टेसन समेत नभएकोमा समेत पनि गुनासो गरे । ‘दश वर्षदेखि मेरै क्षेत्रमा एउटा सव स्टेसन निर्माण भइरहेको छ । गरैया सव स्टेसन,’ उनले भने, ‘१५ महिनाको ठेक्का पट्टा थियो । १० वर्षमा २ पटक कुलमान जी नियुक्ति पनि पाइसक्नु भयो । तै पनि अहिलेसम्म बन्न सकेको छैन ।’
सांसद सिंहले गाउँमा अत्याधिक लोडसेडिङ भएकाले नेपालमा बिजुली फालाफाल छ भनेर प्रचार नगर्न पनि आग्रह गरे । ‘लोडसेडिङ छैन भन्छन् मेरै गाउँमा दिनका दिन लोडसेडिङ छ,’ उनले भने, ‘१० घण्टा भन्दा कम बिजुली कटेको दिनै छैन । एकदिन एकदिन पानी परेर कटेको होला तर १० दिन त कट्दैन नि ? त्यसकारणले बिजुली फालाफाल छ नेपालमा भनेर झुटो कुराको प्रचार प्रसार नगरौँ ।’
सांसद सिंहले गाउँका जनताको विजुली काटेर बाहिर देखाउनलाई हामी फाइदामा छौँ भन्न बन्द गर्न अनुरोध गरे । ‘गाउँलाई पनि बिजुली दिउँ,’ उनले भने, ‘ गाउँमा बस्ने जनता पनि जनतै हुन् । खाली काठमाडौंमा बस्ने मात्रै जनता होइन । यहाँ त एलिटहरू बस्ने हो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया