संसद्

राष्ट्रिय सभा बैठक

राष्ट्रिय गौरवका आयोजनाका काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न माग

इकागज |
बैशाख ४, २०८० सोमबार १४:३५ बजे

काठमाडौँ- राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा भाग लिँदै राष्ट्रिय सभाका सांसदहरू अनिता देवकोटा, रामचन्द्र राई, सोनाम ग्याल्जेन शर्पालगायतले राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय लिन सरकारलाई दबाब दिएका हुन् ।


बैठकमा बोल्दै सांसद देवकोटाले राष्ट्रिय गौरवका आयोजनाहरूलाई छिटो सम्पन्न हुने गरी अघि बढाउनका लागि कुनै पनि समस्या नआउने गरी आवश्यक निर्णय लिन सरकारले ढिलाई गर्न नहुने बताइन् । उनले सो आयोजनाको कामलाई अघि बढाउनका लागि अन्तर मन्त्रालयबीचको समन्वयमा पनि जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

अर्का सांसद रामचन्द्र राईले काठमाडौँ–तराई द्रुतमार्ग अन्तरगतको खोकना र बुङमतीको जग्गा अधिग्रहणको विवाद अझैसम्म टुंग्याउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । त्यसैगरी उनले बुढीगण्डकी जलविद्युत आयोजनाको मोडालिटी तय गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।

सरकार, संसद् र संसदीय समितिप्रति जवाफदेही नभएको गुनासो सांसद सोनाम ग्याल्जेन शेर्पाले गरे । उनले समितिहरूले दिएको निर्देशन कार्यान्वयन गर्नभन्दा पनि सरकार र सरकारका मन्त्रीहरू झारो टार्ने खालको काममा मात्रै लाग्ने गरेको भन्दै आपत्ति समेत जनाए ।

सांसद शेर्पाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अघि बढाउने विषयमा तत्काल आफ्नो धारणा सार्वजनिक गर्न पनि सरकारलाई दबाब दिए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको दिगोपनाबारे आवश्यक योजना तत्काल सार्वजनिक गर्न पनि सरकारलाई सुझाव दिए ।

 


Author

थप समाचार
x