संसद्

सांसद डाँगीकाे प्रश्न : प्रधानमन्त्री बसिरहेको कुर्सी कुन देशबाट आयात गरिएको हो ?

इकागज |
चैत १९, २०७९ आइतबार १४:३७ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसद्‍मा स्वदेशी वस्तुमात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेकी छन् ।​

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले शीतल निवास, सिंहदरबार, संसद् र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन सरकारसँग माग गरेकी हुन् । यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै स्वदेशी वस्तु हुनुपर्ने सांसद डाँगीको भनाइ थियो ।


उनले आफू बसिरहेको कुर्सी, प्रधानमन्त्री बसिरहेको कुर्सी कुन देशबाट आयात गरिएको हो भनि सरकारलाई प्रश्न समेत गरिन् ।

सांसद डाँगीले भनिन्, ‘आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ ? ती कुराहरू अंकमा देखिने गरी किन लागू भएनन् ? समीक्षा गरी आंगिक सुधार हुने गरी नीति ल्याउन छलफल चलाउन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । त्यस्तै म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? कि नेपालमा नै बनेको हो ? कुर्सीका लागि जुन झगडा हुने गरेको छ । प्रधानमन्त्री सभामुखको कुर्सी, त्यो कुन देशबाट आयात भएको हो ? सभामुख महोदय, सिंहदरबार, बालुवाटार, शीतल निवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौं । यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्नका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद डाँगीले आन्तरिक उत्पादन बढाउनका लागि छलफल चलाउन पनि सरकारलाई सचेत गराइन् ।


Author

थप समाचार
x