संसद्

राष्ट्रपतिबाट नाति जर्नेलले भोलि शपथ लिने

इकागज |
पुस ५, २०७९ मंगलबार २१:३९ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति सम्सेर जबरा  'नाति जर्नेल'लाई पद तथा गोपनीयतको शपथ दिलाउनेछिन् । 

राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लागेका हुन् । नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते  रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । 


प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई  शपथ दिलाउनेछन् । सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नव निर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउनु हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधानअनुसार संघीय संसद्का सदस्यले सदन वा त्यसको कुनै पनि समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्छ भन्ने व्यवस्था छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा एक सय १० गरी दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । 

प्रनिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको  मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 
रासस


Author

थप समाचार
x