संसद्

सांसद विकको प्रश्न : के लाखौँ नागरिकहरूलाई नागरिकताविहीन बनाउन खोजेको यो सरकारले ?

इकागज |
असार २४, २०७९ शुक्रबार १५:३ बजे

काठमाडौँ- नेकपा एमालेकी सांसद् विमला विकले सरकारलाई नागरिकता विधेयक फिर्ता गरेर लाखौँ नागरिकहरूलाई नागरिकताविहीन बनाउन खोजेको भन्दै प्रश्न गरेकी छिन् । उनले शुक्रबारको संसद् बैठकको शून्य समयमा बोल्दै सरकारलाई यस्तो प्रश्न गरेकी हुन् ।

‘संसदमा नागरिकतासम्बन्धी विधेयक थियो मुलुकका लाखौँ नागरिकहरू जो सँग नागरिकता थिएन, उनीहरूले बानेश्वरको संसद् भवनतिर फर्केर हेरिरहेका थिए,’ उनले भने, ‘विधेयक कहिले पास हुन्छ र हाम्रो हातमा कहिले नागरिकता पर्छ भनेर । तर सरकारले नागरिकता विधेयक फिर्ता गर्दै छ । के नेपालका लाखौँ नागरिकहरूलाई नागरिकताविहीन बनाउन खोजेको यो सरकारले ?’


उनले व्यक्तिलाई सरकारले नागरिकता नदिएर पहिचानविहीन बनाउन खोजेको बताइन् । ‘व्यक्तिलाई नागरिकताविहीन, राज्यविहीन, पहिचानविहीन बनाउन पाइन्छ ?,’ उनले भनिन्, ‘यो व्यक्तिको नैसर्गिक अधिकार हो । संविधानले दिएको मौलिक हक पनि हो ।’

उनले नागरिकताविहीनहरुले नागरिकता पाउने गरी नागरिकता ऐन कहिले बन्छ भन्दै सरकारलाई प्रश्न गरिन् ।


Author

थप समाचार
x