संसद्

प्रतिनिधि सभा बैठक : आकस्मिक समयमा सांसदहरूले के भने ?

इकागज |
चैत २३, २०७९ बिहीबार १४:१६ बजे

काठमाडौँ- प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताएका हुन् । उनले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको उल्लेख गरे ।


गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै यो सबैको कारण बेथिति भएको उनकाे भनाइ छ । 

प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्नुपर्ने माग राखे । त्यस्तै उनले भरतपुरको बिपी कोइराला क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक मेसिन खरिदका लागि छुट्याइएको रकमबाट कर्मचारीलाई तलब खुवाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गरे ।

प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गरे । उनले संघीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको टिप्पणी गरे । कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उनकाे दाबी छ । 

प्रतिनिधि सभा सदस्य शाहीले विदेशबाट ऋण ल्याएको ल्याएकै गरे पनि हरेक दिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ हालसम्मका प्रधानमन्त्रीहरूले दिनुपर्ने बताए । 


Author

थप समाचार
x