संसद्

प्रदेश १ : प्रदेश सभामा झापाबाट २१ सांसद, समानुपातिकमा पनि झापाकै वर्चश्व

बाबुराम भण्डारी |
मंसिर २५, २०७९ आइतबार २०:४ बजे

विराटनगर- प्रदेश १ को प्रदेश सभाका समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने ३७ जना सांसदहरूमा सबैभन्दा धेरै झापा जिल्लाबाट ११ जना परेका छन् । ९३ सदस्यीय प्रदेश सभामा झापाबाट प्रत्यक्ष निर्वाचित १० जनासहित कूल २१ जना सांसदको वर्चश्व कायम हुने भएको हो ।

झापापछि मोरङबाट २० जना प्रदेश सभा सदस्य बनेका छन् । प्रत्यक्ष निर्वाचित १२ र समानुपातिकबाट ८ जनाले मोरङ जिल्लाको प्रतिनिधित्व गर्ने भएका छन् । सुनसरीबाट ८ प्रत्यक्ष र ७ समानुपातिक गरी १५ तथा उदयपुरबाट ४ प्रत्यक्ष र ४ जना समानुपातिक गरी ८ जना सांसद चयन भएका हुन् ।


दलहरूले प्राप्त गरेको समानुपातिक मतका आधारमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदको संख्या निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको थियो । जसअनुसार सबैभन्दा धेरै नेकपा एमालेबाट १५ जना समानुपातिक सांसद चुनिएका छन् । प्रदेश १ मा नेपाली कांग्रेसबाट १२, माओवादी केन्द्रबाट ४, राप्रपाबाट ४, जनता समाजवादीबाट १ र नेकपा (एकीकृत समाजवादी) बाट १ जना सांसद समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएका छन् ।

नेपाली कांग्रेसले झापाबाट मोहन महर्जन, लखीकुमारी गणेश, उद्धव थापा, खगेश्वरी पौडेललाई समानुपातिक सांसद चयन गरेको छ । झापाबाटै नेकपा एमालेले तारादेवी ढकाल, कमला थापा मगर र नम्बरलाल धिमाल, राप्रपाबाट निम्सरी राजवंशी, अम्बरबहादुर बिष्ट र गोपालबहादुर विश्वकर्मा चयन भएका छन् । माओवादी केन्द्रले झापाबाट बन्दना झाँगडलाई समानुपातिक सांसद बनाएको हो ।

मोरङबाट कांग्रेसले एक जनालाई मात्रै समानुपातिक सांसद बनाएको छ । शोभा चेम्जोङ पालुङ्वाले कांग्रेसबाट मोरङको प्रतिनिधित्व गरेकी हुन् । नेकपा एमालेले मोरङबाट मात्रै पाँच जनालाई समानुपातिक सांसद बनाएको छ । मोरङकी शिला दीक्षित कार्की, मालतीकुमारी लिम्बू, ललिताकुमारी चौधरी, गीतारानी महतो र नुसदी बेगम एमालेबाट समानुपातिक सांसद बनेका हुन् ।

मोरङकै विद्या चाम्लिङ राई नेकपा (एकीकृत समाजवादी) र गीता तिम्सिना माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य चयन भएकी हुन् ।

सुनसरीबाट कांग्रेसकी ममता मगर तामाङ, सुनिता गच्छदार चौधरी र सुनिताकुमारी गुरुङ तथा एमालेकी मीना श्रेष्ठ, नीरादेवी खनाल र लहरूमाया जिमी याक्खा प्रदेश सभा सदस्य चयन भएका छन् । माओवादी केन्द्रले सपना दर्जीलाई सुनसरीबाट प्रदेश सभा सदस्य चयन गरेको हो ।

उदयपुरबाट चयन भएका चारजना मध्ये नेपाली कांग्रेसबाट लिलाकुमारी राई, नेकपा एमालेबाट गीतादेवी रेग्मी र सिर्जना दनुवार तथा माओवादी केन्द्रकी सम्झना तामाङ थाम्सुहाङ रहेका छन् ।

पाँचथरबाट कांग्रेसले मैयाँ श्रेष्ठ लावती तथा राप्रपाले प्रेमराज थाम्सुहाङलाई प्रदेश सभा सदस्यमा चयन गरेको हो । त्यसैगरी कांग्रेसले सोलुखुम्बुकी डोल्मा तामाङ र धनकुटाकी इन्दिरा थापालाई समानुपातिक सूचीबाट प्रदेश सभा सदस्य चयन गरेको छ । 

एमालेले भोजपुरबाट सिर्जना राई र तेह्रथुमकी कमला दर्नाललाई प्रदेश सभा सदस्य चयन गरेको हो । प्रदेश सभामा समानुपातिकबाट एक सिट पाएको जनता समाजवादी पार्टी (जसपा) बाट ताप्लेजुङकी निर्मला लिम्बूलाई सांसद चयन गरेको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x