संसद्

राष्ट्रिय सभाबाट औषधि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

इकागज |
असार २, २०७९ बिहीबार १७:१९ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय सभाको बैठकले औषधि (तेस्रो संसोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 

बिहीबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उक्त प्रस्ताव पेश गरेका थिए । त्यस्तै बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । 


त्यसअघि बैठकमा सांसदहरुले रणनीतिक साझेदारी कार्यक्रम (एसपिपी)ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।

 नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले अहिले स्वाधीनताको विषयमा गम्भिर प्रश्न उठेको बताए । नेपालको घोषित परराष्ट्र नीतिमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, असङ्लग्न नीति र स्वतन्त्र परराष्ट्र नीति उल्लेख रहेको उनले बताए ।  सन्तुलित कूटनीतिमा विचलन आउँदा शक्ति राष्ट्रहरु कुनैले पक्षमा र अर्काेको विरोधमा प्रयोग गर्न खोजेको उनको भनाइ छ ।

सांसद् तुलप्रसाद विश्वकर्माले एसपिपीको वास्तविकताबारे सरकारले सदनमा स्पष्ट गर्नुपर्ने बताए । 

सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्रीको अमेरिका भ्रमणले दुई देशको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गरे । सांसद् भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री र प्रधानसेनापति अमेरिका जाँदा सम्झौतामा हस्ताक्षर हुँदैछ भनेर जनस्तरमा आक्रोश र चिन्ता रहेको बताए । 

बैठकले पूर्वमन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।


Author

थप समाचार
x