संसद्

लुम्बिनीमा सरकार गठनको रस्साकस्सी सुरु

एमाले गठबन्धन भन्दा सत्ता गठबन्धनलाई सजिलो

इकागज |
मंसिर २५, २०७९ आइतबार १९:४३ बजे

फाइल तस्बिर

बुटवल- लुम्बिनीमा ८७ सदस्यीय प्रदेश सभा सदस्यको टुंगाे लागेसँगै सरकार गठनको चर्चा सुरु भएको छ । लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ प्रदेश सांसद छनोट हुने संवैधानिक व्यवस्था रहेकाे छ । प्रत्यक्ष र समानुपातिक सदस्यको टुंगाे लागेसँगै दलहरू सरकार गठनको जोडघटाउमा लागेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा २९ सिट जितेर नेकपा एमाले पहिलो बनेको छ । तर, सत्ता गठबन्धन बाहिरका सबै दल राप्रपा, नागरिक उन्मुक्ति, जनमत र जसपाको समर्थनमा पनि सरकार गठन गर्न आवश्यक बहुमत एमालेलाई पुग्दैन । एमालेका २९, जसपा ३, राप्रपा ४, जनमत ३,नागरिक उन्मुक्ति ४ गरी ४३ सांसद मात्रै पुग्छन् ।


सरकार गठनका लागि ४४ जना सांसद आवश्यक पर्छ।  त्यसो त गठबन्धनसँग पनि लुम्बिनीमा बहुमत छैन । गठबन्धनका ४१ जना मात्रै सांसद छन् । कांग्रेसका २७, माओवादी केन्द्रका ९, लोसपाका ३, एकीकृत समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ गरी गठबन्धनसँग ४१ सांसद मात्रै छन् । सत्ताका लागि स्वतन्त्र ३ जना सांसद निर्णायक हुने देखिन्छ । उनीहरू तीनै जनाको विगतको पृष्ठभूमि माओवादी हो । गठबन्धनले साना दलहरूको समर्थन जुटाउन सके गठबन्धनकै सरकार बन्ने देखिन्छ भने एमालेले गठबन्धन बाहेकका दलसँग मिलेर स्वतन्त्र सांसदलाई आफ्ना पक्षमा उभ्याउन सके एमालेको सरकार बन्ने सम्भावना पनि लुम्बिनीमा छ ।

लुम्बिनीमा समानुपातिकतर्फ एमालेले ११, कांग्रेस १०, माओवादी केन्द्र ४, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नागरिक उन्मुक्ति पार्टी २, जनमत पार्टी २, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले १/१ गरी ३५ सिट प्राप्त गरेका छन् । लुम्बिनी प्रदेश सभामा १० दलको प्रतिनिधित्व रहेको छ ।

कांग्रेसका समानुपातिक १० मध्ये ९ महिला

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सभाका १० समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको छ । प्रत्यक्षतर्फ १७ क्षेत्र जितेको कांग्रेसले समानुपातिकतर्फ १० सांसद पाएको छ । जसमध्ये खसआर्यबाट जमुना ढकाल (रूपन्देही), निमा गिरी (प्युठान) र मालती सोडारी (बर्दिया) रहेका छन् ।

यस्तै जनजातितर्फ धनलक्ष्मी श्रेष्ठ (प्यूठान), माया पुन (बाँके) रहेका छन् । यसैगरी थारूबाट देवीप्रसाद चौधरी (रूपन्देही) र सञ्जुकुमारी चौधरी (बाँके) रहेका छन् । मधेशीतर्फ सुशीला बादी (दाङ), दलिततर्फ लोकीकुमारी बिक (दाङ) र मुस्लिमतर्फ मीनाकुमारी सिद्दिकी (बाँके) रहेका छन् ।

यी हुन् एमालेका ११ प्रदेश सदस्य

प्रत्यक्षतर्फ १८ सिट जितेको एमालेले समानुपातिकमा ११ सिट पाएको छ । एमालेबाट खसआर्य महिलातर्फ जानकी न्यौपाने (रूपन्देही), वसन्ती न्यौपाने (बाँके) चयन भएका छन् ।

आदिवासी जनजाति महिलाबाट सरिता पुन, (रुकुम पूर्व) , यमुना रोका तामाङ (रोल्पा) चयन भएका छन् । त्यस्तै थारूबाट सीता चौधरी (दाङ), भगवतीकुमारी थरूनी (रूपन्देही), दलिततर्फ इन्द्रकुमारी गहतराज (पाल्पा), यसैगरी रेखाकुमारी शर्मा (दाङ), मधेशीतर्फ शान्ति लोध (रूपन्देही), (अल्पसंख्यक) र मुस्लिमतर्फ रासा बानु (बाँके) र खसआर्य पुरुषमा गिरिधारीलाल न्यौपाने (कपिलवस्तु) रहेका छन् ।

माओवादीमा २ पुरुष, २ महिला 

माओवादी केन्द्रबाट २ महिला र २ पुरुष समानुपातिबाट सांसद बनेका छन् । खसआर्यतर्फ भक्तिप्रसाद आचार्य (अर्घाखाँची),  जनजातितर्फ दिलकुमारी बुढा (रुकुमपूर्व) थारूतर्फ कृष्णा थारू (बर्दिया) र दलिततर्फ यमबहादुर नेपाली (गुल्मी) रहेका छन् ।

राष्ट्रिय जनमोर्चाबाट गुल्मीकी तारा थापा सिफारिस भएकी छिन् । राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा गुल्मी कालीगण्डकी गाउँपालिकाकी पूर्व उपाध्यक्ष थापा जनमोर्चाको लुम्बिनी प्रदेश समानुपातिक सांसद कोटाबाट प्रदेश सांसदमा सिफारिस भएकी हुन् । त्यस्तै जनता समाजवादी पार्टीबाट अम्बिका काफ्ले (बर्दिया), नागरिक उन्मुक्ति पार्टीबाट निर्मलाकुमारी थारू चौधरी (रूपन्देही) र नोरीकुमारी चौधरी (बाँके) रहेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारी घिमिरे (रूपन्देही), जनमत पार्टीबाट सुमन रायमाझी (बर्दिया) र गीता गुरुङ (रूपन्देही रहेका छन् । त्यस्तै लोसपाबाट हेमा बेल्वासे केसी, राप्रपाबाट मेनुका खाँण (गुल्मी) र जनजातितर्फ मीनाकुमारी श्रेष्ठ बाँके रहेका छन् ।

लुम्बिनीमा १० दलको सहभागिता

लुम्बिनी प्रदेश सभामा १० राजनीति दलको सहभागिता हुने भएको छन् । प्रत्यक्षमा ८ वटा दलले मात्रै चुनाव जिते पनि समानुपातिकतर्फ थप २ दलले ‘थ्रेस होल्ड’ कटाएर एक/एक सिट पाउने भएपछि प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको हो । लुम्बिनीमा ३२ दलले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए ।


Author

थप समाचार
x