बच्चाको जन्मदर्तामा मावलीको थर राख्ने परिपत्र फिर्ता गर्न सांसद भट्टराईकाे माग
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुन विपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छिन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्वीकार गर्ने गरी सबै वडाहरूमा सरकारले गरेको सो परिपत्र फिर्ता लिई संविधान सम्मत ढंगले अर्को परिपत्र गर्न पनि सरकारलाई सचेत गराइन् । उनले संविधान र कानुनको ख्याल गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद भट्टराईले भनिन्, ‘नेपाल सरकारले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा सबै वडाहरूमा परिपत्र गरेको छ । संवैधानिक र कानुन व्यवस्थाको ख्याल नगरी जारी गरिएको सो परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ । परिपत्रले संविधान र कानुनले सावित गरेको आमाका पहिचान र अस्तित्वलाई अस्वीकार गरेको छ । संविधान र देवानी संहिता अनुसार पुन: परिपत्र गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद भट्टराईले संविधानले पितृत्वको ठेगान नभएका बच्चाहरूको जन्मदर्ता उनीहरूको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसै अनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने पनि बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया