संसद्

सेती नदीको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउनुपर्छ : सांसद भट्टराई

इकागज |
बैशाख ३, २०८० आइतबार १४:३५ बजे

काठमाडौँ- नेकपा एमालेकी सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग ग​रेकी छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले हिजो (शनिबार) पनि सेती नदीको खोचमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको दु:खद घटनाबारे संसद्‍मा जानकारी गराउँदै त्यहाँको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन् । त्यसका लागि सरकारले विज्ञहरूले दिएको सुझाव अनुसार त्यहाँको सुख्खा पहिरो नियन्त्रणका लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने उनको भनाइ थियो ।


सांसद भट्टराईले भूगर्भविद्हरूले सेती नदीको कारण ठूलै क्षति हुन सक्ने औंल्याएको उल्लेख गर्दै सरकारले उनीहरूले दिएको सुझाव अनुसार त्यसको संरक्षणमा लाग्नुपर्ने पनि बताइन् ।

सांसद भट्टराईले सरकारले विगतमा पनि आफूहरूले सो नदीको संरक्षणका लागि आवश्यक व्यवस्था मिलाउन गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।


Author

थप समाचार
x