संसद्

मूल्यवृद्धिका कारण जनताको जनजीवन निकै कष्टकर हुँदै गयो : सांसद ज्ञवाली

इकागज |
साउन ५, २०७९ बिहीबार १५:३० बजे

फाइल फोटो

काठमाडौँ - सांसद प्रदीपकुमार ज्ञवालीले खाद्यपदार्थमा ४० प्रतिशत मूल्यवृद्धि भएको हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको बैठकको विशेष समयमा उनले खाद्यपदार्थ, पेट्रोल, डिजेल, निर्माण सामग्रीलगायतमा मूल्य वृद्धिका कारण जनताको जनजीवन निकै कष्टकर हुँदै गएको र मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । 


`गरिबीको रेखामुनि रहेका जनतालाई राहत दिन सुपथ मूल्यका पसल खोल्न सकिन्छ, मूल्यवृद्धिको अनुगमन गर्न सकिन्छ`, उनले भने, `गलत गर्नेलाई कारबाही गर्न सकिन्छ, अचाक्ली ढङ्गले मूल्य बढिरहेको छ ।` उनले १७ प्रतिशत गरिबीको रेखामुनि रहेका जनताको जनजीवनलाई ध्यानमा राखेर सरकारले काम गर्नुपर्ने बताए । 

`किसानको हातमा मल छैन, पढाइ भएको तीन महिना भएको विद्यालयमा पाठ्यपुस्तक छैन`, उनले भने, `सरकारले मूल्य नियन्त्रणका विषयमा ध्यान दिन सकेन, जनतालाई परेको मर्कामा सदनले पनि बोल्नुपर्छ ।` उनले मूल्यवृद्धि नियन्त्रण गर्ने विषयमा सभामुखले सरकारका नाममा रुलिङ गर्न आग्रह गर्दै किसानका लागि मल र विद्यार्थीका लागि पाठ्यपुस्तकको समस्या तत्काल समाधान गर्न माग गरे । 

सांसद ज्ञवालीले जनताले गुणस्तरीय पानी पिउन नपाउँदा जारको पानी किनेर खानुपर्ने बाध्यता बढ्दै गएको र  मेलम्ची वर्षायामका कारण धमिलो भएकाले पानीमा समस्या देखिएको बताए । उनले खाद्य सामग्रीमा गुणस्तर परीक्षण गर्न, कृत्रिम अभाव, सिन्डिकेट र कार्टेलिङ हटाउन साथै दैनिक ज्यालादारीको ज्यालामा वृद्धि गर्न समेत सरकारसँग माग गरे । 


Author

थप समाचार
x