एसपीपी सम्झौता नगर्ने निर्णय परराष्ट्र मन्त्रालयद्वारा अमेरिकालाई पत्राचार गरियोस् : देव गुरुङ
काठमाडाैं-नेकपा माओवादीका सांसद् देव गुरुङले एसपीपी सम्झौता नगर्ने निर्णय परराष्ट्र मन्त्रालयले अविलम्ब पत्राचार गर्नुपर्ने बताएका छन् । उनले बुधबार संसद्को शून्य समयमा बोल्दै यस्तो भनाइ राखेका हुन् ।
‘सरकारले निर्णय गरेको एसपीपी सम्झौता नगर्ने भन्ने निर्णय अहिले सम्म परराष्ट्र मन्त्रालयबाट पत्राचार गरिएको छैन,’ उनले भने, ‘अविलम्ब पत्राचार गरियोस् । दोस्रो कुरा आईपीएसको सदस्य २०१९ देखि बनिसकेको छ भन्ने कुरा सार्वजनिक मिडियाहरूबाट आइसकेको छ । अस्ति पूर्व प्रधानमन्त्रीले पनि भनिसक्नु भएको छ । त्यसकारण आईपीएसको पनि सदस्य नेपाल बन्न सक्दैन । त्यो कुरा पनि पत्राचार गरियोस् ।’
सांसद् गुरुङले एमसीसीमा पास गर्दा जारी गरिएको घोषणापत्र अमेरिकाले स्विकार नगरिसकेकोमा समेत सरकारको ध्यानाकर्षण गराएका छन् । ‘एमसीसी पास गर्दा १२ बुँदे घोषणा पत्र जारी भएको थियो,’ उनले भने,’ त्यो घोषणा पत्रको बारेमा अमेरिकाले स्विकार गरेको छैन । त्यो स्विकार हुने कि नहुँने भन्ने कुरा सरकारले अविलम्ब पत्राचार गरियोस् । स्वीकार्य नभएको अवस्थामा एमसीसी कार्यन्वयन प्रक्रिया रोकिन्छ । स्वीकार्य भएको अवस्थामा मात्रै एमसीसी प्रक्रिया अगाडि बढ्छ । यसमा पनि सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया