संसद्

सांसदहरूको गुनासो : कोभिड-१९ नियन्त्रणमा सरकार उदासिन देखियो !

इकागज |
बैशाख ८, २०७८ बुधबार १८:५४ बजे

काठमाडौँ : कोभिड–१९ संक्रमणको दोस्रो लहर तिव्र गतिमा भित्रिएको र यसको नियन्त्रणमा सरकारले उदासिनता देखाएको सांसदले बताएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बुधबार सांसदहरूले कोभिड रोकथाम, न्यूनीकरण तथा व्यवस्थापनको काममा सरकारले उदासिनता देखाएको बताएका हुन् । 

कोभिडको अघिल्लो लहरमा भएका कमीकमजोरी र अनुभवबाट पाठ सिकेरअघि बढ्नुपर्ने भएपनि हालसम्म कोभिड–१९ को व्यवस्थापनको सम्बन्धमा सरकार पहिलेकै अवस्थामा रहेको सांसदको भनाई छ । सांसद जीवनराम श्रेष्ठले सरकार संवेदनशील बन्न नसक्नु आश्चर्यको कुरा भएको बताए । अस्पतालको अवस्था अझै सुधार नभएको भन्दै उनले सरकार आफैले पनि जनस्वास्थ्यको मापदण्ड पालना नगरेको बताए ।


सांसद अञ्जना विशंखेले दिर्घकालीन रोगका विरामीका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्नुपर्ने बताए । विगतमा क्वारेन्टिनका खानाका कारण समस्या भएको भन्दै आगामी दिनमा सुधार्नुपर्ने बताए । कोरोना नियन्त्रणका लागि तीन तहका सरकारबीचमा समन्वय हुन नसकेको पनि बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले कोरोना संक्रमणदर वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा २ हजार आइसोलेसन बेड सञ्चालनमा ल्याइएको बताए । यस्तै सातवटै प्रदेशमा जम्मा २ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्न सूचित गरिएको पनि उनले जानकारी दिए । 

आइसोलेसन बेडलाई अस्पतालसँग जोडिने पनि बताए । केन्द्र सरकारले २ सय वटा भन्दा बढी भेन्टीलेटर जोडेको तथा प्रत्येक प्रदेशले ३० देखि ५० वटा भेन्टीलेटर किनेर राखेको पनि उनले बताए । केन्द्र सरकारले ४ सय भन्दा बढी आइसियु बेड थपेको र प्रदेश सरकारले २ सय देखि २ सय ५० वटा सम्म आइसियु बेड थपेको जानकारी गराए । आवश्यक औषधि र अक्सिजन भारत अथवा बंगलादेशबाट ल्याउने तयारी पनि गरिरहेकोसमेत उनले बताए । 

प्रमुख विशेषज्ञ पोखरेलले अझैपनि जनस्वास्थ्यका मापदण्ड पालना हुन नसकेको बताए । कोरोना नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय र अन्यले हेर्ने दृष्टिकोणमा फरक परेको पनि उनको भनाई छ । अहिलेको अवस्था गम्भिर भएकाले लकडाउन गर्ने अथवा विशेष क्षेत्र तोकेर लकडाउन गर्ने भन्ने विषयमा पनि भोलिको दिनमा सोच्नुपर्ने उनले बताए ।


Author

थप समाचार
x