संसद्

शून्य समयमा आर्थिक मन्दिदेखि जनगणनासम्मका मुद्दा

इकागज |
चैत १२, २०७९ आइतबार १६:५५ बजे

काठमाडौँ- प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी,  अव्यवस्थित बसोवास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । 

प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरूले  प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधानका लागि पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । एमालेकी विद्या भट्टराईले मुलुकमा  आर्थिक मन्दिका कारण नागरिकको दैनिक जीवन अत्यन्त सङ्कटमा परेको तथा प्रमुख सहरमासमेत आर्थिक कारोबार सुस्त रहेको बताइन् ।


उनले भने, 'ठूलो सङ्ख्यामा युवा रोजगारीका लागि विदेशिएका छन्, अध्ययन र भ्रमणका लागि विदेश  जानेको सङ्ख्याले वैदेशिक मुद्रा सञ्चितिमा असहजता उत्पन्न भएको छ, महँगी उच्च छ, आम नागरिकलाई उत्साह प्रदान गर्ने कार्य कहिले हुन्छ ?'

राष्ट्रिय प्रजातन्त्र पार्टीकी बीना लामाले मिटर ब्याजमै भए पनि ऋण लिएर उच्च शिक्षा र रोजगारीका कारण ठूलो सङ्ख्यामा युवायुवती  विदेश जान बाध्य भएकाले  स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकारको ध्यान जाओस भनिन् । 

जनमत पार्टीकी विनिताकुमारी सिंहले सिराहमा प्रसूति अस्पताल नभएकाले सुत्केरीले बाटोमै मृत्युवरण गर्नुपर्ने बाध्यता अन्त्यका लागि ध्यानाकर्षण गराइन् ।

नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले दशकौँदेखि झापाका विभिन्न स्थानमा बसोवास गरेका सुकुम्वासी समस्यामा परेकाले उनीहरूका लागि लक्षित गरी  नापी सुरु गर्न, चर्काे रूपमा रहेको कर घटाउन, लालपूर्जा वितरण गर्न तथा अव्यवस्थित बसोवास हटाउन मिति तोकेर काम गर्न सुझाव दिए ।

राप्रपाकी मीना जैसवालले  वीरगञ्जमा सरल र सहज रूपमा सार्वजनिक यातायातका साधनको व्यवस्था गर्न आवश्यक रहेको बताइन् । नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले  एसइई परीक्षा अर्काे विद्यालयमा गएर दिनुपर्ने बाध्यतालाई अन्त्य गरी होम सेन्टरमै परीक्षा दिने व्यवस्था मिलाउन सुझाव दिए । 

एमालेकी शान्ति श्रेष्ठले आफूलाई निर्वाचनमा विजयी गराउने मतदाताप्रति आभार व्यक्त गर्दै आफ्नो क्षेत्रमा रहेको अव्यवस्थित र कच्ची बाटोलाई स्तरोन्नति गरी कालोपत्र गर्न माग गरिन् ।

रास्वपाका शिव नेपालीले जनताले सुशासन र विकासको कहिले अनुभूति गर्न पाउलान् भनी प्रश्न गर्दै सांसदलाई केवल सरकार गठन र ढाल्न मात्र प्रयोग नगरियोस् भने । 

नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवरले अघिल्लो वर्ष भएको जनगणनामा कालापानी र  लिम्पियाधुराको जनगणना किन छुटाइयो भनी प्रश्न गरे । 

नेपाली कांग्रेसले सन्तोष चालिसले काठमाडौँ क्षेत्र नं ३ स्थित बागमती करिडोर बनाउने सिलसिलामा नेपाल ट्रष्टको जग्गा र वन क्षेत्र परेकाले त्यसलाई प्रयोग गर्न सक्ने व्यवस्थाका लागि पहल गर्न अनुरोध गरे । 

रास्वपाका सन्तोष परियारले देशमा आर्थिक सङ्कटका कारण समस्या परेकाले त्यसलाई कसरी सहज र सरल तुल्याउने भन्नेतर्फ सबैको पहल हुन आवश्यक रहेको बताए ।

 सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा ताला, नियुक्तिमा ढिलाइ, विश्वविद्यालयका कोर्स अघि बढ्न नसकेको अवस्थाले भर्ना र उत्तीर्ण दर कमजोर भएकाले सबैको त्यसतर्फ ध्यान जाओस् भनिन् । 

कांग्रेसका सुरेन्द्रराज आचार्यले सीमा क्षेत्रमा भारतले बाँधेको बाँधले  वर्खामा नेपालका कयौं बस्ती र खेतीयोग्य जग्गा डुबानमा पर्ने भएकाले समयमै त्यो समस्या समाधानका लागि अर्थपूर्ण पहलका लागि ध्यानाकर्षण गराए । 

एमालेकी सूर्यकुमारी श्रेष्ठले दैलेखमा अव्यवस्थित बसोवास समस्या अन्त्यका लागि सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न माग गरिन् । 

जनमत पार्टीकी सोनु मुर्मुले  कृषि प्रधान देश भए पनि किसानलाई मलखाद अभावले खेतिपाती गर्न नसक्ने परिस्थिति अन्त्यका लागि समयमै त्यसको सुनुवाइ गर्न  ध्यानाकर्षण गराइन् ।

रास्वपाकी सोविता  गौतमले काठमाडौँ क्षेत्र नं  ३ मा  जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी समस्या समाधान गर्न माग गरिन् । 

नेपाली कांग्रेसकी सङ्गीता मण्डल धानुकले तराई–मधेसमा  दाइजोलगायतका कुप्रथा अन्त्यका लागि चेतनामुलक कार्यक्रम र शिक्षामा जोड दिन आवश्यक रहेको बताइन् ।

नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले कम लागतमा धेरै सिँचाइ हुने राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई छिटो पूर्णता दिन आवश्यक बजेटको व्यवस्था होस भनी माग गरे । 

रास्वपाका हरि ढकालले शून्य समयमा उठाएका विषय शून्यतामै सीमित नगरियोस् भनी सदनको ध्यानाकर्षण गराउँदै सेयर कारोबार गर्नेले हालसम्म रु १४ खर्ब गुमाइसकेकाले उनीहरूलाई सान्त्वना दिने काम कहिले हुन्छ भनी प्रश्न गरे ।

नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डे पछिल्लो समय क्यासन्सरका कारण धेरै व्यक्ति आक्रान्त भएकाले त्रिभुवन विश्वविद्यालय महाराजगञ्जमा रहेको सुरेश वाग्ले अस्पताललाई विस्तार गरी उपचारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङले काठमाडौँ उपत्यकाभित्रका नदी किनार, उकास र बहाव क्षेत्रमा निर्माण गरेका संरचना सात दिनभित्र हटाइयोस् भनी सूचना प्रकाशित भएकामा सुकुम्वासी समस्यालाई हलुका तरिकाले नहेरियोस् भनी सदनको ध्यानाकर्षण गराए ।

राप्रपाका ज्ञानबहादुर शाहीले विश्वमा मुलुकलाई चिनाउने खेलकुद  क्षेत्रमा छुट्याएको बजेट र खेलाडीको तलब बढाउन माग गरे । 

माओवादी केन्द्रकी ज्ञानु बस्नेतले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशाला अधुरै रहेकाले त्यसलाई पूर्णता दिने काममा तदारुकता  देखाउन सरकारसँग माग गरिन् । 

नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले रामधुनी ऐतिहासिक महत्वअनुरूप संस्कृति र सभ्यताको प्रचारप्रसार आवश्यक रहेको बताए ।


Author

थप समाचार
x