संसद्

भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सरकार दृढ छ : मन्त्री शर्मा

विधेयक स्वीकृत

इकागज |
बैशाख १२, २०८० मंगलबार १९:१३ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐनलाई बलियो बनाएर भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सरकार दृढ रहेको बताएकी छिन् । 

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि सांसदले राखेको जिज्ञासामा उनले देशले गरेको प्रतिबद्धता र नयाँ शासकीय स्वरूपलाई दृष्टिगत त्यसलाई सम्बोधन गर्न नयाँ विधेयक ल्याइएको स्पष्ट गरिन्।
 
मन्त्री शर्माले भनिन्, 'भ्रष्टाचार रोक्न कानुन मात्रै होइन, समाजका सबै अवयव सक्रिय हुनुपर्छ । कानुनका छिद्रलाई देखाएर भ्रष्टाचार गर्ने ठाउँ दिनुहुन्न । भ्रष्टाचार रोग भएकाले अन्त्य गर्न सबैले साझा प्रयास र सङ्कल्प गर्नुपर्छ ।'
 
नीतिगत भ्रष्टाचार रोक्न कानुन बनाउँदै विशेष ध्यान पुर्‍याउन आवश्यक रहेको बताउँदै उनले भ्रष्टाचार मानसिक रोग भएकाले निवारणका लागि सबैको सामूहिक प्रयत्न हुनुपर्छ भनिन् । सदाचारीलाई समाजमा स्थापित गर्ने र भ्रष्टाचारीमाथि प्रश्न उठाउने वातावरण हुनुपर्छ भन्दै मन्त्री शर्माले पैसा कमाउनेलाई प्रतिष्ठित मान्ने र निष्ठाको राजनीति गर्नेलाई कमजोर ठान्ने प्रवृत्तिमा सुधार गर्न सके भ्रष्टाचार अन्य गर्न सकिने बताइन् ।
 
भ्रष्टाचार नियन्त्रण गर्न प्रतिबद्धता र सामूहिक अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । विसं २०७६ मा अघि बढेको सो विधेयक लामो समयपछि प्रतिनिधिसभामा आइपुगेको हो । जवाफका क्रममा उनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा महत्वपूर्ण कुरा उठेको भए पनि दफावार छलफलमा त्यसलाई पूर्णता दिइने विश्वास दिलाइन् ।


बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ लाई बहुमतले स्वीकृत गरेको छ ।
 
यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट मन्त्री  शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
 
बैठकमा सभामुख देवराज घिमिरेले सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदले ७२ घन्टाभित्र विधेयक शाखामा गएर संशोधन प्रस्तुत गर्नसक्ने बताए । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १३ गते अपराह्न ३ बजे बस्नेछ ।


Author

थप समाचार
x