बहसमा ‘संसद् ड्रेस कोड’ : कति ठीक कति बेठीक ?
काठमाडौं– गत आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरूको पोशाक तय गर्याे । सभामुख देवराज घिमिरेले संसद् बैठकमा सहभागी हुँदा सांसदहरूलाई मर्यादित भेषभूषा वा पोशाक लगाउन निर्देशन दिए । घिमिरेले टिसर्ट र जिन्सलाई प्रतिबन्ध गरे ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४२ मा पोशाक र प्रतीक चिह्नसम्बन्धी व्यवस्था छ । ‘पोशाक तोक्दा औपचारिक, मौलिक, संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाकसमेतमा ध्यान दिनुपर्नेछ’ नियमावलीमा उल्लेख छ ।
घिमिरेले सांसदहरूको ‘ड्रेस कोड’ तोकेपछि यो विषय बहसको सतहमा आयो । सामाजिक सञ्जालदेखि संसद्सम्मै यसको पक्ष–विपक्षमा आवाज उठ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुखको निर्णयको घोर विरोध मात्र गरिनन्, यसलाई नयाँ पुस्तामाथिको रणनीतिक हमलाको संज्ञा दिइन् ।
उनी संसद् बैठकमा जिन र टिसर्ट लगाएर जाने गरेकी छिन्। उनले लगाएको पोशाकलाई लिएर सामाजिक सञ्जालमा आलोचना हुँदै आएको छ ।
बैठकमा श्रेष्ठले भ्रष्टाचार र मानव बेचबिखनजस्ता जघन्य अपराधबाट विषयान्तर गर्न सरकारले यस्तो नियम ल्याएको आरोप लगाइन् । उनले यसलाई कुनै पनि हालतमा सफल हुन नदिने जिकिर गरिन् ।
‘भ्रष्टाचार र मानव बेचबिखनजस्ता जघन्य अपराधबाट विषयान्तर गर्ने यो प्रयासलाई हामी सफल हुन दिने छैनौँ,’ संसद्मा उनले भनिन्, ‘यहाँहरूको प्राथमिकता के हो ? नैतिक प्रहरी बन्ने कि संसदीय समितिहरूको बैठक तय गर्ने ?’
सरकार महत्वपूर्ण विषयहरू छाडेर जिन्स र सर्टमा अड्किएको बताउँदै उनले भनिन्, ‘टिसर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएको छ । सबै हाम्रा परिवर्तनका वाहकहरूलाई आवश्वास दिन चाहन्छु– हामी सही बाटोमा छौँ ।’
श्रेष्ठले संसद्मा ड्रेस कोडको विरोध जनाएपछि यसमाथिको चर्चा तीव्र भएको छ ।
राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटा संसद्मा पोशाक हुन आवश्यक रहेको बताउँछन् । डा. देवकोटाको विचारमा संसद् नियम, विधि र पद्धतिमा चल्ने भएकाले जुनसुकै कपडा लगाउन पाइँदैन । ‘युनिभर्सिटीदेखि अदालत सबै ठाउँमा कोड हुन्छ,’ उनले भने, ‘सभामुखले ल्याएको नियम ठीक छ । नियम र विधि नमानेर अराजक हुनु ठीक होइन ।’
जिन्स र टिसर्ट लगाउनुभन्दा आफ्नै देशका कारखानामा बन्ने कपडा लाउँदा अर्थतन्त्रलाई फाइदा पुग्ने उनको भनाइ छ । चाहेको खण्डमा यसको अगुवाइ नयाँ शक्तिहरूले गर्न सक्ने उनी बताउँछन् । ‘चालू आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीका लागि आवश्यक पर्ने पोशाक हेटौंडा कारखानाबाट उत्पादन गर्ने कुरा छ । नयाँ दलहरूको ध्यान हेटौंडा जस्ता स्वदेशी कारकारको अधिकतम् प्रयोग गर्ने प्रस्ताव ल्याउनतर्फ हुनुपर्छ,’ उनले भने ।
लेखक तथा राजनीतिक विश्लेषक युग पाठक पोशाकको विषयमा धेरै छलफल गरिरहन आवश्यक नरहेको बताउँछन् । प्रतिनिधिसभा सदस्यका लागि जस्तो पोशाक तोकिएको छ, त्यही लगाउनुुपर्ने पाठकको भनाइ छ । ‘टिसर्ट र जिन्स लाउँदा कोही क्रान्तिक्रारी भइहाल्ने र ड्रेस कोड लाउँदा कोही क्रान्तिक्रारी नभइहाल्ने भन्ने हुँदैन,’ उनले भने ।
एउटा सांसदको परिपक्कता र दक्षता कपडाले नभएर उसले बोकेको विचार र दर्शनले निर्धारण गर्ने पाठक बताउँछन् । ‘नियमावलीअनुसार लुगा लगाउ भन्दा त्यसलाई आक्रमणका रूपमा लिनु हुँदैन । यो वाहियात कुरा हो,’ उनले भने ।
पाठकको कुरामा सहमत छन् संविधानविद् भीमार्जुन आचार्य । आचार्य पनि ड्रेस कोड अनिवार्य कुरा भएकाले यसमा बहस गर्न आवश्यक नरहेको बताउँछन् । सांसदहरूका लागि ड्रेस कोड हरेक देशमा रहेको उनको भनाइ छ । ‘यो अनिवार्य कुरा हो । कोडको आफ्नो अर्थ र मर्यादा हुन्छ । यसले सबैलाई समान बनाउँछ,’ उनले भने, ‘अदालत, संसद्जस्ता मर्यादित ठाउँमा सर्ट लाएर जानु हुँदैन ।’
सामाजिक अभियन्ता तथा लेखक डा. अर्चना थापा भने नियमको विपक्षमा धारणा राख्छिन् । सरकारले भ्रष्टाचार, बलात्कारजस्ता जघन्य अपराधलाई विषयान्तर गर्न पोशाकको बखेडा खडा गरेको उनी बताउँछिन् । उनको विचारमा सरकार यस्ता स–साना कुरामा नअल्झिएर भ्रष्टाचारजस्ता गम्भीर अपराधविरुद्ध कानुन बनाउनतर्फ लाग्नुपर्छ । ‘संसद्मा सधैँ मर्यादा र विवेकको कुरा उठ्छ । तर, फेरि त्यहीँ संसद्बाट भ्रष्टाचारको पक्षमा कानुन बन्छ । त्यसैले यो मर्यादा र विवेकको कुरा बेकार हो,’ डा. थापा भन्छिन्, ‘अहिले हाम्रो राष्ट्रियमात्र होइन, अन्तराष्ट्रिय रूपमै बेइज्जत भएको छ । सरकार त्यता नलागेर लुगाको पछाडि लागिरहेको छ ।’
पोशाकको नियमले महिलाको छनौटको अधिकारमाथि हनन् गरेको उनको ठहर छ । उक्त नियम पितृसत्तात्मक सोचको उपज भएको उनी बताउँछिन् । कोडले महिलामाथि अन्याय गरेकाले यसको चौतर्फी विरोध हुने उनको भनाइ छ । ‘सुमनाजीले लगाएको सर्ट र कोर्टमा कहाँ मर्यादा पुगेन ?,’ उनको प्रश्न छ, ‘सुमनाजीले यसको जोडदार रूपमा जवाफ दिनुभयो । म भएको भए पनि त्यही गर्थेँ ।’
उनले अगाडि भनिन्, ‘साडी लाउँदा मर्यादित हुने, तर जिन लगाउँदा अमर्यादित हुने ? यो मर्यादित पोशाक हो, त्यो होइन भनेर निर्धारण गर्ने अधिकार पुरुषलाई कसले दियो ? जिन, प्यान्ट र टिसर्ट अर्मादित हुँदैन । यो हाँस्यास्पद हो ।’
कसैलाई होच्याउने, समाजमा घृणा फैल्याउने, कसैको मानहानी गर्नेलगायत आपत्तिजनक लोगो नभएका सबै लुगा मर्यादित हुने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया