आगामी बजेटमा कृषि क्षेत्रमा लगानी बढाउन सांसदको माग
काठमाडौँ- दिगो विकास तथा सुशासन समितिमा समिति सदस्यहरूले कृषि क्षेत्रमा लगानी विस्तार गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा अधिकांश सदस्यहरूले कृषि क्षेत्रमा लगानी विस्तार गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले पुराना बिउ बिजनको प्रोत्साहन गर्दै कृषि उद्योगको स्थापना गर्न आवश्यक रहेको बताए ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य नन्दा चपाईंले आगामी वर्षको बजेटमा सरकारले कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गर्न आवश्यक रहेको बताइन् । उनले कृषि अनुदानलाई प्रभावकारी बनाउनु पर्ने, कृषकका उत्पादनहरूलाई बजारीकरण गर्ने र उत्पादन राख्ने चिस्यान केन्द्रहरू स्थापना गर्नुपर्नेमा जोड दिइन् ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य सिंगबहादुर विश्वकर्माले मलखाद भारतबाट मात्रै नभइ चीन सरकारबाट पनि ल्याउनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले चीनबाट ल्याउँदा छिटो र सहजै आउने भएकाले मलखादका लागि चीन सरकारसँग सम्झौता अघि बढाउन सुझाव दिए ।
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य मृगेन्दकुमार सिंह यादवले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गर्दा उत्पादनमा कमी भइरहेको बताए । उनले सरकारले हालसम्म बजेटको २ प्रतिशत भन्दा बढी कृषिमा लगानी नगरेको प्रति असन्तुष्टि जनाए ।
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले सबै कुरा आउने गरे पनि मन्त्रालयका मन्त्री र कर्मचारीहरूको इमान्दारिता नहुँदा कृषि क्षेत्रले समस्या व्यहोर्नु परेको बताए । उनले सिँचाइको अवस्था अहिले पनि दयनीय रहेको भन्दै सरकारले कृषिको उत्पादन बढाउन सिँचाइको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
सदस्य दाहालले खरिद ऐनको बारेमा विस्तृत छलफल र बहस हुन आवश्यक रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया