संसद्

पदभार ग्रहण गर्दै 'नाति जर्नेल'ले भने - मुलुकको अभिभावक बनेर काम गर्छु

इकागज |
पुस ६, २०७९ बुधबार १६:७ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सभामुखको पदभार ग्रहण गरेका छन् । 

बुधवार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य सभामुख जबराले राष्ट्रपति निवासमा पुगेर ज्येष्ठ सदस्यको हैसियतले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । 


त्यसलगत्तै सभामुखको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले सभामुखको भुमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताए । 

उनले ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भुमिकालाई निष्पक्ष राख्ने बताए ।  प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलहरुबीच समन्वयात्मक भुमिका निर्वाह गर्नेपनि बताए । 

उनले सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम आफूले गर्ने प्रतिवद्धता जनाए । 

उनले भने, ‘सभामुखको भुमिका स्पष्ट छ । तटस्थ हुनुपर्छ । देशको भलोको लागि सबैको बीचमा समन्वयात्मक भुमिका निभाउनु पर्नेछ । सबैसँग समन्वय गरेर अघि बढ्नेछु । सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरुपलाई अघि बढाउने काम गर्नेछु । केही दिनका लागि भएपनि मुलुकको अभिभावकको रुपमा देशलाई अघि बढाउन पहल गर्नेछु ।’

ज्येष्ठ सदस्य सभामुख जबराले पदमा रहुन्जेलसम्म मुलुकको अभिभावक बनेर काम गर्ने बताए । राप्रपाका पूर्वअध्यक्ष समेत रहनुभएका ८१ वर्षीय जबरा प्रतिनिधि सभामा सबैभन्दा बढी उमेरको सांसद हुन् । 

गत मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदहरूलाई बिहीवार जबरा शपथग्रहण गराउनेछन् । संसद्ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्को अध्यक्षता गर्नेछन् । 
 


Author

थप समाचार
x