नवनिर्वाचित सांसदहरूलाई 'नाति जर्नेल' जबराले शपथ गराउने
काठमाडौँ - प्रतिनिधिसभाका निर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद 'नाति जर्नेल' पशुपति शमशेर जबराले शपथ ग्रहण गराउने भएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार नेता जबराले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतले नव निर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको जानकारी दिए ।
उनका अनुसार पुस ७ गते बिहीबार अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शपथग्रहण कार्यक्रम तय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य जबरालाई शपथ ग्रहण गराएपछि मात्रै उनले अन्य सांसदहरूलाई शपथ गराउने उनले बताए । ‘हामीले ऐन, कानुन र संविधानमा मा व्यवस्था भए अनुसार शपथ गरेर मात्रै संसदीय गतिविधिहरू गर्नुपर्ने भएकाले सर्वप्रथम ज्येष्ठ सदस्यको पहिचान गरेर जेष्ठ सदस्यलाई राष्ट्रपतिज्यूसँग शपथग्रहण गराउने कार्यक्रम छ । त्यो पुस ६ गते राष्ट्रपति कार्यालयमा कार्यक्रम तय गरिएको छ,' उनले भने, 'त्यसपछि ७ गते सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई हामी सूचना गरिसकेका छौं । १ बजे बानेश्वरस्थित संसद् हलमा शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । उपलब्ध प्रमाणका आधारमा राप्रपाका नेता माननीय पशुपति शमशेर जबरा हुनुहुन्छ । उहाँमार्फत् शपथग्रहण गराउने कार्यक्रम अगाडि बढाईसकेका छौं । उहाँको जन्म मिति १९९८ मंसिर २४ गतेको छ । त्यो हामीले नागरिकताको आधारमा पहिचान गरेका हौं । उहाँबाहेक विगतमा नागरिकता प्रमाणको आधारमा माननीय महिन्द्रराय यादवको हुनुहुन्थ्यो । तर उहाँ अघिल्लो पटक पनि शपथग्रहण गराउने बेलामा उपस्थित नहुनु भएकाले हामीले माननीय पशुपति शेमशेर जबराले शपथ गराउने गरी हामीले कार्यक्रम तय गरेका छौं ।’
नागरिकतामा उल्लेख भए अनुसार ८१ वर्ष भएका जबराको विक्रम संवत १९९८ मंसिर २४ गते जन्म भएको थियो । सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव नागरिकतामा ८५ वर्ष पुगे पनि नागरिकतामा आफ्नो जन्ममितिमा त्रुटि भएको उल्लेख गर्दै २०७४ सालमा पनि नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रममा अनुपस्थित भएका थिए । उनी अहिले पनि नआउने भएपछि नेता जबराबाट नै ज्येष्ठ सदस्यको रुपमा शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको पनि संघीय संसद सचिवालयले स्पष्ट पारेको छ ।
संसद् सचिवालयले मातृभाषामा शपथ लिने व्यवस्था पनि गरेको छ । मातृ भाषामा शपथ लिन चाहने सांसदहरूलाई शपथ ग्रहणको ढाँचा विवरण अनुसार त्यसलाई मातृभाषामा उल्था गर्न पत्राचार गरिएको छ ।
शपथ ग्रहण गराउनु ३ दिनअघि नै सो उल्था गरिएको शपथग्रहणको कपी संसद् सचिवालयमा सांसदहरूले पेश गर्नुपर्ने हुन्छ । प्रवक्ता पाण्डेले अहिले मातृभाषामा शपथ लिन चाहने सांसदहरूको विवरण संकलनको काम भइरहेको बताए ।
गत मंसीर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना गरी २७५ जना सांसदहरू निर्वाचित भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया