संसद्

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न : प्रधानमन्त्री

इकागज |
चैत ६, २०७९ सोमबार १७:४३ बजे

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हित र प्रक्रियाअनुसार नै अगाडि बढेको र त्यसमा दायाँबायाँ नहुने बताएका छन् । संविधान र नियमानुसार नै सरकार अगाडि बढेको र आफू सोहीअनुसार नै क्रियाशील रहेको उनले स्पष्ट पारे । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा उनले राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्ने उल्लेख गरे । 


प्रधानमन्त्री दाहालले जटिल र अप्ठ्यारो परिस्थितिमा राज्यबाट उत्पीडित वर्ग, समुदाय र तप्कालाई अधिकार सम्पन्न बनाउन योगदान गरेका राजनीतिक दल र नयाँ राजनीतिक दलको योगदान र पुराना अनुभव तथा नयाँको काम गर्ने तरिकाबीच तालमेल गरेर जान जरुरी रहेको बताए । 

आफूहरु एउटा राजनीतिक प्रणालीबाट अर्को प्रणालीमा आएको, राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकताबाट संघीयतामा आएको तथ्य पेस गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक शान्ति सम्झौता, संविधान, गणतन्त्रका साथसाथै लोकतन्त्रमा नयाँ खालको अभ्यास गरिएको स्पष्ट पारे । 

राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर आफूहरु एक ठाउँमा उभिएको उल्लेख गर्दै उनले विचार मिल्ने दलहरुबीच मतैक्य गर्न सकिए विकास र निर्माणको अपेक्षा राखेका जनतालाई केही न केही राहत दिन सकिने लक्ष्यका साथ तत्कालीन नेकपा (एमाले)सँग सहकार्यको हात अगाडि बढाएको बताए । 

विकास र समृद्धिका लागि आफूले तत्कालीन एमालेसँग एकता तथा सहकार्यको प्रस्ताव राखेको भए पनि त्यसलाई जोगाउन नसकिएको र तीन वर्ष पनि टिकाउन नसकेको प्रधानमन्त्रीले स्मरण गरे । 

जनता र कार्यकर्ताले आफूहरुबीचको सहकार्य र एकतालाई अनुमोदन गरेको भए पनि हामी नेताहरुकै कारण जोगाउन नसकेको उनले बताए । 'हामी नेताहरुले नै जनता र कार्यकर्ताको भावनालाई सम्मान गर्न सकेनौँ । झन्डै दुई तिहाइ बराबरको जनमत टिकाउन सकेनौँ । यसको समीक्षा कसरी र कसले गर्ने हो ?', प्रधानमन्त्रीले भने, 'एकले अर्कोलाई दोषारोपण गरेर, तर्क कुतर्क गरेर सुख पाइँदैन । केन्द्र र प्रदेश सरकार किन गयो ? यसको समीक्षा गर्नुपर्छ कि पर्दैन ?'

रासस


Author

थप समाचार
x