संसद्

हिउँदे अधिवेशनको तयारीमा जुट्यो स‌ंसद सचिवालय

इकागज |
मंसिर ४, २०७७ बिहीबार १५:५४ बजे

काठमाडौं : संघीय संसद् सचिवालयले संसद्को हिउँदे अधिवेशनको तयारी सुरु गरेको छ । कोभिड–१९– संक्रमण बढिरहेकै बेला संवैधानिक वाध्यताका कारण सचिवालयले अधिवेशनको तयारी थालेको हो ।

एक अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थानुसार आगामी पुस १७ भित्रै अधिवेशन सुरु गर्ने तयारीमा आफूहरु जुटेको महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।


संघीय संसद्को वर्षे अर्थात् बजेट अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो । उनले भने,‘संवैधानिक समयसीमाको हेक्का गरी आन्तरिक तयारीमा जुटेका छौँ, यस पटक कोभिड–१९ को जोखिमका बीच हामीलाई अधिवेशन गर्नुपर्ने बाध्यता आइपरेको छ ।’

राष्ट्रिय महत्वको नागरिकता तथा सङ्घीय निजामतीलगायत स्थानीय तह र प्रदेशको कामकारवाहीसँग प्रत्यक्ष सरोकार राख्ने विधेयक बनाउनुपर्ने  यो अधिवेशनको मुख्य जिम्मेवारी छ । ती कानून समयमा बनाउन  नसक्दा संघीयता कार्यान्वयन गर्नसमेत समस्या पैदा  भएको  गुनासो रहिआएको छ ।

संघीय विधेयकले स्थानीय र प्रदेशलाई दिशानिर्देश गर्नुपर्ने भएकाले पनि ‘विधेयक अधिवेशन’को महत्व अझै बढेको छ । ‘अहिले कोरोनाको चुनौती बढेको छ, सिटको व्यवस्थापन, बैठक कक्षको निसंक्रमण र प्रवेशद्वारमै सेन्सरबाट ज्वरो नाप्ने उपकरण जडान गर्ने सोच अघि बढाएका छौँ’, संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले भने । 

दुई अधिवेशनबीचको समयसीमा छ महिना ननघाउने भन्ने संवैधानिक व्यवस्था भएकाले कोरोनालाई आधार बनाएर ढिलाइ गर्न नमिल्ने हुँदा अबको डेढ महिनाभित्र बैठक बस्ने छ । सरकारको  सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान हुने व्यवस्था छ ।

नियमित बैठक बस्नुपर्ने र अधिवेशन लामो समयसम्म चल्ने भएकाले कोरोना नफैलियोस् भनी स्वास्थ्य सुरक्षाका  विभिन्न सावधानका विकल्पसहितको मापदण्ड बनाएर अधिवेशन सञ्चालन गरिने डा.पाण्डे बताए । 

अघिल्लो अधिवेशन पनि कोभिड–१९ को जोखिम र बन्दाबन्दीबीच सफलताका साथ सम्पन्न भएको थियो । यस पटक भने स्वास्थ्य सम्बन्धी प्रभावकारी मापदण्ड बनाएर चुनौती कसरी कम गर्न सकिन्छ भन्ने सचिवालयलाई चासो छ । रासस


Author

थप समाचार
x