संविधानको मर्मअनुसार नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री खाण
काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपाली नागरिक नागरिकता पाउने अवस्थाबाट वञ्चित नहुने र गैरनेपाली नागरिकले नागरिकता नपाओस् भन्ने अवधारणाका साथ विधेयक पेस भएको जानकारी दिए ।
`कुनै पनि गैरनेपालीले नागरिकता नपाओस्, नेपाली नागरिकले नागरिकता पाउनबाट वञ्चित नहोस् । नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने पर्दछ, यो संविधानको मूल अवधारणा हो । कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गरिँदैन भन्ने संविधानको भावना छ । सोही अवधारणाका आधारमा विधेयक अगाडि बढाइएको छ ।` उनले भने।
नेपाली नागरिक नागरिकताको अधिकारबाट वञ्चित नहोस् भन्ने सरकारको प्रतिबद्धता रहेको जनाउँदै उनले संविधानलाई आधार मानेर नै विधेयक अगाडि बढाइएको बताए । `संविधान परिवर्तनीय छ, त्यसको आफ्नो प्रक्रिया र पद्धति छ, समय आएपछि संविधान पनि परिस्कृत हुँदै जान्छ`, गृहमन्त्री खाणले भने, `जबसम्म संविधानमा जे प्रावधान र जस्तो व्यवस्था छ, त्यो व्यवस्थाको आधारशिलामा उभिएर विधेयक ल्याउनुपर्ने हुन्छ, सोही आधारमा ऐन बनाउनुपर्छ ।`
संविधानको भाग २ मा रहेको नागरिकतासम्बन्धी प्रावधानको आधारमा रहेर तथा संविधानका आधारभूत प्रावधानलाई ध्यानमा राखेर विधेयक बनाइएको उनले स्पष्ट पारे । लामो समयदेखि नागरिकताविहीन भएर जीवनयापन, व्यवसाय सञ्चालन, अध्ययन तथा यात्रामा असुविधा व्यहोर्दै आएका नेपालीलाई छिटो नागरिकता दिने उद्देश्यले सरकारले विधेयक प्रस्तुत गरेको गृहमन्त्री खाणले जानकारी दिए ।
`सबै नेपालीले नागरिकता प्राप्त गरून् भन्ने सबैको साझा संकल्प हो`, उनले भने, `सबै सांसदको सक्रिय सहभागिता, रचनात्मक सहयोग र सकारात्मक भावनाले विधेयक पास भएर कार्यान्वयनमा जानेछ, कार्यान्वयनका क्रममा आएका समस्यालाई फेरि सम्बोधन गर्दै लगिनेछ ।`
सो प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैरनेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुने बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया