संसद्

नागरिकता विधेयकमाथि छलफल जारी

इकागज |
भदौ २, २०७९ बिहीबार १५:३६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफल जारी छ । 

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन विधेयक, २०७९) का सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।


सांसद अनिलकुमार झाले युवाको भविष्यलाई हेरेर नागरिकताबाट बञ्चित गर्न नहुने भन्दै बाबु र आमा नेपाली नागरिक भएर पनि नागरिकता नपाउँदा राज्यविहीन हुने अवस्था भएको बताए । 

सांसद डा भीमबहादुर रावलले राष्ट्रियताको रक्षाका लागि राष्ट्रपतिले आफ्नो संवैधानिक कर्तव्य पूरा गरेको भन्दै नागरिकता जस्तो विषय गठबन्धनको घोषणाले नहुने तर वास्तविक नेपाली नागरिकता पाउनुपर्नेमा सबैको मत भएको धारणा राखे । 

सांसद महेश बस्नेतले नागरिकलाई नागरिकता दिने विषयमा कुनै पनि समस्या नभएको तर तेस्रो मुलुकका व्यक्तिले नेपाली नागरिक विवाह गर्दा नागरिकता लिएर यहाँ बस्छ भन्ने सोच्न नहुने धारणा राखे । 

सांसद तेजुलाल चौधरीले नागरिकताका कारणले पढ्न, विदेश जान, बैंक खातासम्म खोल्न नपाएर भविष्य अन्योलमा परेको हुनाले विधेयक पास गर्नुपर्ने तर नागरिकताको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताए । 

सांसद गणेश पहाडीले आफैँले बनाएको संसद्को विनियमावलीलाई प्रयोग गरेर यो विधेयकलाई समितिमा लगी छलफल गरेर मात्र पास गर्नुपर्ने धारणा राखे । 

सांसद राधाकुमारी ज्ञवालीले राष्ट्रलाई फसाउने तरिकाले गठबन्धन सरकारले विधेयक ल्याएको र फिर्ता आएपछि पनि छलफल नै नगरी पास गर्न खोजेको आरोप लगाए । नागरिकता विधेयकमाथि सांसदहरुले धारणा राख्ने क्रम जारी छ । 
रासस


Author

थप समाचार
x