बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नताबारे संसदीय समिति बनाएर छानबिन गर्न एमालेको माग
काठमाडौँ– नेकपा एमालेले सरकारले ल्याएको बजेटमा करको दर हेरफेरमा विचौलियाको प्रभाव परेको आशंका भएको भन्दै संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग राखेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो माग राखेका हुन् ।
‘अर्थमन्त्रीले रोष्ट्रममा आएर चित्तबुझ्दो गरी जवाफ दिनुपर्यो होइन भने संसदीय छानबिन समिति बनाएर यसलाई छानबिन गरेर अगाडि बढ्नुपर्छ,’ सांसद गिरीले भने ।
बजेट बनाउने ठाउँमा निश्चित मान्छेहरू त्यहाँ बस्ने प्रावधान गरिएको भएता पनि मन्त्रीका स्वकीय सचिवदेखि अन्य अनधिकृत व्यक्तिहरूले प्रवेश पाएको भन्दै गुनासोसमेत गरे ।
‘बजेट भाषण हुँदै थियो । त्यसको अघिल्लो दिन मध्य रातमा त्यहाँ विचौलियाहरू लाने काम भएको छ र ती विचौलियाहरूलाई राखेर करको दर तलमाथि पार्ने काम भएको छ भन्ने हामीले सुनिरहेका छौँ,’ उनले भने, ‘जब बजेट बन्दै गर्छ, त्यो बजेट बनाउने ठाउँमा निश्चित मान्छेहरू त्यहाँ बस्ने प्रावधान गरिएको हुन्छ । तर, त्यहाँ मन्त्रीका स्वकीय सचिवदेखि अन्य अनधिकृत सबै खालका मान्छेहरू भित्र बाहिर गरिरहेका हुन्छन् ।’
त्यहाँ कुनै गोपनीयता कायम गरिएको हुँदैन भन्दै आक्रोश पोखे । महँगा गाडीमा अन्तःशुल्क, भन्सार शुल्क नबढाइने र मध्यम वर्गले चढ्ने गाडीमा भने बढाएको भन्दै उनले प्रश्न गरे । ‘जहाँ भन्सार शुल्क बढाइएको छ,’ उनले भने, ‘ती गाडीहरू ११ सय गाडीहरू बजेटको केही दिन अगाडि बढाइन्छ । भन्सार शुल्क कम बढाइएको गाडीहरू ल्याइएको हुँदैन । यसले धेरै ठूलो आशंका गर्ने ठाउँ देखिन्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया