संसद्

एमालेले जनार्दन शर्मालाई अर्थमन्त्रीको रुपमा स्वीकार गर्दैन : भानुभक्त ढकाल

इकागज |
असार २, २०७९ बिहीबार १५:२५ बजे

फाइल तस्बिर

काठमाडाैँ -  नेकपा एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले अर्थमन्त्रीको रुपमा स्वीकार नगर्ने बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सम्बन्धमा अर्थ मन्त्रालयको जवाफ दिन अर्थमन्त्री शर्मालाई कार्यसूचीमा राखेकोप्रति आपत्ति जनाउँदै सांसद ढकालले शर्मालाई अर्थमन्त्रीको रुपमा स्वीकार गर्न नसकिने बताएका हुन् । उनले अर्थमन्त्रीले विचौलियाको चंगुलमा परेर करको दर परिवर्तन गरी राष्ट्रघात गरेकाे  आरोप लगाए । 


एमालेले अर्थमन्त्रीको राजीनामा मागिरहँदा पनि कार्यसूचीमा अर्थमन्त्रीलाई हालेकोप्रति एमालेको असहमति र विरोध रहेको उनकाे भनाइ थियाे ।

उनले भने, ‘अर्थमन्त्री विचौलियाको चंगुलमा परेर करका दरहरु परिवर्तन गरेको र राष्ट्रघात गरेकोले राजीनामा दिनुपर्छ भन्‍ने हाम्रो दलको अडान रहेको व्यहोरा विगतदेखि उठाउँदै आएका छौँ । त्यो विषयलाई बेवास्ता गरेर आजको कार्यसूचीमा पनि फेरि त्यही विषय ल्याइएको हुनाले यो प्रति गम्भीर असहमति र विरोध छ ।’


सांसद ढकालले अर्थमन्त्रीलाई जिम्मेवारीबाट नहटाएकाले विचौलियाहरुको सञ्‍जाल अर्थमन्त्रीभन्दा माथि पनि छ कि भन्‍ने आशंका उब्जाएको बताए । उनले जेठ १४ गते बेलुकी ७ बजेदेखि जेठ १५ गते बिहान ८ बजेसम्मको सिसिटीभि फुटेज हेरेर दोषीलाई कानुनको कठघरमा ल्याउनुपर्ने र त्यसको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने उल्लेख गरे ।

त्यसैगरी सांसद हृदयेश त्रिपाठीले पनि अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गरेका छन् । उनले अर्थमन्त्रीले विचौलियको प्रयोग गरेको हो भने त्यो अपराध गरेको ठहरिने बताए ।


Author

थप समाचार
x