संसद्

भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्नु हुँदैन : दुर्गा पौडेल

इकागज |
साउन ६, २०७९ शुक्रबार १४:३८ बजे

काठमाडौँ- राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रबार संसद बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो ध्यानाकर्षण गराएकी हुन् ।  उनले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्‍ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताइन् ।


सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने जिकिर गरिन् । उनले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गरिन् ।

सांसद पौडेलले अंगीकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताइन् । उनले कुनै पनि देशले आफ्नो भौगोलिक अवस्था, सिमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने हरेक देशको आ-आफ्नो प्रचलन रहेको सुनाइन् । सांसद पौडेलले वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुने जिकिर गरिन् ।

उपाध्यक्ष पौडेलले बुबा र आमा दुबै वंशजका छन् भने त्यो नागरिकले मात्रै वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताइन् ।


Author

थप समाचार
x