संसद्

एमाले सांसद लक्ष्मी महतो कोइरीको विषय लिएर संसद्‍मा चर्काचर्की

इकागज |
बैशाख १५, २०८० शुक्रबार १७:४९ बजे

काठमाडौँ- प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ । बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण संसद् बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरूले आपत्ति जनाएका हुन् ।

सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ गतेसम्मका २१ वटा बैठकमा स्वास्थ्योपचारमा रहेका कारण अनुपस्थित रहेकाे सूचना जानकारी गराएका थिए । सभामुखको कुरालाई विरोध जनाउँदै सांसदहरूले संसद् अवरोध गरेका थिए भने बैठक ३० मिनेटका लागि स्थगन समेत भएको थियो ।


विरोध जनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हसाइको विषय भएको बताए । उनले कोइरी बिरामी भएर अनुपस्थित भएको भन्ने शब्द नै संसद्को रेकर्डबाट हटाउन माग गरे । संसद्ले झुटो कुरा गर्नु नहुने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले कोइरी बिरामी नभइ फरार अभियुक्त भएको बताए । भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उनले बिरामी भन्न नहुने बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरार अभियुक्तलाई अभियुक्त भनेर सभामुखलाई जानकारी गराउन नसक्नु प्रधानमन्त्री, गृहमन्त्री र कार्यव्यवस्था परामर्श समितिको दोष भएको बताए ।

त्यस्तै एमाले सांसद रघुजी पन्तले एमाले सांसद कोइरीलाई लुकाउने पक्षमा नरहेको उल्लेख गरे । उनले सरकारले पक्राउ गर्न नसकेको तर संसद्‍मा तमासा देखाइएको बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले कोइरीलाई बिरामी भन्नु लज्जास्पद कुरा भएको जिकिर गरे । उनले ज्यानमारालाई चोख्याउन नमिल्ने भन्दै उनीमाथि कारबाही हुनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हीतराज पाण्डेले सांसद कोइरीलाई बिरामी भन्नु नहुने र फरार अभियुक्तकै रूपमा लिनुपर्ने बताए ।

सभामुख देवराज घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार आफूकहाँ नआएको बताए । आफूले प्राप्त गरेको पत्र अनुसार बिरामी भएको सूचना सुनाइएको उनको भनाइ छ ।

सभामुखले आगामी दिनमा सांसद कोइरीको विषयमा नेपालको संविधान र कानुन बमोजिम कारबाही भएर जाने भएकाले सांसदहरूलाई पटक–पटक संसद्को अवरोध खोल्न आग्रह गरेका थिए । सांसदहरू सभामुखको कुरा मान्न तयार नभएपछि संसद् बैठक ३० मिनेटको लागि स्थगन भएको छ ।


Author

थप समाचार
x