संसद्

राष्ट्रियसभामा चार विधेयक पेश

इकागज |
असार २८, २०७९ मंगलबार १७:२१ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रियसभाको आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक पेश भएका छन् । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरे। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ र ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेश गरे । 


‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले आन्तरिक कारणले मात्र नभई कहिलेकाहीँ बाह्य कारणबाट राजधानीको सुरक्षा संवेदनशील हुने गरेकाले राजधानीको सुरक्षा केन्द्र मातहत राख्ने गरी विधेयक संशोधन गरिएको बताए ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र कहिलेकाहीँ अस्वभाविक सुरक्षाका चुनौतीलाई बहन गर्नुपर्ने हुन्छ”, उनले भने, “उपत्यकाभित्रको सुरक्षा पनि प्रदेश प्रहरीको समन्वयमा संघीय प्रहरीले लिन्छ ।” उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीले गर्ने भन्दैमा सरकारलाई संघीयता विरोधीका रुपमा चित्रित गर्न नहुने बताए । उनले नेपाल प्रहरीसँग भएको क्षमता, विशेषज्ञतालाई उपयोग गर्न सकियोस् भनेर विधेयक ल्याइएको भन्दै प्रदेश प्रहरीलाई कमजोर नबनाइने बताए । 

‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले प्रज्वलनशील पदार्थको आक्रमण रोक्न आवश्यक भएकाले ऐन संशोधनको प्रस्ताव गरिएको बताए । 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदलाई राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम यही असार २९ गते अपराह्न २ बजेभित्र संशोधन प्रस्ताव दर्ता गर्न आग्रह गरे । 

त्यसअघि राष्ट्रियसभाले सांसद अनिता देवकोटा प्रस्तावक तथा गङ्गाकुमारी बेलबासे र जयन्तीदेवी राई समर्थक रहेको विधेयकमाथिको संशोधनको सूचनासम्बन्धी प्रावधान निलम्बनको प्रस्ताव स्वीकृति गरेको थियो । प्रस्तावमा विशेष कारणवश ‘विधेयकमा संशोधनको सूचनासम्बन्धी प्रावधान’ उक्त विधेयकका हकमा लागू गर्न नसकिने भएकाले आज अपराह्न २ देखि भोलि अपराह्न २ बजेसम्म कायम रहने गरी नियम निलम्बन गरिने उल्लेख छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १०६ को उपनियम (१) बमोजिमको ७२ घन्टाको संशोधनको अवधिलाई छोट्याइ २४ घन्टा कामय गर्न सकिने व्यवस्था छ । राष्ट्रियसभाको अर्को बैठक यही असार ३० गते बिहीबार बिहान ११ बजे बस्नेछ । रासस


Author

थप समाचार
x