संसद्

भ्रष्टाचारविरोधी आन्दोलनमा भ्रष्टाचार आरोपित नै संलग्न छन् : ज्ञानेन्द्र शाही

इकागज |
जेठ १, २०८० सोमबार १६:१२ बजे

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरोधी आन्दोलनमा भ्रष्टाचार आरोपित नै सहभागी भएको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले यस्ताे परिपाटी  ३४ वर्षदेखि चलिरहेकाे आराेप लगाए ।

‘अहिले भ्रष्टाचारको आन्दोलनमा स्वयं भ्रष्टाचारका आरोपित नै संलग्न छन् । यो अहिले मात्रै होइन, ३४ वर्षदेखि चलिरहेको अभ्यास हो,’ शाहीले भने, ‘यस्तो आन्दोलनले भ्रष्टाचार न्यूनीकरण हुँदैन ।’


उनले भ्रष्टाचारीविरुद्ध कानुनमा पाँच वर्षको हदबन्दी राख्न लागिएकोमा पनि आपत्ति जनाए । 

‘सडकमा होइन, सदनबाट मुलुकका ठूल्ठूला भ्रष्टाचारका काण्ड सुन काण्ड, महराको टेप काण्ड, चमेलिया, लाउडा, चेज एयर, ओम्नी, यती, लडाकूका नाममा भएको भ्रष्टाचार, नेपाल ट्रष्टलगायतका काण्डमा पार्टी र सिद्धान्तभन्दा माथि उठेर कानुन बनाउन तयार हो ?’, उनले प्रश्न गरे । 

‘हुनुहुन्छ भने हेर्न चाहान्छु ल आज हात खडा गर्नुस्, हुनुहुन्छ कोही ?,’ ठूला दललाई चुनौती दिँदै शाहीले भने, ‘त्यही भएर अहिले म भन्न चाहन्छु । यसो नगरौं, तिमी हेरेजस्तो गर्नु म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई न्यूनीकरण गर्दैन ।’ 

उनले भ्रष्टाचारीलाई आजीवन काराबास र तीनपुस्ते सम्पत्ति जफत गर्ने गरी कानुन बनाएर अघि बढ्नुपर्ने समेत बताए ।


Author

थप समाचार
x