प्रतिनिधि सभा शून्य समय : कुन सांसदले के भने ?
काठमाडौँ - प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले वर्षा याममा हुने सवारी दुर्घटना कम हुनेगरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेकी छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य पन्तले वर्षायामदेखि दशैँ, तिहारसम्ममा धेरै सवारी दुर्घटना हुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
‘अझै पनि केही ठूलो दुर्घटना भएमा यसको टालटुले समाधानको लागि निर्देशन गरेको सुनिन्छ । वर्षायामसँगै दुर्घटनामा वृद्धि हुँदै दशैँ, तिहारसम्म यसको उच्च बिन्दुमा पुग्छ,' उनले भनिन्, 'यो सामाजिक र जनस्वास्थ्य समस्याको दिगो समाधानका लागि केन्द्र वा संघ कुन निकाय जिम्मेवार हो ? त्यसको संरचनागत प्राविधिक क्षमता के छ ? प्रदेशस्तरमा सडक दुर्घटना रोक्न कुन–कुन निकाय जिम्मेवार छन् ? तिनका कार्यरत जनशक्ति, प्राविधिक क्षमता, आवश्यक स्रोत व्यवस्थापनको स्थिति के छ ? के ले अवरोध गरिरहेको छ ? यी प्रश्नहरूको अविलम्ब उत्तर आउनेगरी आगामी दशैँ, तिहारमा दुर्घटना कम भएको महशुस हुनेगरी काम गर्न निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्दछु ।’
प्रतिनिधि सभा सदस्य दिल कुमारीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट राजीनामा दिएर नेकपा(एमाले)को संगठन बनाउन लाग्न आग्रह गरिन् । ‘राष्ट्रबैंकको गर्भनरलाई कानून र नैतिकताको प्रश्न उठ्न बित्तिकै राजीनामा दिएर एमाले पार्टीका संगठन बनाउन सहयोग गरे राम्रो हुन्थ्यो,' उनले भनिन् ।
प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले पेट्रोलियम पदार्थ र सवारी चालकको खर्च कटौती गरी सार्वजनिक यातायात प्रयोग गर्नुपर्नेमा जोड दिइन् । उनले बजारका नाफाखोरहरूलाई सरकारले नियन्त्रण लिनु आवश्यक रहेको बताइन् । ‘सरकारले चनाखो भई बजारमा नाफाखोरहरूलाई कन्ट्रोल गर्नु आवश्यक छ भने अर्कोतर्फ सबै सचेत जनताले खर्च कटौती गर्न अति आवश्यक छ,' उनले भनिन्, 'सबैले सरल जीवन बिताऔँ । सार्वजनिक यातायात प्रयोग गरौँ । महंगो पेट्रोलियम पद्धार्थ र सवारी चालकको खर्च कटौती गरौँ ।’
प्रतिनिधि सभा सदस्य दीपकप्रकाश भट्टले गेटामा प्रश्तावित मेडिकल कलेज वा प्रतिष्ठानको कुरा नगरी सो पूर्वाधारमा राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए । ‘गेटामा प्रस्तावित भएको मेडिकल कलेज वा प्रतिष्ठानको कुरा नगरीकन त्यहाँ ८० बिगाहामा तयार रहेको पूर्वाधारमा अब राष्ट्रिय चिकित्सा विश्वविद्यालय स्थापनाका लागि म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु,' उनले भने ।
प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले दूर दराजमा रहेका बिरामीहरुलाई उपचारका लागि सोही ठाउँमा आइसियु र भेन्टिलेटर सञ्चालन गराउन सरकारको ध्यानाकर्षण गराइन् । ‘दूर दराजमा रहेका बिरामीहरूलाई उपचारका लागि सोही ठाउँमै आइसियु र भेन्टिलेटर सञ्चालन गर्नका लागि यथाशिघ्र सञ्चालन गर्नका लागि सरकारको गम्भिर ध्यानाकर्षण गर्दछु,' उनले भनिन् ।
प्रतिनिधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले न्यायलयको न्यायालयको न्याय सम्पादन गर्ने शैली पुरानो भएकाले न्यायमा जनताको पहुचँ पुग्न नसकेको बताइन् । उनले उच्च स्तरीय न्यायिक सुधार आयोग गठन गर्न माग गरिन् ।
प्रतिनिधि सभा सदस्य प्रकाश रसाईली स्नेहीले समाजमा पछि पारिएका समुदायलाई समयमै न्याय दिलाउनका लागि तत्काल उच्चस्तरिय न्यायिक सुधार आयोग गठन गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया