प्रधानमन्त्री र शिक्षामन्त्रीले विश्वविद्यालयलाई बन्द गराएर के गर्न खोज्नु भएको हो ?
काठमाडौँ- नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल विश्वविद्यालयको समस्या समाधान गर्न नलागेकाे बताएका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गिरीले त्रिभूवन विश्वविद्यालय अझै पनि बन्द अवस्थामा रहेको बताए । नेपाल विद्यार्थी संघले भिसीको कार्यालयमा गएर तोडफाेड गर्ने तथा त्रिवि कार्यकारी समिति बैठकको कागजात खोस्नेलगायतका कामहरू गरिरहेको भन्दै उनले दोषी उपर मुद्दा दर्ता समेत हुन नसकेको उल्लेख गरे ।
उनले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले गरेको रुलिङ अनुसार काम नभएको भन्दै आपत्ति जनाए ।
सांसद गिरीले प्रधानमन्त्री र शिक्षामन्त्री विश्वविद्यालय खुलाउनतर्फ नलागेको आरोप लगाए । उनले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई विश्वविद्यालय बन्द गराएर देशलाई कहाँ पुर्याउन खोजिएको हो भन्दै प्रश्न समेत गरे । उनले विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखलाई पुनः रुलिङ गर्न अनुरोध पनि गरे ।
उनले भने, ‘आज सम्पूर्ण त्रिभूवन विश्वविद्यालयका पदाधिकारी असुरक्षित भएका छन् । फोन अफ गरेका छन् । घरमा सुत्न नसक्ने अवस्था भयो डरले । छिमेकीकोमा गएर सुत्नुपर्ने अवस्था आएको छ । यस्तो दुरावस्था विश्वविद्यालयभित्र छ । यसतर्फ फेरि म ध्यानाकर्षण गराउन चाहन्छु । प्रधानमन्त्री, शिक्षामन्त्रीनै स्वयम विश्वविद्यालयलाई बन्द बनाएर यो मुलुक कसरी सञ्चालन गर्न खोज्नुभएको हो ? विश्वविद्यालयलाई बन्द बनाएर यो देशलाई कहाँ पुर्याउन खोज्नु भएको हो ?’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया