ईश्वर पोखरेलले गरे प्रतिवाद : प्रचण्डले माफी माग्नुपर्छ
काठमाडौँ- एमाले नेता ईश्वर पोखरेलले अमेरिकासित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी प्रस्तावको ‘सकारात्मक प्रत्युत्तर’ सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री भएका बखत गएको र केपी ओली प्रधानमन्त्री हुँदा त्यस्तो कुनै प्रस्ताव नगएको प्रतिवाद गरेका छन् । आज प्रतिनिधि सभा बोल्दै नेता पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम नलिईकन उनले लगाएको आरोपको प्रतिवाद गरेका हुन् । पोखरेलले एमाले र केपी ओलीका पालामा यो प्रस्ताव अघि बढेको भए त्यसको प्रमाण संसद् समक्ष पेस गर्न पनि चुनौती थिए ।
‘यो प्रस्ताव सन् २०१५ र २०१७ को बीचमा आयो । २०१५ मा प्रधानमन्त्री, रक्षा मन्त्री को थियो ?त्यो पार्टीको नेताले के भन्छ ? कसले एसपीपीको प्रस्तावलाई सकारात्मक ढंगले प्रत्युत्तर पठायो ? गठबन्धनका नेताहरु सरासर झूट बोलिरहेका छन् म निन्दा गर्न चाहन्छु,’ पोखरेलले भने, ‘२०१५ मा सुशील कोइराला प्रधानमन्त्री र रक्षामन्त्री हुनुहुन्थ्यो । २०१७ मा प्रधानमन्त्री देउवा । त्यसबेला सकारात्मक ढंगले प्रत्युत्तर पठाउनेहरुले एमालेलाई दोष लगाए ।’ पोखरेलले भने, ‘म निन्दा गर्न चाहन्छ । केपी ओली प्रधानमन्त्री भएका बेला म रक्षा मन्त्री थिए । ते बला लिखत, माइन्यूट, वक्त छ भने संसद्मा ल्याइयोस्, हामी जवाफदेही हुन्छौं ।’
उनले यस किसिमका कुराहरु जो अहिले उछालिंदै छ त्यसप्रति आफूले खेद व्यक्त गर्न चाहेको पनि उल्लेख गरे । ‘त्यसबेला केपी ओलीले नेतृत्व गरेको बेलामा अमेरिकी सुरक्षा निकायका नेतृत्व गर्ने विभिन्न व्यक्तिहरु आए । रक्षा मन्त्रीको नाताले मैसित पनि उहाँहरुले भेटघाट गर्नु भएको छ,’ पोखरेलले भने, ‘त्यसबेला हामीले प्रस्ट भन्यौं नेपाल असंलग्न परराष्ट्र नीति, जुन पञ्चशीलको सिद्धान्तमा आधारित रहेर हामी अगाडि बढ्न चाहन्छौं, कुनै सैनिक गठबन्धनमा हामी सामेल हुन सक्दैनौं । यो गलत कुरा हो । हामीले पटक पटक भनेका छौं ।’
एमालेले आफ्नो राष्ट्रिय अडानलाई त्यतिबेला पनि प्रस्तुत गरेको दाबी पोखरेलको थियो । एमालेले राष्ट्रिय नीतिमा आँच पुग्ने हिसाबले कहिल्यै पनि नगरेको उनले जिकिर गरे । ‘जहाँसम्म नेपाली सेनाले विभिन्न ढंगले तालिम लिने कुरा छ, चीन, भारत बेलायत पाकिस्तान अमेरिकासित पनि लिएकै हो,’ उनको भनाइ थियो, ‘ ‘शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्नका लागि, दैवी प्रकोप व्यवस्थापनको सन्दर्भमा नेपाली सेनालाई थप सबल बनाउनका लागि दक्षता अभिवृद्धि गर्नका लागि हामील गर्दै आएको छौं । तर यसको अर्थ के होइन भने यो कुनै सैनिक गठबन्धनमा सामेल हुने, यस्ता खालका कुराहरु किमार्थ होइनन् ।’
एमालेले नेपाललाई सैनिक गठबन्धनमा जाने कुरा कहिले पनि हुन नदिने पोखरेलको भनाइ थियो । ‘ध्यान रहोस्, अहिले जुन प्रस्ताव आएको छ, लाज पचाएर सार्वजनिक भएको प्रस्तावलाई होइन भन्नका लागि अनेक नाटक मञ्चन गर्ने, दई दिनसम्म चूप लाग्ने, पछि पूर्व सरकारहरुको पालामा भएको भनेर डाइलुटिङ टोनमा बोलेर यसलाई आफूले गरेका अपराधलाई छोप्ने कोसिस गरिएको छ यो निन्दनीय छ ।’
‘हामी त्यो कुराहरु (एसपीपी) को निन्दा र भत्र्सना गर्न चाहन्छौं । वास्तवमा कुराहरु बजारमा आए । आधार र प्रमाणित सहित नै आयो । स्वाभिमानी नेपालीहरुले तिनका प्रतिनिधिहरुले प्रतिक्रिया व्यक्त गरे’ उनले भने, ‘ एमालेको तर्फबाट यहीं संसद्मा सशक्त प्रतिवाद पनि सुरु गरियो । एक दिन, दुई दिन थाहा नपाएजस्तो गरियो । त्यसपछि लुकाउने प्रयत्न गरियो । पोल खुल्दै गएपछि यसको आरोप अन्ततः अन्त लगाउने कोसिस गरियो ।’
वर्तमान गठबन्धनको सरकारले एमालेको टाउकोमा हाल्ने कोसिस गरेको पोखरेलले बताए । ‘एमालेको पालामा भएको भनेर गठबन्धनको एउटा नाम चलेको नेता (दाहाल) ले सार्वजनिक सञ्चार माध्यममा बोल्नुभएको छ । म चुनौती दिन चाहन्छु, हिम्मत छ भने उहाँले केपी ओलीको पालामा यो चीज भयो भनेर प्रमाण प्रस्तुत गर्नाेस्, होइन भने त्यसरी गैरजिम्मेवार ढंगले बोलेको कुराप्रति उहाँले क्षमा माग्नुपर्छ ।’
‘म भन्न चाहन्छु यो प्रस्ताव कसको पालामा आयो । कसले सकारात्मक ढंगले उत्तर दियो । उता सहमति भइसकेपछि केपी अोलीको नेतृत्वको सरकारको पालामा के गरियो ती सबै तथ्यको आधारमा ती सबै कुरा प्रस्तुत हुन्,’ पोखरेलले भने, ‘अहिले गठबन्धन सरकार छ । हिम्मत छ भे यो सरकारले त्यसबेलाका ती तमाम चीजहरु प्रस्तुत गरोस् होइन भने फत्तुर लगाउने कुराको म केबल निन्दा र भत्र्सना मात्र गर्न सक्दछु ।’
पोखरेलले गठबन्धनको विषाक्त दीर्घजीवनका लागि गरिएको, देशका विरुद्ध गरिएको षड्यन्त्रपूर्ण हर्कतलाई पराजित गर्नेपर्छ भन्ने आफूले जोड दिन चाहेको बताए । उनले अहिले आएको यो विषय (एसपीपी) यही देशभित्रका केही नेताहरुको छलछामपूर्ण सत्ता टिकाउने एउटा कुत्सित मनसायबाट गरिएको जिकिर गरे ।
‘हाम्रो परराष्ट्र नीतिलाई कमजोर बनाउने हिसाबले अनेक ढंगका कुराहरु उठिरहेका छन् । एमालेको तर्फबाट म भन्न चाहन्छु हाम्रो असंलग्न परराष्ट्र नीतिलाई कमजोर बनाउने हिसाबले कुनै पनि कुराहरु आउँछन् भने त्यसको प्रतिवाद एमालेले गर्नेछ,’ पोखरेलले भने, ‘कुनै हालतमा पनि यी चीजहरु हुन दिनेछैन । हामीले त्यसबेला आएका संयुक्त राज्य अमेरिकाका राज्यमन्त्री जोसेफ फेल्टरलाई यही कुरा भन्ने व्यक्ति मै हुँ, उपपप्रधान तथा रक्षा मन्त्रीको हिसाबले ।’
‘हामी सैनिक गठबन्धनमा सामेल हुन्नौं भनेर हामीले त्यसबेला बताएका थियौं । त्यसकारणले यस किसिमका गलत भ्रामक कुरा, देशलाई गुमराह राख्ने कुराहरु कसैले पनि गर्छ भने त्यो निन्दनीय छ,’ उनले भने, ‘यस मामिलामा एसपीपी सन्दर्भमा एमाले चुकेको थियो, केपी अोलीको पालामा भएको थियो भनेर जसरी भनिएको त्यो खेदजनक छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया