संसद्

देउवाको विश्वासले जन्माएको अविश्वास

इकागज |
पुस २७, २०७९ बुधबार १२:१७ बजे

काठमाडौँ - इतिहासमा दोस्रोपटक नेपाली संसद् प्रतिपक्षीविहीन हुने देखिएको छ । प्रक्रियागत रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि संसद् प्रतिपक्षीविहीन हुने देखिएको हो । कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि नेपाली राजनीतिमा अर्को एउटा अविश्वास जन्मिएको छ ।

अहिले धरातलमा देखिएको एमाले र माओवादीको गठबन्धन फेरि अस्थिर र केवल स्वार्थको गठजोड मात्रै हुने देखिन्छ । सोमबार साँझ विश्वासको मत माग्न प्रचण्ड देउवा निवास पुगेपछि अनेकौ आँकलन गरिएको थियो ।


त्यसमध्येको एउटा अनुमान थियो, देउवा एमाले र माओवादी गठबन्धन भत्काउन नयाँ चाल चल्नसक्नेछन् । नभन्दै देउवाले २४ घण्टा नबित्दै प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गर्न सफल भए ।

यद्यपी देउवाको त्यो निर्णयमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित चार जना नेताको असन्तुष्टि छ । तर पनि देउवा सत्ताको खेलमा धेरै माहिर देखिन्छन् ।

दुई वर्ष प्रचण्डको सरकारलाई विश्वासको मत दिएर फेरि सत्तामा जानका लागि प्रचण्डलाई नै उपयोग गर्ने निर्णय देउवाको देखिन्छ । किनकी यतिबेला नेपाली राजनीतिमा देउवा, ओली र प्रचण्ड एक अर्कालाई तर्साउँदै छक्याउँदै आफू माथि पर्ने अथवा प्रधानमन्त्री हुने दाउमा मात्रै छन् ।

एमाले र कांग्रेससँग खेल्दै प्रचण्ड फेरि प्रधानमन्त्री बनिरहन चाहन्छन् । दुई वर्ष मात्रै किन कांग्रेसले उनलाई सहयोग गरेमा प्रचण्ड अर्को दुई वर्ष गरेर चार वर्ष प्रधानमन्त्री बन्ने सम्भावना छ ।

त्यतिबेला अहिले जसरी प्रचण्डले कांग्रेसलाई धोका दिएका छन्, त्यसैगरी दुई वर्षपछि एमालेलाई धोका दिएर प्रचण्ड कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने सम्भावना छ । त्यसो हुँदा अहिलेदेखि नै प्रचण्डसँग सम्बन्ध बनाइराख्ने, सघाइराख्ने र भोलि उनैलाई उडाएर सत्ताबाट एमाले हुत्याउने देउवा रणनीति देखिन्छ ।

जसरी तीन वर्षपहिले ओलीले प्रचण्डलाई धोका दिए, अहिले त्यसैगरि प्रचण्डले पनि ओलीलाई धोका दिन सक्छन् । किनकी नेपाली नेताहरू एकपटक कुर्सीमा पुगेपछि त्यो कुर्सीमा सित्तिबित्ती छाड्न चाहदैनन् । त्यो संकेत देउवाले अहिल्यै देखाइरहेका छन् ।

हिजो आफूले कुर्सी छाड्न नमान्दा सत्ता क्षणभरमै गुमेपछि राम्रोसँग चेत खाएका देउवा फेरि सत्ता प्राप्तिका लागि सबथोक गर्न तयार देखिन्छन् । यसैका लागि हो, देउवाले अहिले पार्टीभित्र किचलो सहेर पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरेका छन् । 

यसले अब सत्ता गठबन्धन एमाले र माओवादीभित्रै ठूलो आशंका जन्माएको छ । अनि कुनै पनि बेला एमाले–माओवादी गठबन्धनमा समस्या देखिएको खण्डमा प्रचण्डलाई टेको दिएर सत्तामा उक्लिने स्पष्ट योजना देउवासँग छ ।

सत्तामा रहेपछि केन्द्रदेखि प्रदेशसम्म शक्ति हातमा रहने भएकाले पनि प्रतिपक्षी सिटमा देउवाको छटपटी ठूलो देखिनेछ । त्यसैले पनि देउवाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सत्तामा पुग्न एक कदम अघि बढाएको संकेतका रुपमा बुझ्न सकिन्छ । 

देउवाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिँदा एमालेभित्र गम्भीर आशंका मात्रै जन्माएको छैन, दुई वर्षपछि सरकारको नेतृत्व गर्ने एमालेको सपनामाथि कांग्रेसले ‘कैची’ चलाउने निश्चित भएको छ ।

यसर्थ कुनै पनि दलले स्पष्ट बहुमत नपाउँदा नेपाली राजनीतिमा अब पाइलैपिच्छे अविश्वास जन्मिएको छ । कुन बेला कसको समीकरण बन्छ भन्ने कुरा कसैको नियन्त्रणमा छैन । यसले सरकारप्रति तत्काल नागरिकमा राम्रै सन्देश जाला । 

तर प्रतिपक्षीविनाको संसद् र सरकार कस्तो होला ? कति अराजक बन्ला ? नेताहरू केवल आफ्नो स्वार्थका लागि भित्रभित्रै कुनहदसम्म भागबण्डा गर्छन् भन्ने एउटा परिदृश्य छर्लंगै भएको छ । 
 

 
 


Author

थप समाचार
x