संसद्

विषयगत समितिका लागि भोलि साँझसम्म सदस्यको नाम पठाउने सहमति

इकागज |
चैत २७, २०७९ सोमबार १३:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समितिलाई चाँडै टुंगो लगाउने निर्णय गरेको छ । सोमबार संसद्‌‌ भवनमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसहितको बैठकले अबको एक/दुई दिनभित्र नै विषयगत समितिहरूको टुंगो लगाउने सहमति भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्य व्यवस्था परामर्श समितिको आजको बैठकले प्रतिनिधि सभाको बैठकको कार्यसूचिको विषयमा छलफल गरेको बताए ।


उनले नयाँ संसद्‌पछि हालसम्म २० वटा बैठक बसिसके पनि विषयगत समिति बन्न नसकेकाले विषयगत समिति बनाउने विषयमा छलफल केन्द्रित भएको बताए । उनले सबै दलहरूलाई मंगलवार बेलुकासम्म विषयगत समितिका लागि सदस्यको नाम पठाउने विषयमा सहमति जुटेको पनि बताए । उनले नेकपा एमालेले पनि मंगलवार बेलुकासम्म समितिका लागि सदस्यहरूको नाम पठाउने स्पष्ट पार्नुभयो । उहाँले संयुक्त संसदीय समितिका लागि पनि छलफल भएको बताए । 

‘कार्य व्यवस्था परामर्श समितिको बैठक सम्पन्न गरेका छौँ । बैठकमा आजको कार्यसूचिको विषयमा छलफल भयो । विषयगत समितिहरू आजको बैठकसम्म २१ वटा संसद्‌को बैठक बसेको छ । तर पनि हामीले ९१ दिनभित्र विषयगत समितिजस्तो महत्वपूर्ण समिति आजसम्म निर्माण गर्न सकेका छैनौँ, हामीले गम्भीरतापूर्वक लिएका छौँ' उनले भने 'भोलि बेलुकासम्म १० वटा विषयगत समितिहरूमा सबै दलहरूले आफ्नो आफ्नो आफ्नो दलबाट ती विषयगत समितिमा प्राप्त गर्ने, संख्याका आधारमा सहभागिता गराउने गरी संसद्‌ सचिवालयलाई नाम उपलब्ध गराउनेकुरा भएको छ । त्यो सहमति भएको छ । भोलि बेलुकासम्म हामी हाम्रो दलको तर्फबाट नाम पठाउनेछौँ । अबको एक दुई दिनभित्र विषयगत समिति बनाउने कुरा करिव टुंगो लागेको छ ।

'संयुक्त सदनको नियमावलीको विषय पनि छ । त्यसलाई संशोधन गर्नुपर्ने विषय छ । त्यसको आधारमा संसदीय सुनुवाई समिति बनाउनुपर्नेछ । समिति बनाउन संयुक्त नियमावलीलाई संशोधन गर्ने र त्यो प्रक्रियालाई तत्काल आरम्भ गर्ने, हामीले यही संसद्‌मा संशोधन गरी समिति बनाएर अर्को संसद्‌मा पठाउने र त्यहाँबाट पनि पास भएपछि प्रक्रिया अघि बढाएर संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त सम्बन्धीको समिति रहेको छ' उनले भने 'संसदीय सुनुवाई समिति नहुँदा विभिन्न संवैधानिक परिषद्सम्बन्धी विभिन्न निकाय प्रधनन्यायधीशकै  नियुक्तिको प्रक्रियालाई पनि असहज बनेको छ, यो प्रक्रिया अविलम्व बढाउनुपर्ने भनेका छौँ ।’

सचेतक बर्तौलाले संसदीय सुनुवाई समिति नहुँदा विभिन्न संवैधानिक परिषद्सम्बन्धीका विषय र प्रधानन्यायाधीश नियुक्ति टुंगो लाग्न नसकेको बताए । 
 


Author

थप समाचार
x