संसद्

अब राष्ट्रिय सभामा खिमलाल कि रामबहादुर ?

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १६:१४ बजे

काठमाडौँ :  बैशाख २४ मा राष्ट्रिय सभा सदस्यको दाबेदारी गर्दैगर्दा डा.खिमलाल देवकोटाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असंवैधानिक बताउँदै थिए। उनले संविधान र व्यवस्थालाई नै सरकारले कमजोर पारेको आरोपसमेत लगाए । मनोनयन दर्ता गराएसँगै डा.देवकोटाले भनेका थिए,‘यो व्यवस्था ६२/६३ जनआन्दोलन, माओवादी आन्दोलन, जनजाती आन्दोलन लगायत विभिन्‍न आन्दोलहरूबाट प्राप्त भएको हो, प्रधानमन्त्रीबाटै संविधानको हत्या गर्ने काम भयो ।’

डा.देवकोटालाई एमालेको माधवकुमार नेपाल समूहले अगाडि बढाएको थियो । उनलाई माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीकोसमेत समर्थन देखिन्थ्यो। तर, अर्कोतर्फ प्रधानमन्त्री ओली समूहका उम्मेदवार रामबहादुर थापा थिए। गृहमन्त्रीसमेत रहेका थापाको विपक्षमा नेपाल समूहको कदम अगाडि बढ्दा तीन ठूला दलले डा.देवकोटालाई समर्थन गरेको थिए । 


तर, उम्मेदवारी दर्ता गराएको एक साता नबित्दै मुलुकको राजनीतिक समीकरण नै परिवर्तन भयो । थापाविरुद्ध उम्मेदवारी दर्ता गराएको नेपाल समूह र प्रधानमन्त्री ओलीसमूहबीच बिहीबार सहमति भयो । यसरी सत्तारुढ एमालेको दुई खेमाबीच एकाएक सहमति भएपछि एउटै पार्टी, एउटै खेमाका दुई  उम्मेदवार भएका छन् ।

डा.देवकोटाले उम्मेदवारी दिँदा स्वतन्त्र रुपमा दर्ता गराएका थिए भने गृहमन्त्री थापाले एमालेबाट उम्मेदवारी दर्ता गराएका थिए। राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्यको पद रिक्त रहेका कारण यो निर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मतदान जेठ ६ गते हेटौंडास्थित भुटनदेवी माविमा हुने भएको छ ।

एमालेभित्रको आफ्नो प्रतिद्वन्दीको समूह र आफ्नो समूहबीच सहमति भएपनि आफू पछि नहट्ने डा.देवकोटा बताउँछन् । उम्मेदवारी दिँदै गर्दा उनले प्रधानमन्त्री ओली र सरकारको चर्को आलोचना गरिरहेका थिए। तर, दुबै समूहबीच सहमति भएपछि उनी त्यही सहमतिको पक्षमा उभिएका छन् । 

‘मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी लगायत अन्य दलहरूको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुर्नविचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो’, देवकोटाले फेसबुकमा लेखेका छन्,‘निष्ठा र ईमान्दारिताको राजनीतिप्रति मेरो गहिरो लगाब छ, राजनीतिक दलहरुले मप्रति गर्नुभएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’ 

डा.देवकोटा एमालेमा लामो पृष्ठभूमि बोकेका राजनीतिक नेता हुन् । त्यस्तै गृहमन्त्री थापा भने स्वार्थपूर्तिका लागि केही समयअघि मात्र एमाले प्रवेश गरेका थिए । आफ्नो मन्त्री पद टिकाइराख्‍नको लागि थापा एमाले प्रवेश गरेका थिए। जतिबेला प्रधानमन्त्री ओलीलाई पार्टीभित्रबाटै सहयोग थिएन ।

त्यतिबेला थापासहितका माओवादी केन्द्रका नेताहरूले ओलीलाई सहयोग गरेका थिए। यही कारण प्रधानमन्त्री ओलीले थापालाई एमालेबाट राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेदवार बनाए । अब एमालेको ओली इतर समूह र ओली समूह एकजुट भइसकेको छ। यो अवस्थामा एमालेले वृत्तले कसलाई सहयोग गर्ला भन्‍ने प्रश्‍न प्रष्ट भइसकेको छैन । तर, उपनिर्वाचनमा एमालेसँग एमालेकै भिडन्त हुने निश्चित भएको छ। यदि माओवादी केन्द्र, कांग्रेस र जसपाको गठबन्धनले निर्णयले दिएन भने ।  


Author

थप समाचार
x