संसद्

बजेटमा संघीयता र समावेशीकरण अलमलमा परेको अनुभूति हुन्छ : शक्ति बस्नेत

इकागज |
जेठ २९, २०७९ आइतबार १३:५८ बजे

काठमाडौं–नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले बजेटमा संघीयता र समावेशीकरणको विषय अलमलमा परेको अनुभूति भएको बताएका छन् । संसद्मा जारी मन्त्रालयगत विनियोजित बजेट छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । 

‘संघीयता र समावेशीकरणको बारेमा बजेटमा  जुन प्राथमिकताका साथ छलफल भएको थियो,’ उनले भने, ‘विनियोजन शीर्षकसम्म आइपुग्दा त्यो फेरि पनि अलमलमा परेको जस्तो अनुभूति हुन्छ । ससर्त अनुदानका शीर्षकहरूमा विभागीय मन्त्रालय र अर्थमन्त्रालयको बीचमा अलिअलि असमझदारी देखा परिरहेका छन् ।’


उनले प्रदेश सरकार र स्थानीय तहलाई दिइने अनुदानमा बजेट अलि उदार हुन नसकेको समेत बताए । ‘बजेटको ससर्त अनुदान विशेष अनुदान वा समपूरकका हिसाबले हेर्दा सबै हिसाबले बजेटको अलि ठूलो परिणाम प्रदेशमा र स्थानीय तहहरूमा लैजानु पर्दछ भन्ने बजेटको स्पिरिट थियो,’ उनले भने, ‘तर कार्यन्वयन गर्ने क्रममा अलि बढी उदार हुन नसकेको जस्तो पनि महशुस हुन्छ । ससर्त अनुदानमै १ लाख सम्मका योजनाहरू राखिएका छन् । कार्यान्वयनमा र थप पूँजीगत खर्च बढाउने कुरामा यसले थप समस्या गर्छ होला ।’

विनियोजित बजेटको अवस्थाले पूँजीगत खर्च बढाउने कुरामा अप्ठेरो हुने उनको भनाइ छ । ‘बजेटमा यति धेरै ससर्त योजनाहरू प्रदेश र स्थानीय तहमा पठाइएको छ,’ उनले भने, ‘न ति योजनाहरू प्रदेश र स्थानीय तहले स्वामित्व लिने अवस्था रहनेछ । न ती सबै कार्यन्वयन गर्नको लागि संरचनात्मक व्यवस्था छ । यसले पूँजीगत खर्च बढाउने कुरामा फेरि पनि अप्ठेरो पार्छ भन्ने कुरा महशुस भएको  छ ।’ 


 


Author

थप समाचार
x