संसद्

निर्वाचनमा श्रीमान् र श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्छ

इकागज |
भदौ १७, २०७९ शुक्रबार १५:६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान् र श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लामाले यस्ताे बताएका हुन् । उनले श्रीमान् र श्रीमती दुवैजना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गरे ।


त्यस्तै सांसद लामाले नेपाली भूमि लिपुलेक कहिले फिर्ता आउँछ ? भनि सरकारलाई प्रश्‍न समेत गरे ।

उनले भने, ‘म अहिलेको सरकारलाई पनि सोध्न चाहान्छु, लिपुलेक हाम्रो जमिन हो । त्यो छिमेकीसँग वार्ता गरेर जमिन कहिले फिर्ता आउँछ ? म सोध्न चाहन्छु । श्रीमान प्रत्यक्ष टिकट पायो भने श्रीमती समानुपातिकमा, श्रीमान समानुपातिकमा भए श्रीमती प्रत्यक्षमा हुने परिपाटी हटाउनुपर्छ । किनभने श्रीमान्, श्रीमती दुवै सांसद हुँदा अरु हरेक पार्टीका कार्यकताहरूले टिकट नपाउने र त्याग तपस्यालाई सधै समस्या परिरहने । निर्वाचन आयोगले नियमावली संशोधन गरेर अब श्रीमान् र श्रीमती दुईटै उम्मेदवार भए खारेज गर्ने नियम बनाउनुपर्छ ।’

यस्तै समय माग गरी बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले मिटरब्याजीहरू धमाधम पक्राउ परिरहेको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरे । उनले मिटरब्याजीहरूको मुद्दालाई कमजोर नबनाउन सरकारसँग आग्रह गरे।

उनले मिटरब्याजीहरूलाई कारबाही गर्ने सम्बन्धमा केही कानुनी अड्चन पनि देखिएको भन्दै सो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।


Author

थप समाचार
x